Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोरोनाको खोप जीटुजी र सार्वजनिक खरिदमार्फत ल्याउने

कोरोनाको खोप जीटुजी र सार्वजनिक खरिदमार्फत ल्याउने

कोरोनाबाट थप १४ को मृत्यु


काठमाडौं ।
मंगलबार कोरोना सङ्क्रमणबाट १४ जनाको मृत्यु भएको छ । योसँगै मृतकको सङ्ख्या एक हजार ७ सय ७० पुगेको छ । होमआइसोलेसनमा छ हजार १ सय ३ जना छन् । त्यस्तै सघन उपचार कक्ष (आईसीयू)मा ३ सय २१ र भेन्टिलेटरमा ४८ जना उपचाररत छन् । नेपालमा हालसम्म १८ लाख ४३ हजार ५ सय ८१ जनाको पीसीआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा २ सय ६४ पुरुष र १ सय ७४ महिला गरी ४ सय ३८ जना सङ्क्रमित थपिएका छन् ।

नेपालभरमा भने मंगलबार ९ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर सात हजार १ सय १७ जनाको पीसीआर परीक्षण भएकोमा ५ सय ८५ पुरुष र ३ सय ५१ महिला गरी ९ सय ३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै हालसम्म देशभर कोरोना सङ्क्रमितको सङ्ख्या दुई लाख ५० हजार १ सय ८० पुगेको छ । अहिले देशभर नौ हजार ८ सय ८१ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो २४ घण्टामा एक हजार ९ सय ९६ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् ।

योसहित कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ३८ हजार ५ सय ६९ पुगेको छ । कोरोना निको हुनेदर ९५ दशमलव ३ प्रतिशत रहेको मन्त्रालयले जारी गरेको कोरोनासम्बन्धी राष्ट्रिय अद्यावधिक विवरणमा उल्लेख छ । यसैबीच, सरकार कोभिड–१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विश्वव्यापीरुपमा विभिन्न देशले खोप लगाउने सम्बन्धमा गरेका प्रयासजस्तै सरकारले पनि आफ्ना नागरिकलाई खोप लगाउने कार्यमा केन्द्रित भएको जानकारी दिएका छन् ।

मन्त्रालयका प्रवक्ता गौतमले मंगलबार सूचना जारी गरी ७२ प्रतिशत जनसङ्ख्यालाई खोप उपलब्ध गराउने उद्देश्यका साथ ‘खोप (भ्याक्सिन)को दु्रत कार्ययोजना’ बनाई विभिन्न आठ कार्यक्षेत्र तोकिएको जानकारी दिए । उनका अनुसार खोप सचिवालयको गठन, खोपको प्राविधिक कार्यपत्रलाई पूर्णता दिने, पूर्वाधार एसेसमेन्ट (उपकरण, भण्डारण र आपूर्ति), आवश्यकता आँकलन (सार्वजनिक र निजी), सेवाग्राहीको व्याख्यासहित प्राथमिकीकरण (संस्थाको हकमा विद्युतीय प्रणालीबाट तथा अन्य व्यक्तिको हकमा स्थानीय तहमार्फत गर्ने), जनशक्ति, तालीम र निर्देशिकालगायत कार्य अगाडि बढेका छन् ।

यस्तै खोप कोषको प्रस्ताव आह्वान, सञ्चालन र सार्वजनिक सूचना प्रवाह निर्देशिका बनाई साझेदारसँग संवाद, अनुगमन, नियमन, अनुसन्धान तथा क्लिनिकल व्यवथापन पहिचान गरी कार्यदल गठन गर्ने कार्य भइरहेको छ । कोभ्याक्समार्फत आउने खोप कुल जनसङ्ख्याको २० प्रतिशतलाई पुग्नेछ । बाँकी ५२ प्रतिशत खोप सरकार–सरकार (जीटुजी), सार्वजनिक खरिदमार्फत ल्याउने तयारी सरकारको रहेको छ । २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोपमध्ये पहिलो चरणमा तीन प्रतिशतलाई ल्याइने भएको छ ।

सरकारले खोप ल्याउन आकस्मिक अवस्थामा औषधि तथा खोप दर्ता व्यवस्थाका लागि औषधि ऐन–२०३५ लाई अध्यादेशमार्फत संशोधन गरेको छ । उनले कोभ्याक्स सुविधामा खोप प्राप्तिका लागि खोपसम्बन्धी कार्य गर्न अन्तर्राष्ट्रिय निकायमा समेत पत्राचार गरिसकेको बताए । ती निकायलाई कोभिड–१९ खोप प्राविधिक सहयोग र कोभ्याक्स कोल्डचेन उपकरणका लागि पनि अनुरोध गरिएको छ ।

खोपको भण्डारण र सुरक्षाको लागि आवश्यक क्षमता मूल्याङ्कनलगायत आवश्यक कार्य पनि सम्पन्न भएको छ । मन्त्रालयले खोपको आवश्यक व्यवस्थापनका लागि सङ्घ, प्रदेश र स्थानीय तहका जिम्मेवार निकायलाई समेत तयारी अवस्था रहने भनेको छ । विश्व स्वास्थ्य सङ्गठन, युनिसेफ र विश्व बैंकसँग कोभिड–१९ खोप सम्बन्धमा समन्वयात्मक रुपमा कार्यसमेत भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया