Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतीन दिनभित्रै कोरोना बीमाको दाबी भुक्तानी दिन अर्थ मन्त्रालयको निर्देशन

तीन दिनभित्रै कोरोना बीमाको दाबी भुक्तानी दिन अर्थ मन्त्रालयको निर्देशन


काठमाडौं ।
अर्थ मन्त्रालयले सम्पूर्ण कागजात र प्रक्रिया पूरा भएका कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्रै निर्देशन दिएको छ । मन्त्रालयअन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा समन्वय महाशाखाले बीमा समितिको नाउँमा बिहीबार पत्राचार गर्दै उक्त निर्देशन दिएको हो । कोरोना बीमाको दाबी भुक्तानीको काममा ढिलाइ गरेको भन्दै बीमा समितिलाई पुनः कडा निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोना बीमा मापदण्डबमोजिम प्रक्रिया तथा कागजात पूरा भएका दाबीहरुको भुक्तानी तीन दिनभित्र गरी दैनिक रुपमा मन्त्रालयमा जानकारी दिन निर्देशन दिएको हो । यसैगरी प्रमाणीकरण गर्न बाँकी दाबीको प्रमाणीकरण पनि यथाशीघ्र गरी भुक्तानी दिने व्यवस्था मिलाउन पनि मन्त्रालयले बीमा समितिलाई निर्देशन दिएको छ । कोरोना बीमा दाबी भुक्तानीका सम्बन्धमा विभिन्न बीमा कम्पनीहरुबाट प्राप्त दाबी भुक्तानीमा देखिएका समस्याबारे जानकारी दिन समितिलाई भनिएको छ ।

मन्त्रालयले बीमा समितीलाई दिएको निर्देशनमा भनिएको छ, ‘हाल कुन–कुन बीमा कम्पनीमा कति संख्यामा दाबी परेको विवरण पेन्डिङ (रोकिएको) मा छ, सोको विवरण र समस्या समाधानका लागि त्यस समितिबाट के कति प्रयास भइरहेको छ, मन्त्रालयमा सहजीकरणका लागि पहल गर्नुपर्ने विषय के के हुन्, यसको विस्तृत विवरण मन्त्रालयमा पठाउनुहुन अनुरोध छ । यसैगरी कोरोना बीमाको हालसम्मको दाबी संख्या, कागजात पूरा भएका दाबी संख्या, प्रमाणीकरणका लागि स्वास्थ्य सेवा विभागमा पठाएको संख्या, प्रमाणीकरण नभएका वा नक्कली दाबी विवरण, दाबी भुक्तानीको विवरण र सबै कागजात पूरा भई भुक्तानी गर्न बाँकी विवरण सार्वजनिक गर्न मन्त्रालयले निर्देशन दिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया