Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसोलुखुम्बुमा करिब ८५ प्रतिशत पुनर्निर्माण सम्पन्न

सोलुखुम्बुमा करिब ८५ प्रतिशत पुनर्निर्माण सम्पन्न


सोलुखुम्बु ।
सोलुखुम्बुमा ८० प्रतिशतभन्दा बढी भूकम्पपछिको पुनर्निर्माणको काम सम्पन्न भएको छ । जिल्लाभित्र हालसम्म ८४ दशमलव ३२ प्रतिशत पुनर्निर्माण सम्पन्न भएको बताइएको छ । जिल्लामा १३ हजार पाँच सय ८६ घरपुनर्निर्माण लाभग्राही रहेकोमा ८४ दशमलव ३२ प्रतिशतले पुननिर्माण सकेर अन्तिम किस्ता बुझेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन कार्यालय सोलुखुम्बुका प्रमुख विमलप्रसाद बरालले जानकारी दिए । कार्यालयका अनुसार कुल लाभग्राहीमध्ये १० हजार चार सय छ घर परिवारले अन्तिम किस्ताको रकम बुझेका हुन् ।

त्यसैगरी पुनर्निर्माणतर्फ १२ हजार ९१ तथा प्रबलीकरणतर्फ एक हजार ७३ लाभग्राहीले पहिलो किस्ता बुझेका छन् । सरकारले भूकम्प प्रभावितहरूलाई निजी आवास पुनर्निर्माणका लागि प्रतिपरिवार तीन लाख रूपैयाँ उपलब्ध गराउँदै आएको छ । तीमध्ये पहिलो किस्ता ५० हजार रूपैयाँ, दोस्रो किस्ता १ लाख ५० हजार रूपैयाँ र तेस्रो किस्ता एक लाख गरी तीन लाख रूपैयाँ दिने गरेको छ । १२ सय ४५ लाभग्राही रहेको प्रवलीकरणतर्फ एक हजार ७३ परिवाले पहिलो किस्ताबापतको ५० हजार रकम बुझेको बताइएको छ । यसैबीच ओखलढुंगामा ७४ प्रतिशत पुनर्निर्माण कार्य सम्पन्न भएको छ ।

जिल्लामा २७ हजार पाँच सय २८ लाभग्राही रहेकोमा हालसम्म ७४ प्रतिशत अर्थात् २० हजार तीन सय ६३ परिवाले तेस्रो किस्ताको रकम बुझी सकेको बताएको छ । सम्पूर्ण लाभग्राहीमध्ये ९५ प्रतिशतले पहिलो किस्ताबापतको अनुदान बुझेको कार्यालयका सूचना अधिकारी झलक कार्कीले जानकारी दिए । यस्तै दोस्रो किस्ताबापतको अनुदान ६६ प्रतिशतले लिएका छन् । यस्तै प्रबलीकरणतर्फका २६ सय २८ परिवार रहेकामा १३ सय ६६ लाभग्राहीले रकम बुझ्न बाँकी रहेको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय ओखलढुंगाले जनाएको छ ।

यता तत्कालीन माथिल्लो सगरमाथको अर्को जिल्ला खोटाङमा भने ७५ प्रशित पुनर्निर्माण सकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालय खोटाङले जनाएको छ । बाँकी २५ प्रतिशत सम्झौताको अन्तिम चरणमा रहेको कार्यालयका सूचना अधिकारी मनिराम ढकालले जानकारी दिए । जिल्लामा कुल लाभग्राही १० हजार दुई सय ८१ रहेकोमा ९२ दशमलव ९१ प्रतिशतले पहिलो किस्ता, ८१ दशमलव १६ प्रतिशतले दोस्रो र ७४ दशमलव ७५ प्रतिशतले तेस्रो तथा अन्तिम किस्ता लिएका छन् । साथै प्रबलीकरणतर्फ नौ सय ७१ लाभग्राही रहेकोमा ५० प्रतिशतले पहिलो किस्ताबापतको अनुदान बुझेका छन् ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया