Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमहासंघले अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा निर्यात व्यवसायलाई विकास गर्ने

महासंघले अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा निर्यात व्यवसायलाई विकास गर्ने


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रको प्रमुख इन्जिनको रूपमा निर्यात व्यवसायलाई विकास गर्नेगरी महासंघले आफ्नो भिजन निर्माण गर्न लागेको बताएका छन् । उनले निर्यातमा भएका समस्याहरूलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने बताए । व्यवसायको लागत, निर्यात प्रोत्साहन, नीतिगत सुधार र व्यवस्थामा ध्यान दिने उनले स्पष्ट पारे । उनले आफ्नो नेतृत्वमा पक्ष विपक्ष नहुने र एकजुट भएर उद्योगी व्यवसायीहरूको समस्या समाधान गर्ने भन्दै अर्थतन्त्रको विकासमा भूमिका खेल्ने बताए । निर्यात व्यवसायी महासंघ नेपाल(फिन)ले मंगलबार राजधानीमा आयोजना गरेको महासंघका नवनिर्वाचित पदाधिकारीहरूको स्वागत तथा सम्मान कार्यक्रममा गोल्छाले निर्यातलाई आफ्नो नेतृत्वले प्राथमिकतामा राख्ने विश्वास दिलाए ।

कार्यक्रममा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निर्वाचनपछि महासंघमा पक्ष विपक्ष सकिएको र आफूले निजी क्षेत्रको र उद्योगी व्यवसायीको साख बढाउन कुनै कसुर बाँकी नराख्ने बताए । ‘मैले बैंकको बोनसबाट पाउने रकमभन्दा व्यवसाय धेरै ठूलो छ । त्यसैले बैंकको स्प्रेडदर कम गर्न मेरो पहल हुनेछ,’ वरिष्ठ उपाध्यक्ष ढकालले भने । उनले निजी क्षेत्रका समस्या पहिचान र निराकरणमा आफूले एक इँटा थप पर्ने प्रतिबद्धता व्यतm गरे । वस्तुगततर्फका उपाध्यक्ष अन्जन श्रेष्ठले अहिले नीतिगत स्पष्टता नभएको भन्दै त्यसले लगानीमा नै असर पार्ने बताए । उनले आफ्नो पहिलो प्राथमिकता नीतिगत स्पष्टता कायम गराउन सरकारसँग सहकार्य गर्ने र लगानीमैत्री वातावरण बनाउने बताए ।

कार्यक्रममा जिल्लातर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले जिल्ला तहमा धेरै समस्या भएको भन्दै त्यसको समाधानको लागि काम गर्ने बताए । त्यसैगरी एसोसिएट्सतर्फका उपाध्यक्ष रामचन्द्र सांघाईले आफू पनि धागो निर्यातक उद्यमी भएको भन्दै निर्यातको वृद्धिको लागि फिनलाई पूर्ण सहयोग गर्ने जानकारी दिए । कार्यक्रममा फिनका अध्यक्ष रामबहादुर गुरुङले निर्यातलाई प्रबर्द्धन गर्न नयाँ नेतृत्वलाई आग्रह गर्दै व्यावसायिक हितअनुकूल नीति ल्याउन पहल गर्नुपर्ने बताए । फिनका महासचिव दुर्गाविक्रम थापाले महासंघको १० वर्षे मार्गचित्र बनाउन सहयोगी भूमिका खेल्न तयार रहेको भन्दै महासंघमा पक्ष विपक्षको रूपमा काम गरेमा त्यसको विरोध गर्ने चेतावनी दिए । यो कार्यकालमा महासंघ एकजुट भएको हेर्न चाहेको भन्दै हालका अध्यक्ष शेखर गोल्छाको कामको गतिलाई साथ दिने बताए ।

फिनका उपाध्यक्ष शंकर पाण्डेले फिन र महासंघ एकअर्काका परिपूरक भएका भन्दै एफएनसीसीआईमा सफाइ गर्नुपर्ने समय आइसकेको तर्फ संकेत गरे । उनले महासंघमा राजनीति ल्याउन नहुने भन्दै नीतिगत परिमार्जन गरेर हालको निर्यातलाई ५ गुणाले बढाउन सकिने जिकिर गरेका थिए । कार्यक्रममा अन्य वक्ताहरूले पनि महासंघ नेतृत्वलाई एक ढिक्का भएर अगाडि बढ्न सुझाव दिएका थिए । उनीहरूले सरकारसँग सहकार्य गरी नीतिगत स्पष्टता गर्दै निर्यात व्यवसाय र उद्योगलाई प्रथामिकतामा राखेर अर्थतन्त्रको विकास गर्नुपर्ने बताएका थिए । कार्यक्रममा वस्तुगत समूहतर्फका सबै निर्वाचित सदस्यहरूलाई समेत स्वागत तथा सम्मान गरिएको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया