Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारसय शक्तिशाली महिलामध्ये १२ जना अर्बपति पनि

सय शक्तिशाली महिलामध्ये १२ जना अर्बपति पनि


अमेरिका ।
चर्चित म्यागजिन फोब्र्सले विश्वका सय शक्तिशाली महिलाहरुको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा १२ जना अर्बपति महिला पनि अटाएका छन् । उनीहरुको कुल सम्पत्ति १ खर्ब ५० अर्ब ४० करोड अमेरिकी डलर रहेको बताइएको छ । यद्यपि उनीहरु पैसा भएकै आधारमा सूचीमा समावेश नभएको फोब्र्सले जनाएको छ । उनीहरु नेतृत्वक्षमता र लगनशीलताको दृष्टिले शक्तिशाली साबित भएका हुन् ।

उक्त १२ महिलाहरुमध्ये ५९ अर्ब डलरदेखि १ अर्ब डलर सम्पत्ति भएकाहरु छन् । यो सूचीमा फेसबुककी सीओओ शेरल स्यान्डबर्ग, होटल शिलाकी सीईओ तथा अध्यक्ष लि बु जिन र संस्थापकहरु झोउ क्युनफेई र किरण मजुमदार शालगायत रहेका छन् । क्युनफेईले लेन्स उत्पादक लेन्स टेक्नोलोजीको नेतृत्व गरेकी थिइन् भने मजुम्दारले बायोकन कम्पनी सुरु गरेकी थिइन् । जसले अहिले कोरोना महामारीविरुद्ध सहयोग गरिरहेको छ ।

त्यस्तै मिडिया क्षेत्रकी ओप्राह विन्फ्रे, ओरेकलकी सीईओ साफ्रा काट्ज र एपिक सिस्टमकी सीईओ तथा संस्थापक ज्युडिथ फल्कनर यी सबै आफ्नै बलबुतामा शक्तिशाली बनेका हुन्। अर्थात् उनीहरुले आफ्नै वा दाम्पत्य बलबुतामा सम्पत्ति जोड्न सफल भएका हुन् । त्यस्तै फिडेलिटी इन्भेष्टमेन्टकी सीईओ अबिगेल जोन्सन, एमर्सन कलेक्टिभकी संस्थापक तथा अध्यक्ष लाउरिन पवेल जब्स र समाजसेवी तथा लेखक म्याकेन्जी स्कटले भने परिवार, वैवाहिक सम्बन्धविच्छेदबाट सम्पत्तिमा हक जमाएका हुन् ।

उनीहरुले जसरी सम्पत्तिमा हक जमाए पनि यी सबै आफ्नो वैधानिक हकको प्रयोग गर्दै व्यवसाय, गैरनाफामूलक र समाजसेवाको क्षेत्रमा उदाएका हुन् । यसमध्ये स्कटले त आफ्नो आधा सम्पत्ति दानमै खर्चेकी छिन् । उनले १ अर्ब ७० करोड डलर विभिन्न ११६ संस्थालाई जातीय, एलजीबीटीक्यु (पुरुष र महिलाबाहेक अन्य लैंगिक प्रतिनिधित्व गर्ने समुदाय) र लैंगिक समानता, आर्थिक परिचालन, समानुभूति, प्रजातान्त्रिक क्रियाकलाप, सार्वजनिक स्वास्थ्य, विश्व विकास र जलवायु परिवर्तनको क्षेत्रमा सहयोग गर्न दान गरेकी हुन् ।

फोर्ब्सका अनुसार अबिगेल जोन्सन १५ अर्ब डलर सम्पत्तिकी मालिक हुन् भने साफ्रा काट्जसँग १.२ अर्ब डलर सम्पत्ति छ । त्यस्तै ओप्रा विन्फ्रेसँग २.६ अर्ब डलर, शेरल स्यान्डबर्गसँग १.८ अर्ब डलर, लाउरिन पवेल जब्ससँग २१.१ अर्ब डलर, जिना राइनहार्टसँग १६.७ अर्ब डलर, म्याकेन्जी स्कटसँग ५९.७ अर्ब डलर, किरण मजुम्दार शासँग ४.६ अर्ब डलर, झोउ क्युनफेईसँग १६.४ अर्ब डलर सम्पत्ति रहेको बताइएको छ । यस्तै, ज्युडिथ फल्कनरसँग ५.५ अर्ब डलर, लाम वाई यिंगसँग ३.९ अर्ब डलर, लि बु जिनसँग १.९ अर्ब डलर सम्पत्ति रहेको छ । उनीहरु विभिन्न देश र कम्पनीसँग सम्बन्धित रहेका छन् । उनीहरुको यो सम्पत्ति डिसेम्बर ७ सम्मको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया