कसरी आउँछन् २० लाख पर्यटक ?
विश्वनाथ खरेल
नेपाल प्राकृतिक सुन्दरताको हिसाबले विश्वकै उत्कृष्ट देशमध्ये एक हो । संसारमा सबैभन्दा ठूलो व्यवसाय तेलको कारोबारलाई मानिन्थ्यो तर यसलाई अहिले पर्यटन व्यवसायले उछिनेको छ । त्यसैगरी हाम्रो देशको कुरा गर्ने हो भने कृषि, पर्यटन र जलस्रोत नै आयआर्जन गर्ने मुख्य व्यवसायको रूपमा परिचित रहेको छ । आज सबैभन्दा खुशीको कुरा पर्यटनका कतिपय क्षेत्रमा कुनै खर्च नै नगरी पर्यटकबाट पैसा कमाउन सकिन्छ ।
मुलुकमा विद्यमान हिमाल, पहाड, तराई, मैदान, उपत्यका, झरना, मेला, चाडपर्व तथा धार्मिक तथा सांस्कृतिक धरोहरहरू देखाएमा मात्र पनि पर्यटकले पैसा दिन्छन् । हाम्रो देशमा रहेको संसारको सबैभन्दा अग्लो सगरमाथा र भगवान बुद्धको जन्मस्थानका कारण विश्वका हरेक देशबाट नेपालमा घुम्न आउनेको घुइँचो लाग्ने गर्दछ । यी विविध कारणहरूले गर्दा राष्ट्रमा आर्थिक विकासमा पर्यटन पनि एक मुख्य स्रोतको रूपमा रहेको छ । देशको बाह्य विश्वसँग आफ्नो निर्यात व्यापार नहुँदा र नेपालीहरू विभिन्न देशमा गएर रेमिट्यान्स आर्जन नगर्दासम्म पर्यटन नै वैदेशिक मुद्रा आर्जनको प्रमुख स्रोतको रूपमा रहेको थियो ।
हाल पनि पर्यटनले देशको कुल गार्हस्थ्य उत्पादनमा तीनदेखि चार प्रतिशत योगदान गरिरहेको छ । पर्यटन क्षेत्रको वास्तविक विकास गर्ने हो भने योभन्दा बढी विदेशी मुद्रा आर्जन गर्न सकिने प्रवल सम्भावना छ । सन् १९६० को दशकमा सुरु भएको मुलुकको पर्यटन क्षेत्र अझै उद्योगको रूपमा विस्तारित हुन नसक्नु यस क्षेत्रको ठूलो समस्या हो । देशमा आउने पर्यटकको संख्यामा मात्र वृद्धि गरिएर हुँदैन । उनीहरूको संख्याको साथै खर्चमा वृद्धि गर्ने वातावरण नबढेसम्म पर्यटक आगमनले कुनै आर्थिक लाभ प्राप्त हुन सक्दैन ।
देशमा के–कसरी बढीभन्दा बढी पर्यटक भित्र्याउने भन्ने विषयमा नीति निर्मातादेखि पर्यटन व्यवसायीहरूको ध्यान जानुपर्छ । ती पर्यटकहरू गुणस्तरीय हुन कि हैनन, तिनको खर्च गर्ने क्षमता के–कस्तो छ भन्ने विषयमा कमै मात्र ध्यान पु-याइएकाले संख्या बढे पनि देशले पर्यटन क्षेत्रबाट गर्ने आयमा खासै वृद्धि हुन सकेको छैन । अतः एक दिनमा १० डलर पनि खर्च नगर्ने पर्यटकबाट नेपालजस्तो गन्तव्यले के आशा गर्ने र अर्कोतिर पर्यटकहरू बसाइ अवधि पनि बढाउनेतर्फ अग्रसर हुनुपर्ने देखिन्छ ।
सर्वप्रथम नेपालले सन् १९९८ मा प्रथम भ्रमण वर्ष मनाएको थियो । त्यो भ्रमण वर्ष मनाउँदा पाँच लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको थियो । त्यस्तैगरी दोस्रो भ्रमण वर्ष २०११ मनाइयो । यसमा १० लाख पर्यटकहरू भित्र्याउने लक्ष्य राखिएको थियो । यी दुवै भ्रमण वर्षहरूमा राखिएको लक्ष्यअनुरूप प्रगति हुन सकेको थिएन । त्यसैगरी अहिले तेस्रो ‘नेपाल भ्रमण वर्ष २०२०’ राखिएको छ । यसको लक्ष्य भने नेपालमा २० लाख पर्यटक भित्र्याउने राखिएको छ ।
हाम्रो देशको आर्थिक उन्नतिका लागि पर्यटन विकास अपरिहार्य हो र यसलाई अघि बढाउन एक ढिका भई सहभागिता पनि उत्तिकै खाँचोको महसुस गरिएको छ । यसर्थ अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपालको व्यापक प्रचारप्रसार गरिनुका साथै भ्रमण वर्ष २०२० लाई सार्थक तुल्याउन नेपाल सरकार मातहतका सम्पूर्ण मन्त्रालयहरूबीच एक–अर्कोमा समन्वयात्मक सहयोगको भावनाले ओतप्रोत हुनु आवश्यक छ । सन् २०१८ मा नेपाल आउने कुल पर्यटकको संख्या ११ लाख ७३ हजार ७२ रहेको र तिनको नेपालमा औसत बसाइ १२ दशमलव ४ दिन मात्र रहेको पाइन्छ । तर, नेपालमा पर्यटकहरूको औसत बसाइमा भने कुनै उल्लेख्य वृद्धि भएको छैन । बरु पर्यटकहरूले सन् २०१८ अघि औसतमा ४५ अमेरिकी डलर खर्च गर्थे भने त्यो घटेर ४२ अमेरिकी डलरमा झरेको पाइन्छ ।
सन् २०२० ले घण्टी बजाउन थालिसक्यो । यसको साथसाथै पूर्वतयारीलाई नियाल्दा अझै पनि सरकारले यसो गरिने र उसो गरिने भनेर भाषणहरू गर्न पनि छोडिएको छैन । यी विविध कारणहरूको अस्तव्यस्ततालाई नियाल्दा भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन सक्ने विषयमा भने ढुक्क हुने कुनै ठोस आधार देखिन्न । यसको लागि सरकारले गर्नुपर्ने धेरै कार्यहरू थिए । त्यो हुन नसकेको कुरा सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइमा आएको पाइन्छ ।
अन्त्यमा भन्नुपर्दा पर्यटन वर्ष मनाउने कार्य संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालय, पर्यटन विभाग, पर्यटन विकास बोर्ड, पर्यटन व्यवसायी र नेपाल भ्रमण वर्ष तयारी समितिको हो भनेर पन्छाउने विषय नै होइन । यो काम भनेको सम्पूर्ण नेपालीहरूको पनि हो भन्ने कुरालाई मनन गरेर आ–आफ्नो क्षेत्रबाट जसले जे–जति योगदान गर्न सकिन्छ गर्नुपर्ने हुन्छ । यसमा सहभागी भई कसैले पेइङ गेस्ट, विभिन्न ग्रामीण क्षेत्रहरूमा होमस्टे पनि व्यवस्था गर्नुपर्ने हुन्छ ।
कसैले सफासुग्घर अभियान चलाऊँ, कसैले आफ्नो कामबाट केही फुर्सद निकालेर आएका पाहुनालाई देशको संस्कृति, धर्म, चाडवाड, परम्पराका बारेमा राम्रोसँग बुझाऊँ, कसैले आफ्नै घरमा सिजनलरूपमा नै भए पनि थप कोठा वा सुत्ने स्थानको स्पेस बनाई कम्तीमा एक दिनको लागि निःशुल्क खाने बस्ने व्यवस्था मिलाऊँ । यी र यस्तै प्रयासबाट पर्यटकहरूको आगमनलाई हौसला प्रदान गर्दछ । जसले गर्दा पर्यटकहरूको संख्यामा वृद्धि हुने आशा गर्न सकिन्छ ।
पर्यटन बोर्डका अनुसार गत वर्ष झण्डै १२ लाख पर्यटकहरू विभिन्न उद्देश्य लिएर घुम्न आएका थिए । यसर्थ एक जना पर्यटक नेपाल घुम्न आउँदा १० जना नेपालीहरूले काम पउने एक अध्ययनले जनाएको छ । यदि गुणस्तरीय पर्यटक नआएका हुन् भने त्यस्ता खालका पर्यटक बढीभन्दा बढी भित्र्याउनका लागि आवश्यक राष्ट्रिय रणनीति बनाउनु आवश्यक भइसकेको छ । नेपाल भ्रमणका लागि आउने पर्यटकहरूले कुन क्षेत्रका र कुन उत्पादनमा बढी खर्च गर्छन् भन्ने विषयमा अहिलेसम्म अध्ययन र विश्लेषण नै भएको छैन् । उदाहरणका लागि दक्षिण भारतीयहरू नेपालमा बढी खर्च गर्ने पर्यटकका रूपमा चिनिन्छन् ।
विश्वभरि नै खर्चालु भनेर चिनिएका चिनियाँ पर्यटक नेपालमा भने कम खर्च गर्नेमध्येमा पर्छन् । उनीहरूले कम खर्च गर्नुका कारण यी पर्यटकले गर्ने किनमेलका वस्तु नेपालमा नहुनु नै हो । यसकारण गर्दा उनीहरूलाई मनपर्ने खालका विभिन्न किनमेलका सामानहरू उपलब्ध गराउनेतर्फ संवेदनशील बन्नै पर्छ । यसर्थ भारतीय पर्यटकले नेपालको पर्यटक आगमनमा एक चौथाइ हिस्सा ओगट्छन् । पर्यटन व्यवसाय सबैभन्दा संवेदनशील हुन्छ । यिनीहरूको लागि नभइनहुने न्यूनतम पूर्वाधारहरूमा गाँस, बास, हवाई यातायात, सडक, सडकमा चल्ने थरीथरीका सवारी साधन, रेलमार्ग एवं रेल, तिनको नियमितता र विनारोकटोक आवतजावत, होटल, लज, असल बानीबेहोरा भएका गृहस्थी मानिस, पाहुनाको असल स्वागत सत्कार, निपूर्ण पथप्रदर्शक, शान्तिसुरक्षा हुनु पनि नितान्त जरुरी छ ।
अतः ‘नेपाल भ्रमण वर्ष २०२०’ को कार्यक्रमलाई सफल बनाउन हो भने पर्यटकसँग चन्दा उठाउन बन्द गर्ने, लुट्ने, बन्द हड्ताललगायत विविध किसिमका गलत व्यवहार गर्ने कामहरू पूर्णरूपमा बन्द हुनुपर्छ । यसको लागि सरकार, विभिन्न राजनीतिक पार्टीहरू, संघसंगठनहरू, जनता सबै मिलेर एक–आपसमा सहयोग, समन्वय, प्रतिबद्धताको मात्र खाँचो रहेको छ ।
क्याटेगोरी : विचार / ब्लग
तपाईको प्रतिक्रिया
ताजा अपडेट
- लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत
- एमाले सांसद लीलाबल्लभ राखेकै कोठामा रास्वपा सभापती रविलाई राखियो
- गृह मन्त्रालयले गर्यो १२ उपसचिवहरुको सरुवा
- प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणमा ८७ सदस्यीय टोली सहभागी हुने
- भ्रष्टाचार मुद्दामा विकल पौडेल र सफल श्रेष्ठलाई ८ वर्ष कैद,३ करोड बढी बिगो जरिवाना
- अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता
- वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी
- रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
[…] : https://www.aarthikdainik.com/view/2732/ १७ पुष २०७६, बिहीबार […]