Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोभिड खोप प्रयोगको खबरसँगै राहदानी लिने बढे

कोभिड खोप प्रयोगको खबरसँगै राहदानी लिने बढे


काठमाडौं ।
कोभिड १९ को खोपको प्रयोग भएको खबर सार्वजनिक भएसँगै मानिसहरूको चहलपहल बढ्नथालेको छ । यही क्रममा नेपाली नागरिकहरू पनि काम गर्न, पढ्न र व्यवसायका लागि देशका विभिन्न भाग तथा विदेश जानथालेका छन् । पछिल्ला दिनमा विभिन्न प्रयोजनमा राहदानी लिने युवाहरूको संख्या बढेको राहदानी विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता राजेन्द्र पाण्डेले पछिल्लो समय राहदानी लिने सर्वसाधारणको संख्या बढेको बताए ।

‘सरकारले गरेको बन्दाबन्दीमा दैनिक दुई सयदेखि पाँच सयको संख्यामा पासपोर्ट वितरण गर्ने गरेकोमा हाल सो संख्यामा वृद्धि आएको छ’, उनले आर्थिक दैनिकसँग भने, ‘अहिले पासपोर्ट बनाउनेमा वैदेशिक रोजगारीमा जाने, विदेश पढ्न जाने विद्यार्थी र सीमित व्यापारीहरू रहेका छन् । हाल दैनिक करिब ११ सयदेखि १२ सयको संख्यामा पासपोर्ट वितरण गर्ने गरेको तथा सोही संख्यामा पासपोर्ट लिन आउने गरेका छन् ।’

प्रवक्ता पाण्डेले यसरी पासपोर्ट लिन आउनेमा ९० प्रतिशत वैदेशिक रोजगारीमा जाने, ७÷८ प्रतिशत विद्यार्थी र २/३ प्रतिशत व्यापारी व्यावसायिक कामका लागि विदेश जानको लागि भन्दै राहदानी लिन आउने गरेको बताउँदै यातायात खुल्ला गरेसँगै पासपोर्ट लिन आउने नागरिकको संख्या बढेको बताए ।

यस्तै घुमघाम, भेटघाटलगायतका प्रयोजनको लागि भने पासपोर्ट लिन आउनेको संख्या भने अत्यन्त न्यून रहेको बताइएको छ । विभागका अनुसार विशेष गरी सरकारले डाइभर्सिटी भिसा (डीभी) खुल्ला गरेसँगै पासपोर्ट बनाउने नागरिकको संख्यामा वृद्धि भएको हो । ‘पछिल्लो समय डीभी खुल्ला गरेसँगै पासपोर्ट बनाउने सर्वसाधारण बढेका थिए’, उनले भने, ‘हामीले सरकारले गरेको बन्दाबन्दी तथा अहिले पनि निरन्तर सेवा प्रदान गरेको हुँदा नागरिकहरू दिनहुँजस्तो पासपोर्ट लिन आउने गरेका छन् ।’

कार्यालयले सबैभन्दा कम पासपोर्ट वितरण भने सरकारले गरेको दोस्रो पटकको बन्दाबन्दीमा गरेको बताए । ‘बन्दाबन्दीमा कार्यालय खुल्ला थियो भने दैनिक करिब करिब दुई सय जनादेखि पाँच सय जना पासपोर्ट लिने आउने गर्थे’, प्रवक्ता पाण्डेले भने, ‘सबैभन्दा कम भने दोस्रो पटकको बन्दाबन्दीको समयमा पासपोर्ट वितरण गरेको हो ।’

मुलुकभित्र रोजगारी नभएपछि विदेश काम गर्न जाने युवाको संख्या बढेको वैदेशिक रोजगार विभागले जनाएको छ भने सोहीअनुरुप पासपोर्ट लिने युवाको संख्या बढेको हो । विभागका सूचना अधिकारी टीकामणि नेउपानेले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा २० हजार ५ सय ६८ जना युवाहरूले विदेश जानको लागि भन्दै श्रम स्वीकृति लिएको बताए । चार महिनामध्ये सबैभन्दा बढी असोज महिनामा आठ हजार ९७ जना युवाले श्रम स्वीकृति लिएको उनको भनाइ छ ।

राहदानी वितरण कार्य विभागका अतिरिक्त ७७ वटै जिल्ला प्रशासन कार्यालय तथा १९ वटा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट पासपोर्ट वितरण गर्ने गरेको पाइन्छ । यस्तै हालसम्म मेसिन रिडेबल पासपोर्ट (एमआरपी) वितरण गरिरहेको विभागले चालू आर्थिक वर्षबाट विद्युतीय राहदानी वितरण गर्ने उद्देश्य राखेको छ । विद्युतीय राहदानी लागू भई नेपाली राहदानको गुणस्तर तथा विश्वसनीयतामा वृद्धि हुने अपेक्षासहित इ–पासपोर्ट वितरण गर्ने उद्देश्य राखेको विभागका अधिकारीहरूको भनाइ छ भने विभागले तीन वर्षमा २० लाख इ–पासपोर्ट छाप्ने बताउँदै आएको छ ।

महिला, पुरुष र अन्य गरेर विभागले हालसम्म ६३ लाखभन्दा बढी पासपोर्ट वितरण गरिसकेको छ भने गत आवमा मात्रै तीन लाख ९८ हजारभन्दा बढी पासपोर्ट उसले वितरण गरेको हो । नयाँ पासपोर्ट लिनको लागि दश वर्षमुनिकाको हकमा पाँच हजार रुपैयाँदेखि १० हजारसम्म र दश वर्षमाथिका सबैको हकमा भने १० हजार रुपैयाँदेखि १५ हजार रुपैयाँ दस्तुर लाग्नेछ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया