Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार३ सय ९६ अस्पताल असार मसान्तसम्म निर्माण सक्नैपर्ने

३ सय ९६ अस्पताल असार मसान्तसम्म निर्माण सक्नैपर्ने


काठमाडौं ।
पहिलो चरणमा तीन सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्ने योजनाअनुसार सोमबार देशभर एकै दिन दुई सय ५० भन्दा बढी अस्पतालको शिलान्यास गरिएको छ । पाँचदेखि १५ श्ययाको अस्पताल बनाउन सरकारले ६४ अर्ब नौ करोड पठाइएको छ । पाँच श्ययाको अस्पतालका लागि ७० लाख, १० शय्याका लागि ८५ लाख र १५ शय्याका लागि एक करोड पठाइसकिएको छ । अस्पताल निर्माणको सम्पूर्ण काम स्थानीय तहले गर्नेछन् । सरकारले अस्पताल निर्माणका लागि पहिलो किस्ता सम्बन्धित स्थानीय तहमा पठाइएको हो ।

सरकारले पाँच शय्याको अस्पताल निर्माण गर्न आठ करोड, १० शय्याको अस्पतालका लागि ११ करोड र १५ शय्याका अस्पताल निर्माणका लागि १८ करोड बजेट विनियोजन गरेको छ । ७ सय ५३ स्थानीय तहमध्ये ६ सय ४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माण गर्न लागिएको हो । प्रदेश नं. १ मा ३२, प्रदेश नं. २ मा २०, वाग्मतीमा १९, गण्डकीमा ५३, लुम्बिनीमा ६०, कर्णालीमा २८ र सुदूरपश्चिममा ३४ स्थानीय तहमा अस्पताल निर्माण गरिनेछ । सोमबार शिलान्यास हुन नसकेको स्थानीय तहले पनि चालू आर्थिक वर्षभित्रै अस्पताल निर्माण गर्नुपर्नेछ । सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले नागार्जुन नगरपालिका–७ स्थित बतासेपाखामा निर्माण हुन लागेको १५ शय्याको रामकोट आधारभूत अस्पतालको शिलान्यास गरेका थिए ।

सूर्यविनायक नगरपालिका–८ जगातीमा ५० शय्याको अस्पताल निर्माण सुरुवात भएको छ । सांसद महेश बस्नेतले अस्पतालको शिलान्यास गरेका हुन् । सबै स्थानीय तहमा पाँचदेखि १५ शय्यासम्मका आधारभूत अस्पताल बनाउने सरकारको निर्णय गरेको थियो । यसलाई नीति तथा कार्यक्रममा समावेश गरिएको थियो । अहिले ७ सय ५३ पालिकामध्ये १ सय ४ वटामा मात्रै विभिन्न तहका अस्पताल छन् । अस्पताल नरहेका ६ सय ४९ पालिकामा आगामी दुई वर्षभित्र कम्तीमा १५ शय्याको अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य सरकारले राखेको छ ।

सरकारले चालू वर्षमा ३ सय ९६ पालिकामा र अन्यमा आगामी वर्ष अस्पताल निर्माण सुरु हुने बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको लगानीमा मकवानपुर जिल्लाको पाँच स्थानीय तहमा पाँचदेखि १५ शय्याको अस्पताल भवनको छुट्टाछुट्टै शिलान्यास गरिएको छ । थाहा नगरपालिका र मनहरी गाउँपालिकामा १५/१५ शय्याको अस्पतालको शिलान्यास भएको जिल्ला समन्वय समिति मकवानपुरले जनाएको छ । तनहुँका जिल्लाका पाँच स्थानीय तहमा अस्पताल भवन निर्माण सुरुवात भएको छ ।

भीमाद, शुक्लागण्डकी नगरपालिका, म्याग्दे, देवघाट र ऋषिङ गाउँपालिकामा एकैसाथ अस्पताल भवन शिलान्यास गरिएको छ । भानु नगरपालिकामा भने अस्पताल शिलान्यास कार्यक्रम स्थगित भएको छ । जग्गाको व्यवस्थापन भइसके पनि अन्तिम समयमा आएर शिलान्यास कार्यक्रम स्थगित भएको नगरपालिकाले जनाएको छ । झापाको मेची नगरपालिकामा १५ शय्याको आधारभूत अस्पताल शिलान्यास भएको छ ।

नगरप्रमुख विमल आचार्य र उपप्रमुख मीना उप्रेतीले मेचीनगर नगरपालिका– १० को धुलाबारीमा भवनको शिलान्यास गरेका हुन् । गौरादह, झापा, बुद्धशान्ति, विर्तामोड, कनकाई, मेचीनगर, शिवसताक्षी, कचनकबल, कमल, गौरीगञ्ज र हल्दिबारीमा अस्पतालको शिलान्यास हुनेछ । कैलालीमा दुई स्वास्थ्य भवन शिलान्यास गरिएको छ । घोडाघोडी नगरपालिका र बर्दगोरिया गाउँपालिकाले अस्पतालको शिलान्यास गरेका छन् भने गौरीगङ्गा र लम्कीचुहा नगरपालिका तथा महुन्याल गाउँपालिकाले आन्तरिक तयारी हुन नसकेको जनाई मङ्गलबार शिलान्यास गरिने बताइएको छ ।

दाङको राप्ती गाउँपालिकाको सिसहनियाँमा १५ शय्याको अस्पताल निर्माणका लागि भवन शिलान्यास भएको छ । बैतडीका सातवटा स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गरिएका छन् । जिल्लाका दुई स्थानीय तहमा १५ श्यया र पाँच स्थानीय तहमा १० शय्या गरी सातवटा स्थानीय तहमा अस्पताल शिलान्यास गरिएका हुन् ।

बागलुङमा शिलान्यासको सूचीमा परेको छमध्ये चार अस्पतालको शिलान्यास गरिएको छ । अर्थ मन्त्रालयले बागलुङका छ पालिकामा अस्पताल निर्माण गर्नका लागि बजेटसमेत निकासा गरेको छ । सङ्खुवासभाका तीन स्थानीय तहमा सोमबार आधारभूत अस्पताल शिलान्यास भएका छन् । केन्द्रीय सरकारको लक्ष्य र प्राथमिकताका अनुसार देशभरका सबै स्थानीय तहसम्म स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले आधारभूत अस्पताल शिलान्यास गरिएको हो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया