Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारवाणिज्य, पर्यटन र पूर्वाधार विकासमा नेपाल र बंगलादेशको सहकार्य आवश्यक

वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा नेपाल र बंगलादेशको सहकार्य आवश्यक


काठमाडौं ।
उपराष्ट्रपति नन्दबहादुर पुनले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा नेपाल र बंगलादेशको बलियो सहकार्य आवश्यक रहेको बताएका छन् । उपराष्ट्रपति पुनसँग नेपालका लागि बंगलादेशका नवनियुक्त राजदूत सलाहुद्धीन नोमन चौधरीले सोमबार गरेको शिष्टाचार भेटमा उनले वाणिज्य, पर्यटन र पूर्वाधार विकासमा दुई देशले बलियो सहकार्य गर्दै यसबीचमा आउने समस्या र चुनौतीहरूको साझारूपमा सामना गर्नुपर्ने बताए ।

उनले विश्वव्यापी कोरोना भाइरस (कोभिड–१९)बाट विश्व छिट्टै सहज अवस्थामा फर्कने र पर्यटन गतिविधि बढ्ने बताउँदै नेपाल पर्यटकलाई स्वागत गर्न आतुर रहेको बताए । ‘कोभिड–१९ बाट विश्वसँगै नेपाल पनि छिट्टै सहज अवस्थामा फर्किनेछ । हामी पर्यटकलाई स्वागत गर्न आतुर छौँ’, उनले भने, ‘बंगलादेशबाट ठूलो संख्यामा पर्यटक नेपाल आउनेमा विश्वस्त छौँ ।’ उनले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि नेपाललाई गरेको सहयोगका लागि बंगलादेशलाई धन्यवाद समेत दिए ।

साथै उपराष्ट्रपति पुनले बंगलादेश नेपालको घनिष्ठ मित्र राष्ट्र भएको बताउँदै स्वतन्त्रतापछि बंगलादेशले हासिल गरेको प्रगतिका लागि बधाई दिँदै बंगलादेशको स्वतन्त्रतामा समर्थन गर्ने नेपाल सातौँ राष्ट्र भएको स्मरण गरे । उपराष्ट्रपतिले बंगलादेशका राष्ट्रपति अब्दुल हमिदको भ्रमणले नेपाल र बंगलादेशको सम्बन्ध अझै उचाइमा पुगेको उल्लेख गर्दै नवनियुक्त राजदूत चौधरीको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप सुदृढ र विस्तार हुने विश्वास व्यक्त गरे ।

भेटमा बंगलादेशका राजदूत चौधरीले वाणिज्य र पर्यटनमा नेपालसँग बंगलादेशले सहकार्य विस्तार गर्न चाहेको बताए । उनले आगामी साता बंगलादेशबाट नेपालले मल किन्नेसम्बन्धी सम्झौता हुने बताए । उनले प्राकृतिक सौन्दर्यताका लागि बंगलादेशीहरूका नेपाल पहिलो रोजाइ भएको बताए । ‘एडभेन्चर टुरिजमका लागि भन्नै पर्दैन बंगलादेशीहरूको पहिलो गन्तव्य नेपाल हो,’ उनले भने । राजदूत चौधरीले बंगलादेश ‘क्लिन इनर्जी’प्रति प्रतिबद्ध भएको उल्लेख गर्दै सोको लागि नेपालको बिजुली किन्न चाहेको बताए । ‘बंगलादेश नेपालको बिजुली किनेर भारत हुँदै लैजान चाहन्छ । किनकि यो क्लिन इनर्जी हो,’ उनले भने । राजदूत चौधरीले उपराष्ट्रपति पुनसँग उपयुक्त समयमा बंगलादेशको भ्रमण गर्न आग्रह गर्दै सो भ्रमणले दुई देशको सम्बन्ध अझै सुदृढ हुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया