Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारआज आयोगका पदाधिकारीको सिफारिस गर्ने तयारी

आज आयोगका पदाधिकारीको सिफारिस गर्ने तयारी


काठमाडौं ।
विभिन्न आयोगका पदाधिकारीको नियुक्ति सिफारिसका लागि आज बुधबार संवैधानिक परिषद्को बैठक बस्ने तयारी गरिएको छ । मंगलबार बसेको संवैधानिक परिषद्को बैठकमा कुन–कुन आयोगमा नियुक्तिका लागि सिफारिस गर्ने भन्ने विषयमा छलफल भए पनि बुधबारको बैठकमा मात्र नाम ल्याउने सहमति भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले विभिन्न संवैधानिक आयोगका पदाधिकारी एवं सदस्यको नियुक्तिबारे छलफल गरेको हो ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा नियुक्तिबारे छलफल भएको तर कुनै निर्णय नभएको जानकारी बताए । मंगलबार बिहान बस्ने भनिएको बैठक गणपूरक सङ्ख्या नपुगेपछि साँझका लागि सारिएको थियो । त्यसअगावै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नेकपाका अर्का अध्यक्ष प्रचण्डको सल्लाह अनुसार अनुपस्थित भएपछि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश आएको हो । साँझको बैठकमा परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया