Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्छौँ : अर्थमन्त्री पौडेल

वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्छौँ : अर्थमन्त्री पौडेल


काठमाडौं ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ को प्रभाव न्यूनीकरणलाई केन्द्रित गरी वित्त र मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले निजी क्षेत्रबाट धेरै गुनासाहरु आएकाले आफूले अवरोधहरु पन्छाएर भए पनि बजेट र मौद्रित नीतिमा उल्लिखित कार्यक्रमहरुको कार्यान्वयनमा तत्परता लिएको बताए ।

निजी क्षेत्रप्रति सरकारको सकारात्मक धारणा रहेको र मिलेर काम गर्न तत्पर रहेको बताउँदै उनले निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह समेत गरे । रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको सरकारले महसुस गरेको उनको भनाइ छ । त्यसका लागि सरकार सदैव सहकार्य गर्न तयार रहेको बताए । निजी क्षेत्रलाई हतोत्साहित तुल्याएर र मनोबल गिराएर सार्थक उपलब्धि हासिल हुन नसक्ने उनको भनाइ थियो । कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने जानकारी दिए । अर्थमन्त्री पौडेलले निजी क्षेत्रले दिने सुझावबारे विषयगत रुपमा समेत छलफल गर्ने भन्दै व्यावहारिक र कार्यान्वयन जान सकिने सुझावहरु दिन निजी क्षेत्रलाई आग्रह गरे ।

नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरुले बजेट तथा मौद्रिक नीतिमा उल्लिखित कार्यक्रमहरुको कार्यान्वयनमा जोड दिएका थिए । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए । अर्थतन्त्रको पुनरूत्थानका लागि महासंघले विज्ञ समेतको सहयोगमा अनुसन्धानमा आधारित रहेर सुझावहरू तयार गरी सरकारमा पेश गर्ने तयारी गरेको जानकारी दिए ।

कोभिड संकटमा महासंघले दिएका कतिपय सुझावहरू बजेट तथा मौद्रिक नीतिमार्फत सम्बोधन भएको तर स्थानीय तहमा साना उद्यमी व्यवसायीहरूले मौद्रिक नीतिमार्फत दिइएका सुविधाहरू कार्यान्वयन गर्न वाणिज्य बैंकहरूले आनाकानी गरिरहेको जानकारीमा आएकाले मौद्रिक नीतिमार्फत दिइएका सुविधाहरु अक्षरशः लागू गर्न गोल्छाले सरकारसँग आग्रह गरे । उनले साना उद्यमी व्यवसायी लक्षित विशेष स्टिमुलस प्याकेजकै खांचो रहेको समेत बताए । उनले भने, ‘त्यस्ता स्टिमुलस प्याकेजले विशेष गरी साना र कमजोर उद्यमी व्यवसायीलाई पुनरूत्थान गर्न सहयोग गरोस् ।’

महासंघले अन्तर्राष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको ‘भिजन डकुमेन्ट’ तयार गर्ने कार्यलाई अगाडि बढाएको पनि जानकारी दिए । महासंघले तयार गर्ने उक्त डकुमेन्ट विभिन्न देशहरूका सफल अनुभव र मोडलहरूका आधारमा तयार गरिने उनले बताए । डकुमेन्ट तयारीपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने उनको भनाइ छ । साथै उक्त डकुमेन्टमा मुलुकले हासिल गर्ने तत्कालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्यहरू किटान गरिनेछ ।

साथै अध्यक्ष गोल्छाले राजस्व बोर्डलाई निजी क्षेत्रको समेत सल्लाह सुझावमा पूर्णता दिन आग्रह गर्दै यसले निजी क्षेत्रमा समेत थप जिम्मेवारीको बोध भई सहकार्य गर्न सहयोग पुग्ने सुझाव दिए । अर्थ मन्त्रालयका सचिव(राजस्व) रामशरण पुडासैनी, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई सहभागी भएका थिए । सो कार्यक्रममा अध्यक्ष गोल्छाले अबको समय मुलुुकको उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका विषयमा निकै धेरै काम गर्नुपर्ने भएकाले महासंघले सोहीअनुसार तयारी गरी अघि बढेको स्पष्ट पारे । अर्थमन्त्री पौडेलले नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सफलताको शुभकामना समेत दिएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया