Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचार९४ प्रतिशत कोरोनामुक्त

९४ प्रतिशत कोरोनामुक्त


काठमाडौं ।
नेपालमा कोरोना संक्रमितमध्ये निको हुनेको दर अधिक रहेको देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमितमध्ये ९४ दशमलव तीन प्रतिशतमा कोरोना निको भएर घर फर्किएका छन् । बुधबार सङ्क्रमणमुक्त भएका एक हजार ४ सय ८३ समेत गरी दुई लाख ३० हजार ५ सय ३७ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । जम्मा सङ्क्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६८ प्रतिशत हो । यो सङ्ख्या प्रति १० लाख पोजिटिभमा ५६ दशमलव पाँच छ । बुधबार थपिएका सङ्क्रमितमध्ये पुरुष ६ सय ७० र महिला ३ सय ८६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

बुधबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ८ सय ९६ रहेको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । योसँगै जम्मा सङ्क्रमितको सङ्ख्या दुई लाख ४४ हजार ४ सय ३३ पुगेको छ । देशभरमा ३ सय ३० सङ्क्रमित आईसीयूमा रहेका छन् ।

प्रदेश नं. १ मा ३९, प्रदेश नं २ मा सात, वाग्मती प्रदेशमा १ सय २४, गण्डकी प्रदेशमा ९८ र लुम्बिनी प्रदेशमा ५०, कर्णाली प्रदेशमा पाँच र सुदूरपश्चिम प्रदेशमा सात सङ्क्रमित आईसीयूमा रहेका छन् । त्यस्तै प्रदेश नं १ मा पाँच, वाग्मती प्रदेशमा ३५, गण्डकी प्रदेशमा नौ, लुम्बिनी प्रदेशमा चार, कर्णाली प्रदेशमा दुई र सुदूरपश्चिम प्रदेशमा दुई गरी जम्मा ५७ सङ्क्रमित भेन्टिलेटरमा रहेका छन् ।

सक्रिय सङ्क्रमितमध्ये हाल सात हजार ६ सय ९ होम आइसोलेसनमा छन् । प्रदेशअनुसार होम आइसोलेसनमा रहनेको सङ्ख्या प्रदेश नं १ मा एक हजार २३, प्रदेश नं २ मा १ सय ५१, वाग्मती प्रदेशमा चार हजार ४ सय २९, गण्डकी प्रदेशमा २ सय ३६, लुम्बिनी प्रदेशमा ९ सय ८५, कर्णाली प्रदेशमा ७७ र सुदूरपश्चिम प्रदेशमा ७ सय ८ रहेका छन् ।

काठमाडौँ उपत्यकामा ४ सय ९६ सङ्क्रमित थप भएका छन् । जसमध्ये २ सय ८८ पुरुष र २ सय १४ महिला छन् । उपत्यकामा हाल काठमाडौँमा चार हजार ७ सय ८१, ललितपुर ९ सय ४० र भक्तपुरका ४ सय ५३ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी छ हजार २ सय ८६ नमूना परीक्षण गरिएको थियो । हालसम्म १८ लाख पाँच हजार ९ सय ७२ नमूना परीक्षण भइसकेका छन् । प्रति १० लाख जनसङ्ख्यामा ६१ हजार ८ सय ८९ परीक्षण भएको बताइएको छ ।

हालसम्म पीसीआर परीक्षणमध्ये सङ्क्रमण दर १३ दशमलव पाँच प्रतिशत छ । बुधबारसम्म देशभरका ७७ जिल्लामध्ये छ जिल्लामा सङ्क्रमित ५ सय बढी छन् भने मनाङ र डोल्पामा शून्य छ । पाँच सयभन्दा बढी सङ्क्रमित रहेका जिल्लामा काठमाडौँ, ललितपुर र कास्की रहेका छन् । पछिल्लो २४ घण्टामा कोभिडका कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६ सय ५१ पुगेको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोभिड–१९ का शङ्कास्पद ४ सय ९३ को नमूना परीक्षण गरिँदा १ सय २४ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा कैलाली, कञ्चनपुर, अछाम, बैतडी, बाजुरा र डडेल्धुराका छन् । यस्तै, प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ८७ जना कोरोना सङ्क्रमित थपिएका छन् । उक्त अवधिमा गरिएको ५ सय ८७ को पीसीआर परीक्षणमा २८ महिला र ५९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया