Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधजुँगु स्वास्थ्यचौकी भवन प्रयोगमा आउन सकेन

जुँगु स्वास्थ्यचौकी भवन प्रयोगमा आउन सकेन


दोलखा ।
दोलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर २ मा बनेको स्वास्थ्य चौकी भवन गुणस्तरहीन बनेको भन्दै निर्माण सम्पन्न भएको छ महिना बितिसक्दा पनि प्रयोगमा आउन सकेको छैन । गत भदौमा नवनिर्मित भवनको गुणस्तरमाथि प्रश्न उठेपछि गौरीशंकर गाउँपालिकाले भवनको अनुगमन गरेर भवनमा देखिएको त्रुटि सुधार गर्न निर्देश दिए पनि भवन निर्माण समितिका ठेकेदारले भवन मर्मत तथा सुधारमा कुनै चासो नदेखाएको स्थानीयले बताएका छन् ।

भवन निर्माण समितिले निर्माण सम्पन्न भएको भवनमा अहिले ताल्चा लगाएर राखेको सोही गाउँका स्थानीय भीष्मप्रकाश खड्काले जानकारी दिए । स्थानीय खड्काअनुसार करिब तीन महिना अघि लगाएको रङ चिरा परेर फुट्न थालेको छ । ८० लाख लागतमा निर्मित भवनमा देखिएका प्राविधिक समस्या तथा बनाउन बाँकी रहेको भवनको पेटिको काम अझै नसकिएकाले स्वास्थ्य चौकीलाई भवन हस्तान्तरण हुन नसकेको सोही वडाकी स्वास्थ्य इन्चार्ज इन्दिरा खड्काले जानकारी दिइन् ।

गाउँपालिकाको सरकारी टोलीले अनुगमन गर्दा भवनको काम नसकिएको र प्राबिधिक रूपमा देखिएका कमजोरीहरु सुधार गर्ने सर्तमा गत भदौमा भवन निर्माण समितिका ठेकेदारलाई तत्काल भवनका कमजोरी सुधार गर्न निर्देश दिएको थियो । निर्माण कम्पनीले गाउँपालिकाको निर्देशनअनुसार काम सकाएर हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएपनी अहिलेसम्म भवन हस्तान्तरण हुन् नसकेको स्थानीयले बताएका छन् ।

भवनको फिनिसिङ गर्न, भवन अगाडि पछाडि र दायाँबायाँ पेटी, वाल लगाउन बाँकी रहेको छ । भवन निर्माणको काम बाँकी रहे पनि प्रदेश सरकार र गाउँपालिकाले लागत रकम भुक्तानी दिसकेको छ । स्वास्थ्य चौकी भवन निर्माणको लागि वाग्मती सरकारको ५० लाख र गाउँपालिका ३० लाख रकम उपलब्ध गराएको थियो ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया