Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारट्राफिक लाइट उल्लंघन गर्नेलाई अनलाइन कक्षा लिँदै ट्राफिक प्रहरी

ट्राफिक लाइट उल्लंघन गर्नेलाई अनलाइन कक्षा लिँदै ट्राफिक प्रहरी


काठमाडौं ।
ट्राफिक प्रहरी महाशाखाले ट्राफिक लाइट उल्लंघन गर्ने चालकहरूलाई अनलाइनमार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको सुरुवात गरेको छ । लकडाउनअघि ट्राफिक कारबाहीमा परेका चालकहरू स्वयम् बग्गीखाना गएर आफैँ ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै महाशाखाले सोमबारदेखि अनलाइन सचेतना कक्षा सुरु गरेको हो । हालको कोरोना भाइरस संक्रमणको अवस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रविधिको प्रयोगमार्फत निरन्तरता दिन थालेको जनाएको छ ।

महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरूलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा सञ्चालन गर्दा जोखिम झन् बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरूको लागि घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताए । उनले भने, ‘रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रवृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पूर्ण पालना गराउन कारबाहीका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरिएको हो ।’

लामो समयदेखि बग्गीखानामा लिँदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो । यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरूलाई मात्र ट्राफिक कक्षा लिँदै आएकोमा अबदेखि ट्राफिक लाइटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरूले समेत अनिवार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाइटको माध्यमबाट चोकहरूको व्यवस्थापन हुँदै आएको छ ।

महाशाखाका अनुसार सडक अनुशासन तथा सडक संस्कार एउटा सभ्य समाजको ऐना हो भन्ने कुरालाई आत्मसात गर्दै ट्राफिक लाइट भएका त्यस्ता चोकहरूमा चालक र पैदलयात्रीले ट्राफिक बत्तीको पालना गर्ने हो भने ट्राफिक व्यवस्थापनमा सहजता हुन्छ भने सवारी दुर्घटनामा समेत कमी आउँछ । यस्तो प्रतिकूल अवस्थामा प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन बढी उपयोगी एवं लाभदायक हुने र यसले आम चालकहरूमा अनलाइन सचेतना कक्षा लिने प्रवृत्तिमा समेत वृद्धि हुने महाशाखाको अपेक्षा छ ।

सचेतना कक्षासम्बन्धी दैनिक तालिका तथा कक्षाको लिंकसमेत महाशाखाको अफिसियल फेसबुक पेजमा प्रकाशित गरिने महाशाखाले जनाएको छ । ट्राफिक कारबाहीमा परि सचेतना कक्षामा अनिवार्य समावेश हुनुपर्ने चालकहरूले सोही फेसबुक पेजको लिंकमार्फत निर्धारित समयभन्दा अगावै समावेश हुनुपर्नेछ । एक घण्टाको सचेतना कक्षामा समावेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरी रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया