Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाणिज्य बैंकहरूले ११ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने

वाणिज्य बैंकहरूले ११ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह गर्नुपर्ने


काठमाडौं ।
सञ्चालनमा रहेका २७ वटा वााणिज्य बैंकहरूले चालू आर्थिक वर्षको अन्त्य अर्थात् आगामी असार मसान्तसम्म कृषि क्षेत्रमा मात्र ११ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन वााणिज्य बैंकहरूलाई निर्देशन दिएको हो । उक्त व्यवस्थाअनुसार वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम ११ प्रतिशत, २०७९ असार मसान्तसम्म १३ प्रतिशत र २०८० असार मसान्तसम्म १५ प्रतिशत कृषि क्षेत्रमा प्रवाह गर्नुपर्नेछ ।

राष्ट्र बैंकका अनुसार २०७७ असोज मसान्तसम्ममा भने वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जा लगानीको नौ दशमलव पाँच प्रतिशत कर्जा मात्र कृषि क्षेत्रमा प्रवाह गरेका छन् । यसैगरी वाणिज्य बैंकहरूले कुल कर्जा लगानीको २०७८ असार मसान्तसम्म न्यूनतम छ प्रतिशत, २०७९ असार मसान्तसम्म सात प्रतिशत, २०८० असार मसान्तसम्म नौ प्रतिशत र २०८१ असार मसान्तसम्म १० प्रतिशत ऊर्जा क्षेत्रमा प्रवाह गर्नुपर्नेछ । राष्ट्र बैंकका अनुसार चालू आवको असोज मसान्तमा वाणिज्य बैंकहरूले आफ्नो कुल कर्जा लगानीको पाँच दशमलव छ प्रतिशत मात्र ऊर्जा क्षेत्रमा प्रवाह गरेका छन् ।

कोभिड–१९ बाट अतिप्रभावित हवाइ उड्डयन व्यवसाय, यातायात, होटल, रेष्टुरेन्टलगायतका पर्यटन क्षेत्रका उद्यम–व्यवसाय पुनरुत्थानका लागि चालू पुँजी कर्जा, सहुलियतपूर्ण कर्जा र पुनर्कर्जा प्रवाहमा प्राथमिकता दिइएकोे जानकारी पनि राष्ट्र बैंकले दिएको छ । सहुलियतपूर्ण कर्जा प्रवाहमा प्रदेशगत सन्तुलन कायम गर्न र यस्तो कर्जामा लक्षित क्षेत्र र वर्गको पहुँच सुनिश्चित गर्न कृषि तथा पशुपक्षी कर्जाबाहेकका कार्यविधिमा उल्लिखित अन्य कर्जाहरूमा ग्रामीण इलाकालाई प्राथमिकतामा राखी २०७८ असार मसान्तसम्ममा वाणिज्य बैंकले पाँच सय वा न्यूनतम प्रतिशाखा १० तथा राष्ट्रियस्तरका विकास बैंकले तीन सय वा न्यूनतम प्रतिशाखा पाँचमध्ये जुन बढी हुन्छ, सोहीबमोजिमको संख्यामा सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्नेछ । राष्ट्रियस्तरबाहेकका विकास बैंक तथा वित्त कम्पनीहरूले क्रमशः न्यूनतम दुई सय र एक सय सहुलियतपूर्ण कर्जा प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तसम्ममा २७ वटा वााणिज्य बैकहरूको चार हजार पाँच सय १४, क्षेत्रीय तथा राष्ट्रियस्तरका समेत गरी १९ वटा विकास बैंकहरूको एक हजार २३, २१ वटा फाइनान्स कम्पनीहरूको दुई सय ४९ र ७८ वटा लघुवित्त वित्तीय संस्थाहरूको चार हजार एक सय १७ सहित कुल नौ हजार नौ सय तीनवटा शाखाहरू सञ्चालनमा रहेका छन् । चालू आवको असोज मसान्तसम्ममा ४१ हजार छ सय १८ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई ७२ अर्ब ४७ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपक्षी व्यवसाय कर्जाअन्तर्गत २७ हजार तीन सय ६९ ऋणीलाई प्रवाह भएको ६१ अर्ब २५ करोड र सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत १४ हजार दुई सय ४९ ऋणीको ११ अर्ब २२ करोड कर्जा बक्यौता रहेको राष्ट्र बैंकले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया