Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारभारत पलायन भएका व्यवसायी जैनको फर्मद्वारा निर्बाधरूपमा आयातनिर्यातको कारोबार

भारत पलायन भएका व्यवसायी जैनको फर्मद्वारा निर्बाधरूपमा आयातनिर्यातको कारोबार


विराटनगर ।
विराटनगर महानगरपालिकाको जहदा रोडमा सुरेशकुमार जैनले सञ्चालन गरेको विशाल जर्दा उद्योग र विशाल केमिकलमा राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय सुनसरीले नक्कली भ्याटबिल प्रकरणमा छापा मारेपछि उद्योग नै बन्द गरी भारत पलायन भएका उद्योगीले धेरै वर्षपछि फेरि विराटनगरमा कारोबार सुरु गरेका छन् ।
करिब १५ वर्ष अगाडि उक्त उद्योगमा राजस्व अनुसन्धान कार्यालय सुनसरीले नक्कली भ्याटबिल प्रकरणमा छापा मारी करिब १० बोरा कागजात नियन्त्रणमा लिएको थियो । राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय सुनसरीको टोलीले सोही बेला उक्त उद्योगलाई सिलबन्दी गरी अदालतमा मुद्दा समेत चलाएको थियो । उक्त घटनापछि विशाल जर्दा उद्योगका सञ्चालक सुरेशकुमार जैन भारतको जयपुरमा आफ्नो कारोबार गर्दै आएका थिए ।

विशाल केमिकलका सञ्चालक भवानी बोहोरा विराटनगरमा नै बसी अदालतमामा मुद्दा बोकिरहेका थिए । केही वर्षअघि विशाल केमिकलका सञ्चालक भवानी बोहोरालाई अदालबाट फैसला भई सफाइ दिएको थियो । तर जैनको हकमा जरिवाना गरेपछि उनी भारतमै बसी आफ्नो व्यवसायी गर्दै आएको व्यवसायी स्रोतले बताएको थियो । पछिल्लो समय अर्थात् २०६१ सालतिर नै सुरेशकुमार जैनले दर्ता गराएको सुस्वनी ट्रेडिङ कम्पनीले केही वर्षअघिबाट मात्र एक्सपोर्ट इम्पोर्टको काम थालेका थिए । साथै अहिले उनको कारोबार शंकाको घेरामा परेको राजस्वस्रोतले बताएको छ ।

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट २०६१ सालमा नै सुस्वनी ट्रेडिङ कम्पनीले ३०१६४२७४१ मा भ्याट समेत सुरेशकुमार जैनको नाममा दर्ता कायम रहेको राजस्वस्रोतले बताएको छ । तर उनी आफू भारतको जयपुरमा बसी कारोबार गर्न थालेपछि उनका सहोदर भाई अनिलकुमार जैनले उक्त फर्मको नामबाट कारोबार गर्नेगरेका छन् । उक्त सुस्वनी ट्रेडिङ कम्पनीले गत आर्थिक वर्षमा तीन करोड २५ लाखको मात्र कारोबार देखाएर एक लाख १५ हजार आयकर बुझाएपछि सञ्चालक अनिलकुमार जैन पनि अनुसन्धानको घेरामा पुगेको राजस्वस्रोतले दाबी गरेको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोरका एक उद्योगीले केही व्यवसायीका कारणले गर्दा व्यापार सञ्चालन गर्न पनि नसकिने अवस्था आएको बताए । सरकारले त्यस्ता व्यवसायीलाई कडाभन्दा कडा कानुन ल्याएर कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाइ थियो । उनले त्यस बदनामी व्यवसायीका कारण अब देशमा व्यवसाय गर्ने कि नगर्ने भन्ने दोधारको अवस्था आएको भन्दै गुनासो व्यक्त गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया