सुबास बस्नेत
दोलखा ।
पछिल्लो समय धेरै युवाको रोजाइ कृषि पेसा हुनेगरेको छ । कतिपय युवा विदेशबाट फर्केर स्वदेशमै कृषि व्यवसाय गर्न थालेका छन् भने केही युवा स्वदेशमै बसेर व्यावसायिक कृषिमा लगानी गर्न थालेका छन् । दोलखाको भीमेश्वर नगरपालिका पाँच मथानीका रामहरि सुवेदी गाडी चलाउने ड्राइभिङ पेसा छाडेर गाउमै भैंसीपालन गर्न थालेका छन् । सुवेदीले आफ्नै गाउँमा कृषि तथा पशुपन्छी फार्म दर्ता गरेर करिब ३५ लाख लगानी गरेर भैंसी पालन सुरु गरेका हुन् ।
सुरुमा सातवटा दुहुनो लैनो भैंसी पालेर व्यवसाय सुरु गरेका सुवेदीले बजारमा दुधको माग बढेको देखेपछि थप २२ वटा भैंसी थपेर व्यवसाय बढाउने भएका छन् । अहिले उनको गोठमा १४ वटा भैंसीका माउपाडा रहेका छन् । सातवटा भैंसीले दैनिक ५५ लिटर दुध दिने गरेको सुवेदीले जानकारी दिए । भाइ अच्युतप्रसाद सुवेदी र उनले पाट्नरमा सुरु गरेको भैंसी पालनले राम्रो आम्दानी हुने भएपछि भैंसी पालन व्यवसायलाई थप व्यवस्थित गर्न थप ३० लाख लगानी गरेर भैंसी खरिद गर्न लागेको अच्युतप्रसाद सुवेदीले बताए । बजारमा दुधदहीको माग राम्रो रहेकाले दुई दाजुभाइले सदरमुकाम चरीकोट बजारमा आफ्नै दुग्ध डेरी सञ्चालनमा ल्याउने तयारी समेत गरिरहेका छन् ।
बजारमा दुधको मूल्य प्रतिलिटर एक सय रूपैयाँ रहेको छ । साथै उनीहरूले तरकारी व्यवसाय समेत गर्दै आएका छन् । दुवै व्यवसायबाट मासिक एक लाख रूपैयाँ आम्दानी हुने गरेको उनीहरूको भनाइ छ । अहिले दैनिक ५० देखि ६० लिटर दुध चरीकोट बजारमा बिक्री हुने गरेको छ । व्यवसाय सुरु गर्न स्थानीय निकायले कुनै अनुदानको व्यवस्था नगरेको उनले बताए । भीमेश्वर नगरपालिकाबाट हालसम्म कुनै अनुदान नपाएको भए पनि स्थानीय बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेको सुवेदीले बताए । नगरपालिकाले कृषि क्षेत्रमा कुनै अनुदानका कार्यक्रम दिए आफ्नो व्यवसायलाई थप उत्पादनमूलक बनाएर लैजाने योजना रहेको सुवेदीले जानकारी दिए । पछिल्लो समय बजारमा सुवेदी दाजुभाइ उदाहरणीय युवा व्यवसायी बनेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- टेलिकमको नाफामा गिरावट
- अवैध सुनको आयात बढ्दा भारतीय रूपैयाँको मूल्य बढ्यो
- बैंकहरूले घटाए ब्याजदर
- यो वर्ष पनि राजस्व र पुँजीगत खर्च कमजोर
- वित्तीय सङ्कटको सम्भावना कसरी टार्ने ?
- आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही
- स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयन
- चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया