Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालहुलाकी सडकमा ठेकेदारको लापरबाहीले समयमै काम सकिएन

हुलाकी सडकमा ठेकेदारको लापरबाहीले समयमै काम सकिएन


कञ्चनपुर ।
कञ्चनपुरमा हुलाकी राजमार्ग सडक निर्माण गर्ने म्याद सम्झौताअवधिभित्रै राजमार्ग निर्माणको जिम्मा पाएका दुवै कम्पनीले अझै काम गर्न सकेका छैनन् । पहिलो पटक निर्माण कम्पनी र हुलाकी राजमार्ग आयोजनाबीच ३० महिनाभित्रै काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर ४५ महिनासम्म पनि काम सम्पन्न हुन सकेको छैन ।

तीन फेजमा ठेक्का भएको सडक पहिलो र तेस्रो फेज शर्माजेभी निर्माण कम्पनी र दोस्रो फेज बाबाहंससिद्धिकीले निर्माणको ठेक्का पाएका थिए । सडक निर्माण कम्पनीद्वय बाबाहंससिद्धिकी र शर्मा जेभी निर्माण कम्पनीले कालोपत्रेको काम हालसम्म सम्पन्न गर्न सकेका छैनन् । २०७३ फागुन १ मा ३० महिनाभित्रै ६२ किलोमिटर सडक निर्माणका लागि दुवै कम्पनीले आयोजनासँग सम्झौता गरेका थिए । ३० भदौँ ०७६ मा पहिलो पटक सम्झौता गरिएको म्याद सकिएर फेरि ८ महिना थप गरेर २०७६ चैत्रसम्म म्याद थप गरियो ।

पहिलो पटक म्याद सकिएर थप गएको अवधिमा समेत काम गर्न नसकेपछि फेरि दुवै कम्पनीले ८ र ४ महिना म्याद थप गरेका छन् । ०७७ वैशाखदेखि पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले ४ महिना र दोस्रो फेजको बाबाहंससिद्धिकी ८ महिना थप गरे पनि हालसम्म काम सकेका छैनन् । म्याद सकिएको दुई पटक थप हुँदा पनि काम नसकेर हुलाकी राजमार्गको काम अलपत्र परेका छन । पहिलो र तेस्रो फेजको काम पाएको शर्माजेभी निर्माण कम्पनीले दोस्रो पटक म्याद सकिएको चार महिनासम्म पनि काम नसकेर फेरि म्याद थपका लागि फाइल पठाएको छ । भने, दोस्रो फेज बाबाहंससिद्धिकीको ०७७ मंसिर मसान्तमा काम सकिँदै छ । ‘दुवै कम्पनीले म्याद थपका लागि फाईल पठाएका छन, ‘हुलाकी राजमार्ग आयोजना कम्पनीका इन्जिनियर एव प्रवक्ता पदम मडैले भने, ‘९औँ संशोधनबाट उहाँहरू पर्नुभएन, अब अर्को निर्णय पर्खिरहेका छौँ ।’

निर्माण कम्पनीले सम्झौता गरेको ४५ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रिँदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयर समेत भत्किँदै छ । डोकेबजार–पुनर्वास–बेलौरी–बेलडाँडी हुँदै दैजी महेन्द्र राजमार्गसम्म जोड्ने हुलाकी राजमार्ग समयमै निर्माण नहुँदा स्थानीयहरू धुलाम्मे सडकले सास्ती भोगी रहेका छन् । कुल एक अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौताअनुरूप चालू आर्थिक वर्ष २०७७/०७८ सम्म ६९ करोड भुक्तानी गरिएको छ ।

पहिलो फेज ३५ करोडमा गरिएको सम्झौता २४ करोड भुक्तानी, दोस्रो ४१मा २२ करोड र तेस्रो ४१ करोडमा २२ करोड रूपैयामा सम्झौता गरिएको भएपछि सम्झौता अनुरूप काम भएको छैन । हुलाकी राजमार्ग आयोजना कार्यालयले कुल ६२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा पाएका दुवै कम्पनीले ६८ प्रतिशत काम गरेको र ५० प्रतिशत भुक्तानी पाइकसेको जनाएको छ ।

हुलाकी राजमार्ग आयोजना कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पदम मडैले सालाखाला ६८ प्रतिशत काम सम्पन्न भइसकेको बताए । उनका अनुसार बेसदेखि कालोपत्रेको काम भइसकेको छ । ‘पहिलो फेजमा साढे ७ किलोमिटर कालोपत्रे निर्माण सम्पन्न भइसकेको छ, ‘उनले भने, ‘केही दिनमै १० किलोमिटर कालोपत्रेको तयारीमा छौँ, बाँकी ३ किलोमिटर हिउँदपछि गछौँ ।’ पहिलो फेजको ६२ प्रतिशत प्रगति भइसकेको उनले बताए ।

दोस्रो फेजमा ३ किलोमिटर सडक कालोपत्रे र बाँकी बेस निर्माण भइसकेको बताउँदै उनले सो फेजको ६५ प्रतिशत प्रगति भएको बताउदै १७ किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको बताए । तेस्रो फेजमा ३ किलोमिटर सडक कालापत्रे र बाँकी बेस निर्माण कार्य सकिएको बताउँदै उनले लगत्तै कालोपत्रे गरिने बताए । सो फेजको ७० प्रतिशत काम सम्पन्न भइसकेको छ । ‘कार्य प्रगति केबल कालोपत्रे मात्रै होइन, ‘सो कार्यसम्मका सबै चरण सक्नुपर्ने हुन्छ, ‘उनले भने, ‘बाँकी काम अब कालोपत्रे मात्रै बाँकी हो ।’

बाबाहंससिद्धिकीका सञ्चालक चक्र शाहीले बेलौरी नगरपालिका ८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारण काम ढिलाइ भइरहेको बताउँदै आएका छन् । भारतीय पक्षले सो क्षेत्रको १२ सय मिटरमा मात्रै काम अवरोध गरे पनि बाँकी १८ लशमलव २ किलोमिटरमा अवरोध नभए पनि सो निर्माण कम्पनीले ढिलासुस्ती गर्दै आएको छ । शर्माजेभी निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्यादभित्रै काम नसकिएको बताए । उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक वर्ष काममा अवरोध गरिदिएको थियो । भने बेलडाँडी क्षेत्रको चार सय मिटर सिँचाइको जमीन विवाद, कोडिभका कारण ढिलासुस्ती भएको बताए । ‘यो आर्थिक वर्षभित्रै पूरै काम गछौँ, ‘उनले भने, ‘बेस बनिसकेको छ, अब कालोपत्रे गर्न मात्रै बाँकी हो ।’

हुलाकी राजमार्ग आयोजनाले उक्त सडक शून्यदेखि २० किलोमिटर, २० देखि ४० र ४० देखि ६२ किलोमिटर सडक तीन चरणमा कालोपत्रे गर्ने ठेक्का दिएको थियो । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले वषौँदेखि कच्ची सडकमा जोखिमपूर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । बेलौरी क्षेत्रका स्थानीयले सडक कालोपत्रेमा बदमासी गरेको भन्दै पोल पोलमा ठेकेदारका पोष्टर टाँसेर सकारात्मक विरोध गरेका थिए ।

बेल्डाँडीका स्थानीय युवा दिपेन्द्र सिंह धामीले दक्षिणी क्षेत्रको विकासमा कुनै पनि निकाय जिम्मेवार नबनेका कारण ढिलाइ भहेको बताए । ‘सरकारलाई वास्ता छैन्, ‘उनले भने, ‘ठेकेदारलाई कामको बोध छैन ।’ अर्का स्थानीय युवा चेतबहादुर शाहले ठेकेदारको लापरबाही कारण हुलाकी सडक निर्माणमा ढिलाइ भएको बताए । ‘सरकारले नै यो सडक निर्माण गर्न चाहेको छैन्, ‘उनले भने, ‘सडक निर्माणमा सरकारी कार्यालय शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले यसअघि किन अवरोध गरेको थियो ।’ उनले सडक कालोपत्रे नहुन्जेलसम्मका दैनिक पानी छर्किनसमेत आग्रह गरेर आन्दोलन रोकिएको बताए ।

बेलौरीका स्थानीय सुरेन्द्र जोशीले निर्माण कम्पनीको लापरबाहीका कारण कञ्चनपुरमा हुलाकी सडक निर्माणमा ढिलाइ भएको बताए । ‘सडक निर्माणमा ठेकेदारबाट सरासर गलत भएको छ, ‘उनले भने, ‘सरकारले दिएको जिम्मेवारी पूरा नगर्ने आलटाल गर्ने ठेकेदारले सडक निर्माणमा चासो दिएन् ।’ विकास निर्माणमा राजनीति गर्न नहुँने उनको तर्क छ । पुनर्वासका स्थानीय अगुवा दिपक बिसीले ठेकेदार कम्पनीका कारण सडक विस्तारमा ढिलाइ भएको बताए । ‘गर्मी र हिउँदमा धुलैधुलाले सेताम्मे हुन्छौँ, ‘उनले भने, ‘वर्षातमा हिलैहिलाले माटाम्मे हुन्छौँ ।’

सडक स्तरोन्नति नभएका कारण यात्रा गर्न बेहाल हुने गरेको बताउँदै उनले काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्नेमा जोड दिए । हुलाकी राजमार्ग आयोजनाका सबइन्जिनियर वीरबहादुर कोलीले वर्षातमा काम गर्न नसकिने भएकाले काम रोक्नुपर्ने बताए । ‘पुनर्वास–बेलौरी र बेल्डाँडीमा काम भइरहेको छ, ‘उनले भने, ‘बेल्डाँडी दैजी सडकमा निकुञ्जका कारण ढिलाइ भएको हो ।’ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले हुलाकी राजमार्गको काम रोकेको थियो । निकुञ्जले ठेकेदारलाई काम नगर्ने मन भएपछि निकुञ्जलाई आरोप लगाउने गरेका छन् ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा ०७३ माघ पहिलो साता तत्कालीन भौतिक योजना तथा यातायात मन्त्री रमेश लेखकले हुलाकी राजमार्ग सडक निर्माणको शिलान्यास गरेका थिए । उखु उत्पादन वृद्धिका लागि बेलडाँडीका किसानलाई सिँचाइ सुविधा उखु उत्पादन वृद्धिका लागि कञ्चनपुर बेलडाँडी गाँउपालिका क्षेत्रका उखु किसानका खेतमा सिँचाइ व्यवस्थापन कार्यक्रम सुरु गरिएको छ ।

मुख्यमन्त्री नमुना कृषि गाँउ(उखु) कृषक समन्वय समितिले उखु उत्पादन वृद्धिका लागि किसानका खेतमा सिँचाइ व्यवस्थापन कार्यक्तम सुरु गरेको हो । चालू आर्थिक वर्ष ०७७/०७८ देखि उखु किसानको खेतमा डिप टुबेल जडान भइरहेको मुख्यमन्त्री नमुना कृषि गाँउ(उखु) कृषक समन्वय समितिका अध्यक्ष सुरेन्द्रबहादुर सिंहले बताए । अध्यक्ष सिंहका अनुसार आइतबार बेलडाँडी गाँउपालिका ३ खैरीघाटका उखु किसान शेरबहादुर विष्टको खेतमा उखुका लागि डिप टुबेल जडान गरिएको बताए । ‘हामीले यसवर्ष किसानको खेतमै सिँचाइका लागि डिपटुबेल जडान गरिहेका छौँ, ‘अध्यक्ष सिहले भने, ‘यस वर्षभित्रै २० किसानका खेतमा डिपटुबेल जडान गछौँ ।’

अन्तरबाली उखु (कात्तिके) प्रर्दशनी समेत गरिएको अध्यक्ष सिंहले बताए । उनका अनुसार उखुबालीसँगै तोरीलगायतको खेती समेत गरिएको छ । मुख्यमन्त्री नमूना कृषि कार्यक्रमबाट किसानहरूले अनुदान, तालिम, मेसिन पाएसँगै किसान उखुखेतीतर्फ उन्मुख भएको उनले बताए । अध्यक्ष सिंहका अनुसार बेलडाँडी गाँउपालिका १, ३, ४ वडामा मुख्यमन्त्री नमूना कृषि गाँउ(उखु) कार्यक्रम लागू भएसँगै स्थानीय किसान हर्षित भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरले बेलडाँडीमा मुख्यमन्त्री नमूना कृषि गाँउ(उखु) कृषक समन्वय समितिमार्फत किसान उत्प्रेरित भएर व्यावसायिकरूपमा उखुखेतीतर्फ आकर्षित भएका छन् । नगदे बालीका रूपमा रहेको उखुखेतीले स्थानीय किसानको आर्थिक उपार्जन समेत कृषि कार्यालयको अपेक्षा छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया