Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार४१ करोड राजस्व छली गर्ने पाँच व्यवसायीविरुद्ध मुद्दा दायर

४१ करोड राजस्व छली गर्ने पाँच व्यवसायीविरुद्ध मुद्दा दायर


काठमाडौं ।
राजस्व अनुसन्धान विभाग, पुल्चोकले झूटा तथा नक्कली मूल्यअभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व चुहावट गरेको आरोपमा पाँचवटा फर्मविरुद्ध उच्च अदालत, पाटनमा मुद्दा दर्ता गराएको छ । यसरी झूटा तथा नक्कली मूल्यअभिवृद्धि कर बीजक प्रयोग गरी राजस्व चुहावट गर्नेमा उदयपुर जिल्ला त्रियुगा नगरपालिका –१२ स्थित राउत ट्रेड कन्सर्न, दोलखा जिल्ला तामाकोशी गाउँपालिकास्थित पीआरके ट्रेड इन्टरनेशनल, बारा, परवानीपुरस्थित मिनजा इन्टरनेशनल प्रालि, पर्सा वेलवा गाविस ३ स्थित क्रेट इन्टरप्राइजेज र धनुषा, रघुनाथपुर ४ स्थित करदाता रमण कन्स्ट्रक्सन प्रालि छ भने उनीहरूले ४१ करोड तीन लाख रुपैयाँ राजस्व छली गरेको भन्दै विभागले बिगोदाबी तथा कैद जरिवानासहित अदालतसमक्ष मुद्दा दर्ता गराएको हो ।

विभागले राउत ट्रेड कन्सर्नका प्रोपाइटर कमल बहादुर राउत समेत दुई जनाबाट चार करोड १६ लाख ४६ हजार, पीआरके ट्रेड इन्टरनेशनलका प्रोपाइटर लहुमन (लछुमन) माझीबाट पाँच करोड ५६ लाख आठ हजार, मिनजा इन्टरनेशनलका सञ्चालक रामबाबु साहानीबाट दुई करोड १९ लाख १२ हजार, क्रेटा इन्टरप्राइजेजका प्रोपाइटर नबिकरिमबाट आठ करोड २४ लाख ६० हजार र रमण कन्स्ट्रक्सनसँग भने २० करोड ८७ लाख ६४ हजार राजस्व छली गरेको भन्दै बिगोदाबी तथा कैद जरिवाना माग गरेको हो ।

राउत ट्रेड कन्सर्न (स्थायी लेखा नं. (३०४३१८४७०) ले न्यून आर्थिक अवस्था भएका व्यक्तिको नाममा फर्म दर्ता गरी वस्तु तथा सेवा एउटा आयात तथा खरिद देखाई अर्कै मालवस्तुको झूटा तथा नक्कली मू.अ. कर बीजक मात्र बिक्री गरी मूल्यअभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गर्ने गरेको विभागले जनाएको छ ।

विभागका अनुसार प्रतिवादीहरू उदयपुर जिल्ला त्रियुगा नगरपालिका बस्ने प्रोपाइटर राउत र उक्त फर्मको बैंक खाता सञ्चालक गोपाल प्रसाद भट्टराईले झूटा तथा नक्कली मू.अ.कर बीजक जारी गर्नकै लागि फर्म स्थापना गरी तथा कुनै वस्तु तथा सेवा स्थानीय खरिद तथा आयातनिर्यात नगरी मूल्यअभिवृद्धि कर बीजक छपाइ, झूटा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक जारी गरी उक्त फर्महरूबाट कर बीजकबमोजिमको बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्यअभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरेको र विभिन्न फर्महरूलाई नक्कली एवं झूटा बीजक उपलब्ध गराएको विभागले जनाएको छ ।

यस्तै पीआरके ट्रेड इन्टरनेशनल (स्थायी लेखा नं. ३०४३१८४७०) का प्रोपाइटर माझी तथा मुख्य कारोबारी काठमाडौं महानगरपालिका वडा नं. ३४ बस्ने रञ्जन कुमार सिंह र मलगंवा न.पा १२ बस्ने लक्ष्मण राय तथा मिनजा इन्टरनेशनल प्रालि (स्थायी लेखा नं. ६०४३४२३३५) तथा फर्मका सञ्चालक रामबाबु सहनी तथा उक्त फर्मको बैंक खाता सञ्चालक सर्लाही घर भएका सरोज कुमार मिश्रले कुनै वस्तु तथा सेवा स्थानीय खरिद तथा आयात नगरी मूल्यअभिवृद्धि कर बीजक लुकाएर झूटा खरिद देखाई विभिन्न फर्महरूलाई बिक्री बीजक जारी गरी उक्त फर्महरूबाट कर बीजकबमोजिमको बिक्री रकम भुक्तानी लिई सो बीजकमार्फत असुल गरेको मूल्यअभिवृद्धि कर रकम सरकारी कोषमा दाखिला नगरी तथा विभिन्न फर्महरूलाई नक्कली एवं झूटा बीजक उपलब्ध गराई जालसाजी गरी मूल्यअभिवृद्धि कर तथा आयकर छली गरी मूल्यअभिवृद्धि कर र आयकर समेतको राजस्व चुहावटको कसुर गरिएको पाइएको विभागले जनाएको छ ।

विभागका अनुसार रमण कन्स्ट्रक्सन प्रालि (स्थायी लेखा नं.३०००७९७११) ले वस्तु तथा सेवाको खरिद नगरी झूटा तथा नक्कली बिक्री बीजक मात्र लिई त्यस्ता बीजकबाट खरिद देखाई गैरकानुनी कार्य गरी राजस्व चुहावट गरेको पुष्टि हुन आएको छ । झूटा तथा नक्कली मू.अ.कर बीजक बनाई राजस्व चुहावट गरी मूल्यअभिवृद्धि कर तथा आयकरको राजस्व चुहावटको कसुर गरेको देखिएको छ । यसरी उनीहरूले राजस्व चुहावट गरेसँगै राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण, ऐन २०५२ अनुरुप कारबाही अघि बढाइएको विभागले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया