मुन्धुम ट्रेल पदमार्गमा राज्यको लगानी बढ्दै
भोजपुर ।
मुन्धुम ट्रेल पदमार्ग नयाँ पर्यटकीय गन्तव्य घोषणा भएसँगै यस पर्यटकीय स्थलमा राज्यको लगानी बढेको छ । पूर्वीपहाडी जिल्ला भोजपुर, खोटाङ्ग, सोलुखुम्बु तथा संखुवासभा सीमाक्षेत्रमा रहेको यो पदमार्ग नेपाल सरकारले घुम्नैपर्ने १०० पर्यटकीय गन्तव्यभित्रको सूचीमा परेपछि स्थानीय र सरोकारवाला निकै उत्साही बनेका छन् ।
प्राकृतिक सुन्दरता बोकेका ठाउँको भ्रमण गर्न विदेशी पर्यटक वर्षेनी हजारौँको संख्यामा नेपाल भित्रिने गर्छन् । तीमध्ये धेरैजसो लेक लाग्ने समस्याले उच्च हिमाल, पहाड चढ्न नसक्ने तर हिमाललाई नजिकबाट हेर्न चाहाने पर्यटकलाई उपयुक्त हुने गरी नेपालमै थुप्रै पदमार्ग खोलिएका छन् । धेरै पर्यटकीय सम्भावना बोकेका त्यस्ता पर्यटकीय पदमार्गमध्ये छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्धुम ट्रेल’ विकास भइरहेको छ ।
भोजपुरको पर्यटनलाई माथि उकास्न र विदेशी पर्यटकको प्रमुख गन्तव्य बनाउने लक्ष्यका साथ टेम्केमैयुङ गाउँपालिका पनि जुटेको छ । उक्त मुन्धुम पदमार्गमा दुई हजार चार सय मिटरदेखि तीन हजार तीन सय मिटरको दूरीमा उकालो ओरालो गर्दै डाँडैडाँडामा पैदलयात्रा गर्न सहज हुन्छ । यस मार्गबाट चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजंघा, कुम्भकर्णलगायतका दुई दर्जनभन्दा बढी सुन्दर हिमशृंखलाको दृश्यावलोकन गर्न सकिन्छ । त्यसका लागि पदमार्गमा जाने आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यान राख्दै संरचनाहरू निर्माण भइरहेका छन् ।
प्राकृतिक सुन्दरताले अति मनमोहक दृश्यावलोकन गर्न सकिने यस मैयुङ क्षेत्रलाई ‘टुरिष्ट हब’ बनाउने लक्ष्यले पदमार्गको काम थालिएको हो । हावापानीको हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गरम नहुने सन्तुलित हावापानी भएको प्रमुख पदस्थल भएको उक्त पदमार्ग क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटन व्यवसाय प्रवर्द्धन गर्ने लक्ष्य गाउँपालिकाले लिएको छ ।
भोजपुरको पाँचधारेदेखि सिलिचुङ डाँडासम्मको करिब ५८ किलोमिटर पदमार्गमध्ये पहिलो चरणमा १२ किलोमिटरमा पदमार्ग निर्माणको काम थालनी गरिएको छ । जिल्ला समन्वय समिति भोजपुरका प्रमुख लक्ष्मण खड्काले एक कार्यक्रमबीच सोमबार सो पदमार्ग निर्माणको शिलान्यास गरे । प्रदेश सरकारको ३५, स्विस सरकारको ३५ र गाउँपालिकाको ३० प्रतिशत गरी ९९ लाख २२ हजार ७८४ रुपैयाँ लागतमा पहिलो चरणको पदमार्ग निर्माणको काम थालनी गरिएको गाउँपालिकाले जनाएको छ । छिमेकी जिल्ला खोटाङसँग जोडिएको मैयुङ क्षेत्र पर्यटकीय पदमार्ग ‘मुन्दुम ट्रेल’ का रुपमा विकास गर्न कामको थालनी गरिएको हो । पदमार्गमा जाने आन्तिरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै संरचनाहरू निर्माण गरिने जनाइएको छ ।
किराँत राईहरूको संस्कार, संस्कृतिसँग जोडिएका विभिन्न टिपिकल खानाको व्यवस्था गरिने जनाइएको छ । पर्यटकको पदमार्गमा सहजयात्राका लागि विभिन्न जानकारी मुलुक बोर्डहरूसमेत राखिने पदमार्ग निर्माण समितिका अध्यक्ष पाविहाङ राईले जानकारी दिए । उनले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि पदमार्ग निर्माणको काम थालनी गरिएको छ, प्राकृतिक स्वरुपलाई यथावत् राख्दै सिमेन्टको प्रयोग नगरी स्थानीय स्रोतसाधनको प्रयोग गरेर पहिलो चरणको पदमार्गको निर्माणको काम सुुरु भएको छ ।’
पदमार्गका लागि दुई करोड लागतमध्ये पहिलो चरणमा ९९ लाख रुपैयाँबराबरको हुनेछ भने दोस्रो चरणमा चिया घर निर्माण, खानेपानी, शौचालय, विश्रामस्थल निर्माणसँगै पर्यटकहरूका लागि खान र बस्नका लागि अन्य संरचना निर्माण हुने अध्यक्ष राईले जानकारी दिए । उनका अनुसार पहिलो चरणको काम शुरु भएको छ । उक्त बजेटले १२ किलोमिटर पदमार्ग निर्माण हुनेछ, त्यसपछि बाँकी बजेटले अन्य संरचनाहरू निर्माण हुनेछन् । मुन्दुम ट्रेलको विकासले गाउँपालिकालाई आर्थिक विकासमा टेवा पुग्ने गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- ‘चाइना कार्ड’ भन्दै पूर्व प्रधानमन्त्री प्रचण्डले दिएको अभिव्यक्तिप्रति आपत्ति
- स्थानीय तह उपनिर्वाचनस् कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
- डिजेल र मट्टितेलको मूल्य बढ्यो
- आयात रोकिएपछि नेपाली महले बजार पाउन थाल्यो
- प्याजका बिरुवा बेचेर डेढ लाख कमाइ
- ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१’ अभियानमा दुई सय ३६ सहयोगापेक्षीहरुको उद्धार
- चीन भ्रमणको प्रारम्भिक तयारी सुरु
- पर्यटनमन्त्री पाण्डेद्वारा कांग्रेस अनुशासन समितिमा उजुरी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया