Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालपर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट

पर्वतीय उडानमा एयरलाइन्सको आकर्षक छुट


काठमाडौँ ।
बन्दाबन्दीको आठ महिनापछि सुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट)मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ । निजी क्षेत्रका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले पर्वतीय उडानमा विशेष छुट र अफरसहितका योजना बनाएका छन् । दुवै एयरलाइन्सले एक टिकट खरिदमा अर्को टिकट निःशुल्क उपलब्ध गराउने घोषणा गरेका छन् ।

कोभिड–१९ महामारीका कारण अझै पनि विदेशी पर्यटकको चहलपहल बढ्न नसकेका बेला एयरलाइन्सले आन्तरिक पर्यटकलाई लक्षित गर्दै आफ्ना छुट प्याकेज घोषणा गरेका हुन् । दुवै एयरलाइन्सले आगामी डिसेम्बर ५ तारिखदेखि औपचारिकरूपमा पर्वतीय उडान सञ्चालन गर्ने ती कम्पनीले आज छुट्टाछुट्टै विज्ञप्तिमार्फत जनाएका छन् । हरेक शनिबार पर्वतीय उडान हुनेछ ।

बुद्ध एयरले कात्तिक १३ गते शनिबारबाटै पर्वतीय उडान सुरु गरिसकेको छ । सो उडानमा १८ यात्रु सहभागी थिए । बन्दाबन्दीपछि पुनः पर्वतीय उडान सुरु गरेको बुद्ध एयरले स्थिर अवस्थामा रहेको पर्यटनलाई गतिशील बनाउने उद्देश्यले आगामी शनिबारदेखि नियमित पर्वतीय उडान गर्ने जनाएको छ । यस्तै यती एयरलाइन्सले पनि शनिबारदेखि नै सुरु गर्ने तयारी गरेको भए पनि केही प्राविधिक कारण अर्को मिति तय गरिएको कम्पनीले उल्लेख गरेको छ ।

यती एयरलाइन्सले आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पर्वतीय उडानमा विशेष अफर बनाएको छ । यसले पनि एक टिकट खरिदमा अर्को सित्तैमा उपलब्ध गराउने जनाएको छ । यती एयरलाइन्सका उडान सुरक्षा विभाग प्रमुख एवं प्रवक्ता सुदर्शन बर्तौलाले आन्तरिक उडानका यात्रुलाई आकर्षण गरी पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले अफर ल्याइएको बताए ।

‘गाउँदै नेपाली गाथा हेरौं आफ्नै सगरमाथा’ भन्ने सन्देशसहित यतीले आगामी मंसिर २० गतेदेखि प्रत्येक शनिबार पर्वतीय उडान सञ्चालन गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । सुपथ मूल्यमा सगरमाथा उडान प्रारम्भ गर्न लागिएको र बुकिङका लागि नजिकको टिकट काउन्टर तथा ट्राभल एजेन्सी, वेबसाइट वा मोबाइल एप्समार्फत सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

यतीले पर्वतीय उडानका लागि आठ हजार नौ सय ९९ रूपैयाँ भाडा निर्धारण गरेको छ । पर्वतीय उडान करिब एक घण्टाको हुनेछ । त्रिभुवन विमानस्थलबाट सुरु हुने यो उडानबाट सगरमाथा, मकालु, नुप्त्से, गौरीशंकरलगायत अन्य हिमशृंलाको मनोरम दृश्य हेर्न सकिन्छ । अझ पदयात्रा जान नसक्नेका लागि यो गज्जबको अफर भएको व्यवसायीले बताएका छन् ।

बुद्ध एयरले पनि पर्वतीय उडानका लागि आठ हजार नौ सय रूपैयाँ भाडा तोकेको छ । यसमा झ्यालसहितसँगैको अर्को सिट (झ्यालविना) सित्तैमा उपलब्ध गराउनेछ । यो अफर तत्कालका लागि नेपाली नागरिकलाई मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ । टिकटका लागि बुद्ध एयरको काउन्टर तथा ट्राभल एजेन्सीलाई सम्पर्क गर्न विज्ञप्तिमा भनिएको छ ।

सर्वोच्च शिखर सगरमाथासहितका आकर्षक एवं मनोरम हिमशृंखला दृश्यावलोकनका लागि पर्वतीय उडान निकै आकर्षक मानिन्छ । पर्वतीय उडानका लागि स्वदेशी तथा विदेशी यात्रु निकै लालायित हुन्छन् । अनुकूल मौसमले पनि पर्वतीय उडानको आकर्षण बढ्दो छ । विशेषगरी शरद ऋतु पर्वतीय उडानका लागि उपयुक्त मानिन्छ । नेपालमा कोभिड नियन्त्रणका लागि देशभर लागू भएको बन्दाबन्दी र पछिल्लो निषेधाज्ञाका कारण हवाइ उडान खुलेको थिएन ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया