Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकांग्रेसद्वारा देशव्यापी प्रदर्शन

कांग्रेसद्वारा देशव्यापी प्रदर्शन


काठमाडौं ।
नेपाली कांग्रेसले सरकारविरुद्ध सोमबार देशव्यापी प्रदर्शन गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार देशव्यापीरूपमा आयोजना गरिएको विरोध प्रदर्शनले पार्टीलाई नवीन ऊर्जा प्रदान गरेको दाबी गरेका छन् । देशभर प्रदर्शन गरेपछि सोमबार साँझ विज्ञप्ति जारी गरी यो ऊर्जालाई अभिवृद्धि गर्दै कांग्रेस आगामी दिनमा अझ सशक्त ढङ्गले अघि बढ्ने उद्घोष गरे । सभापति देउवाले प्रदर्शनमा भएको सहभागिताले एकाईसौँ शताब्दीका नेपाली जनता लोकतन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मूलमार्गबाटै देशको भविष्य सुनिश्चित गर्न चाहन्छन् भन्ने बलियो मत प्रकट भएको उल्लेख गरे । उनले प्रदर्शनमा योगदान पु-याउने सबैलाई बधाई र उनीहरूप्रति सम्मान पनि व्यक्त गरे ।

यसैबीच, सभापति देउवाले सोमबार नै हेटौंडामा आयोजित कार्यक्रममा वर्तमान सरकारले जनमैत्री र प्रभावकारी काम गर्न नसकेको आरोप लगाएका थिए । कांग्रेस मकवानपुरले हेटौँडा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले जनताको माग र आवश्यकताअनुसार वर्तमान सरकारले काम नगरेको तथा कोभिड–१९ को असहज परिस्थितिमा समेत जनतालाई उचित उपचार र राहत दिन नसकेको आरोप लगाएका थिए ।

यता नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले जनताका हितमा काम गर्न नसकेको आरोप लगाए । कांग्रेस धनुषाको अगुवाइमा प्रदेश नं २ को सदरमुकाम जनकपुरधाममा निकालिएको विरोध जुलस प्रदर्शनपछिको आयोजित कोणसभालाई सम्बोधन गर्दै पार्टी पूर्वमहामन्त्री सिंहले सङ्घीयता कार्यान्वयनभन्दा सङ्घीयतालाई गलत देखाउने चेष्टा सरकारबाट भइरहेको आरोप लगाए । सभामा कांग्रेस प्रदेश नं. २ का संसदीय दलका नेता रामसरोज यादवले सरकारले भ्रष्टाचारलाई बढावा दिएका आरोप लगाए । सङ्घीय सांसद स्मृतिनारायण चौधरीले नियतवश भारतसँगको सीमा बन्द गरिएको आरोप लगाउँदै खोल्न आग्रह गरे ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया