Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगजगदम्बा मोटर्सले अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउँदै

जगदम्बा मोटर्सले अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्ड प्रोटोन नेपाल भित्र्याउँदै


काठमाडौं ।
मलेसियाली चर्चित अटो मोबाइल कम्पनी प्रोटोन, निकै छोटो समयमा नै संसारभर आफ्नो प्रभाव छोड्न सफल भएको छ । हाल यस कम्पनीका गाडीहरू संसारका बढी भन्दा मुलुकहरूमा उपलब्ध भइसकेका छन् र अन्य मुलुकहरूमा पनि विस्तारै उपलब्ध हुने क्रममा रहेका छन् । सोही क्रममा प्रोटोनले नेपालमा पनि आफ्नो चर्चित तथा संसारभर अत्यधिक बिक्री भएको मोडल प्रोटोन सागा नेपालका सडकहरूमा ल्याउन लागिरहेको छ । उक्त गाडी शंकर ग्रुपको मातहतमा रहेको जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले नेपाल भित्र्याउनलागेको हो ।

कम्पनीका अनुसार प्रोटोनले आफ्नो पहिलो कार सन् १९८५मा प्रोटोन सागाकै रुपमा बजारमा ल्याएको थियो । साथै कम्पनीले सन् १९९२ मा प्रोटोन सागा आईसवारा, १९९३ मा प्रोटन विरा, १९९४ मा प्रोटोन स्टारिया, १९९६ मा प्रोटोन पुट्रा क्यूप बजारमा ल्याएको थियो । जसका पछिल्ला २ संस्करणहरू मध्यपूर्व एसिया र युरोपतिर अत्यधिक मात्रामा बिक्री हुन सफल भएका थिए ।

यसैगरी प्रोटोनले १९९५ मा प्रोटोन पेरडाना र १९९६ मा प्रोटोन टिआरा तथा नब्बेकै दशकमा अन्य २ प्रकारका गाडीहरू पनि बजारमा ल्याएको थियो । त्यसपश्चात् २०औँ शताब्दीका लागि प्रोटोनले सन् २००० मा वाजा, २००१ मा ज्युरा, २००२ मा ऐरिना, २००४ मा गेन टु, २००५ मा सभ्भे, २००६ मा स्टारिया निओ २०१० मा इन्सपिरा, २०१२ मा प्रेभ, २०१३ मा सुप्रिमा एस र २०१६ मा इर्टिगा मोडलका गाडीहरू बजारमा ल्याएको थियो ।

यसैगरी कम्पनीले सन् २०१८ मा प्रोटोन एक्स७० नामक आफ्नो प्रथम एसयूभी बजारमा ल्याएको थियो, जुन मलेसियामा मात्र नभएर विश्व अटो बजारमा नै निकै रुचाइएको थियो । यसैगरी २०२०मा प्रोटोनले एक्स५० मोडलको अर्को गाडी हालसालै मात्र बजारमा ल्याएको छ, जसलाई २०२० का उत्कृष्टमध्येको एक मानिएको छ । यी दुई गाडीबाहेक प्रोटोनका सागा, परसोना, परडोना, एक्सोरा र आईरिज गरेर अन्य ५ प्रकारका गाडीहरू अहिले पनि विश्व बजारमा अत्यधिक रुचाइएका छन् ।

कम्पनीका अनुसार प्रोटोनको मुख्य बजार स्वयम् मलेसिया र बेलायत रहे पनि हाल ७० भन्दा ज्यादा मुलुकमा यसको पदार्पण भइसकेको छ र अझ बढ्दो क्रममा रहेको छ । उत्तर अमेरिका, युरोप, चाइना र दक्षिण पूर्वी एसियामा गरेर ९ वटा रिसर्च र डेभलपमेन्ट सेन्टर्स र ९ वटै डिजाइन सेन्टर्स रहेको प्रोटोनको मुख्य प्लान्ट भने मलेसियाको तान्जुङ मलिम सहरमा छ । १२८० एकडमा फैलिएको यो विशाल प्लान्ट, हरेक दृष्टिकोणले अत्यन्त आधुनिक र सुविधासम्पन्न रहेको छ, जहाँ रिसर्च र डेभलपमेन्ट सेन्टर, भेन्डर पार्क, सहरी क्षेत्र र एउटा विश्वविद्यालयको समेत रहेको छ । प्रोटोन प्रविधिको क्षेत्रमा पनि एकदमै अघि रहेको छ । यसले निर्माण गरेका प्रत्येक गाडीहरूमा पछिल्लो अन्तर्राष्ट्रिय प्रविधिको सम्मिश्रण भएको पाइन्छ ।

कम्पनीले गिली होल्डिंग र भोल्भोसँगको सहकार्यपश्चात् अझ नवीनतम अन्तर्राष्ट्रिय प्रविधिलाई अंगाल्दै यसले आफ्नो मूल मान्यताहरूलाई अघि बढाएको छ । अरु ठूला–ठूला कम्पनीसँग प्रतिस्पर्धामा रहिरहन पनि प्रोटोनले प्रविधिको खोज तथा अनुसन्धानमा अर्बौँ रूपैयाँ खर्चेको जनाएको छ । अत्याधुनिक सुविधाहरू र नवीन उत्पादनहरू बजारमा ल्याउन प्रोटोनले डिजाइन र इन्जिनियरिङमा नयाँ प्रविधिको निरन्तर प्रयोग गर्दै आइरहेको छ, जसमार्फत उसले आफ्ना विश्वव्यापी रहेका ग्राहकहरूलाई सहज, सुरक्षित, आरामदायी र गतिशील यात्रातर्फ अग्रसर गराइरहेको छ । ३५ वर्षबाट उच्चस्तरीय र शानदार गाडीहरू उत्पादन गर्दै आइरहेको प्रोटोनले हालसम्म २७ वटा मोडल उत्पादन गरिसकेको छ भने यसका संसारभर ४.४ मिलियनभन्दा बढी ग्राहक छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया