Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकुल जनसंख्याको सात प्रतिशत जनताको डिम्याट खाता

कुल जनसंख्याको सात प्रतिशत जनताको डिम्याट खाता


काठमाडौं ।
नेपालमा कुुल जनसंख्याको सात दशमलव २५ प्रतिशत जनताको डिम्याट खाता रहेको नेपाल धितोपत्र बोर्डले जानकारी दिएको छ । धितोपत्र बोर्डका कार्यकारी निर्देशक एवं प्रवक्ता निरज गिरीका अनुसार बोर्डबाट गरिएका धितोपत्रबजार विकास तथा सुधारका कार्यहरुबाट धितोपत्रको प्राथमिक बजारमा आठ लाखभन्दा बढी लगानीकर्ता डिम्याट खाताको संख्या २१ लाख ८० हजार अर्थात कुल जनसंख्याको करिब सात दशमलव २५ प्रतिशत पुगेको हो ।

‘नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को अनलाइन कारोबार प्रणालीबाट ८५ प्रतिशतभन्दा बढी कारोबार हुने गरेकाले नेपालको धितोपत्र बजारमा पछिल्लो समय लगानीकर्ताको सहभागितामा उल्लेख्य वृद्धि भएको र कारोबार रकम पनि बढेको हो’, प्रवक्ता गिरीले भने । प्रवक्ता गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलाग्न समेत आग्रह गरे । मुलुकको अर्थतन्त्रको विकासमा पुँजीबजारको महत्वपूर्ण भूमिका रहने सन्दर्भमा बोर्डले पुँजीबजारको विकास र विस्तार गर्दै यसको सूक्ष्मरूपमा अनुगमन तथा सुपरिवेक्षण गरिरहेको उनको भनाइ छ । बोर्डले धितोपत्रको दोस्रो बजारको स्वरुप र गतिविधिलाई निरन्तररूपमा अनुगमन गरिरहेको र धितोपत्र बजारको नियमन गर्ने निकायको रुपमा लगानीकर्ताहरुलाई बजारको विविध पक्षका बारेमा समय समयमा प्रेस विज्ञप्ति, प्रकाशन, वेबसाइट तथा विभिन्न सञ्चारमाध्यममार्फत समसामयिक विषयमा जानकारी गराउँदै आएको छ ।

‘पछिल्ला केही दिनमा दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचक हालसम्मको उच्च अंकमा रहन गएको छ जुन समग्र पुँजीबजारका लागि खुसीको कुरा हो’, बोर्डका प्रवक्ता गिरीले भने, ‘यद्यपि लगानीकर्ताहरुले पुँजी बजारका केही स्थापित मूल्य र मान्यताअनुरुप सूचीकृत संगठित संस्थाको वित्तीय अवस्था, ती संस्थाहरुको आधारभूत तथा प्राविधिक पक्ष, ऐन नियमको पालनाको अवस्थाका साथै समग्र वित्तीय तथा आर्थिक परिसूचक लगायतका विवरणहरुको विश्लेषण गरी लगानीसम्बन्धी निर्णय लिनु लगानीकर्ताको हितमा हुनेछ ।’

प्रवक्ता गिरीले धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिका विश्लेषण, संस्थागत सुशासनको अवस्था एवं लगानीकर्ताको जोखिम वहन गर्नसक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न पनि प्रवक्ता गिरीले आग्रह गरे । अहिले बजारमा लगानी गर्ने अन्य क्षेत्रहरु नहुँदा धेरै लगानीकर्ताहरु धितोपत्र बजारमा प्रवेश गरेका छन् । यही कारण अर्थतन्त्रका अन्य सूचकहरु कमजोर बन्दा पनि धितोपत्र बजार भने माथि चढेको छ । बजार उकालो लाग्नुु सबैको लागि सुखद पक्ष भए पनि जोखिम बढेको गिरीले बताए । त्यही कारण आम लगानीकर्ताहरुले निकै नै सुझबुझ प्रयोग गरेर धितोपत्र बजारमा लगानी गर्नुुपर्ने उनको भनाइ छ ।

कुुनै पनि कम्पनीको सेयरमा लगानी गर्दा त्यो कम्पनीको विगत कस्तो थियो, वर्तमान कस्तो छ, भविष्यमा कति प्रतिफल दिन सक्छ, त्यो हेरेर मात्र लगानी गर्नुपर्ने धितोपत्र बोर्डले जनाएको छ । बोर्डका प्रवक्ता गिरीले भने, ‘अर्थतन्त्र असहज अवस्थामा रहेको छ, अर्थतन्त्रमा समस्या आउन सक्छ भनेर विभिन्न विज्ञहरुले भनिरहेको अवस्थामा पनि धितोपत्र बजारले अहिले एउटा लय पक्रेको छ, बजार बढ्दा जोखिम पनि सँगै बढेको छ । यो अवस्थामा भविष्यमा दुुर्घटना नहोस् भनेर नै हामीले धितोपत्र खरिद बिक्रीमा सुझबुुझको प्रयोग गर्न आग्रह गरेका हौँ ।’ अहिलेको बजारको वृद्धिलाई स्वाभाविक, अस्वाभाविक, प्राकृतिक, कृत्रिम केही भन्न नमिल्ने र धितोबजार कहिलेसम्म उकालो लाग्छ भन्न सकिने अवस्था नरहेको पनि उनले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया