Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसाना उद्योगहरूको पुनरूत्थान गरी युवाहरूलाई रोजगारी दिन आग्रह

साना उद्योगहरूको पुनरूत्थान गरी युवाहरूलाई रोजगारी दिन आग्रह


काठमाडौं ।
नेपाल उद्योग वाणिज्य महासंघले साना तथा मझौला उद्योगहरूको पुनरूत्थान गरी यूवाहरूलाई रोजगारी दिन सरकारसँग आग्रह गरेको छ । महासंघले विभिन्न कारणले यतिबेला गुमनाम हुनपुगेका कुनै समयका नेपालका स्थापित निर्यातमूलक उद्योगहरू गार्मेन्ट, पश्मिना, गलैँचालगायतका उद्योगहरूको पुनरूत्थान गरी युवाहरूलाई रोजगारी दिनसके प्रतिवर्ष ठूलो परिमाणमा भारततर्फ जाने विप्रेषण समेत रोक्न सकिने बताएको हो ।

महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बिहीबार उद्योग मन्त्रालयमा आयोजना गरेको स्वागत कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढीकरणका लागि आफ्नो आगामी कार्ययोजनाबारे जानकारी गराएका थिए । उनले महासंघले कोभिडपश्चात् उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि सुझावहरू तयार गर्ने कार्यको सुरूवात गरेको बताए ।

अध्यक्ष गोल्छाले अन्तर्राष्ट्रिय संस्थाको समेत सहयोगमा मुलुकको भिजन डकुमेन्ट तयार गर्ने कार्यलाई अगाडि बढाएको र डकुमेन्ट तयारीपछि सरकारबाट स्वीकृत गराई सहकार्यमा लगिने बताए । साथै महासंघका अध्यक्ष गोल्छाले मौद्रिक नीतिमार्फत साना उद्यमी व्यवसायीका लागि दिइएका सुविधाहरू कार्यान्वयनमा समन्वय गरिदिन पनि आग्रह गरे । दोहोरो करका कारण स्थानीयतहमा उद्योग व्यवसाय थप समस्या परेको बारेमा पनि उनले सरकारको ध्यानाकर्षण गराए । लामो समयदेखि बन्द चलचित्र उद्योगहरू स्वास्थ्यका सबै प्रोटोकलहरू कायम गरी अविलम्ब सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो ।

महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागत गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले निजी क्षेत्रबाट आएका सल्लाह सुझावहरूअनुसार नै आफूले काम गर्ने बताए । मन्त्री भट्टले आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी निजी क्षेत्रसँग सहकार्य गर्ने बताए । वैदेशिक लगानीभन्दा आन्तरिक लगानीलाई प्रोत्साहन गर्ने गरी काम गरिने भन्दै उनले कोभिड –१९ महामारीपछिको परिस्थितिमा लगानी बढाई रोजगारी सिर्जना गर्ने सन्दर्भमा सरकारले निजी क्षेत्रसँग सहकार्य गर्नुको विकल्प नरहेको बताए । साथै उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले छिट्टै नै महासंघका लगायतका अन्य व्यावसायिक संघ/संस्थाहरू, सरोकारवाला सरकारी निकायहरू समेतको सहभागितामा एक विशेष कार्यक्रमको आयोजना गरी उद्योग व्यवसायको विकासमा ठोस निष्कर्षमा पुग्ने योजना मन्त्रालयको रहेको समेत जानकारी दिए ।

भेटमा महासंघका तर्फबाट अहिलेको संकटमा लगानी ल्याउन र लगानी गर्न चाहनेलाई सहज र सरल तरिकाले लगानी भित्र्याउने वातावरण बनाउनुपर्ने, निर्यात प्रवद्र्धनका लागि विशेष प्याकेज आउनुपर्ने, साना तथा मझौला व्यवसायको दर्ता प्रक्रियामा निकै धेरै समस्या रहेकाले कुनै एक निकायमा दर्ता भइसकेको व्यवसायलाई अन्यत्र दर्ता गर्न नपर्ने व्यवस्था हुनुपर्ने, ऐन कानुनसँगै नियमावली पनि ल्याइनुपर्ने, चेम्वर ल ल्याउनुपर्ने, उद्योग व्यवसायमा हडताल नहुने सुनिश्चितता गराउनुपर्ने, सीएसआरबाट उठेको रकममा केही हिस्सा उद्योग वाणिज्य संघहरूको संस्थागत विकासमा खर्च गर्ने गरी दिने व्यवस्था गरिनुपर्नेलगायतका सुझावहरू राखिएको थियो । वाणिज्य सचिव वैकुण्ठ अर्यालले मन्त्रालयले सधैँ महासंघसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन र उद्योग विभागका महानिर्देशक जीवलाल भुषाल सहभागी रहेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया