Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसाल्ट ट्रेडिङ्गले ३५ प्रतिशत लाभांश वितरण गर्ने

साल्ट ट्रेडिङ्गले ३५ प्रतिशत लाभांश वितरण गर्ने


काठमाडौं ।
साल्ट ट्रेडिङ्ग कर्पोरेसन लिमिटेडले सेयरधनीहरूलाई ३५ प्रतिशत लाभांश वितरण गर्नेभएको छ । कम्पनीले ३५ प्रतिशतमध्ये सेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश र २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो । साल्ट ट्रेडिङ्ग कर्पोरेसनको ५३औं वार्षिक साधारणसभाले सेयरधनीलाई १० प्रतिशत नगद लाभांशबापत एक करोड ५३ लाख ५७ हजार पाँच सय ८० रूपैयाँ र तीन करोड ८३ लाख ९३ हजार नौ सय ५० रूपैयाँबराबरको २५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई स्वीकृत गरेको छ । कर्पोरेसनले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै भौतिक दूरी कायम राख्दै केन्द्रीय कार्यालय परिसरभित्र साधारणसभा सम्पन्न गरेको हो । कर्पोरेसनका अधिकांश सेयर सदस्यहरू जुममार्फत साधारणसभामा सहभागी भएका थिए ।

कर्पोरेसनको कम्पनी ऐन २०६३ को अधिनमा रही तयार पारिएको ५३औं वार्षिक प्रतिवेदनका साथै २०७६ साल असार मसान्तसम्मको कर्पोरेसनको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा कर्पोरेसनले गरेको विभिन्न क्रियाकलापहरूको बारेमा छलफल एवं समीक्षा गरी आगामी दिनहरूमा अझ बढी प्रभावकारी ढंगले अगाडि बढ्न मार्गदर्शनका साथ वार्षिक प्रतिवेदनलाई अनुमोदन गरेको छ । कर्पोरेसनको प्रस्तुत वर्षको कारोबारलाई तुलनात्मकरूपमा मूल्यांकन गर्दा नुन, रासायनिक मललगायत व्यापारिक कारोबार सन्तोषजनक रहेको र विभिन्न क्षेत्रको लगानी उपलब्धिमूलक रहेको छ ।

कर्पोरेसनले गुणस्तरीय वस्तुहरूको कारोबार गरी आम उपभोक्तालाई खाद्यवस्तु, रासायनिक मल तथा अन्य वस्तुहरूको सरल र सहज आपूर्ति गरी सामाजिक उत्तरदायित्व बहन गर्दै आठ अर्ब २५ करोडको कारोबार गर्न सफल भएको छ । उक्त कारोबारबाट कर्पोरेसनले आव २०७५/०७६ मा कुल मुनाफा ७३ करोड १४ लाख आर्जन गर्न सफल भएको छ ।

विगत वर्षमा कर्पोरेसनले आयात गरेको चिनीमध्ये दुई हजार पाँच सय मेट्रिक टन चिनी भन्सार बिन्दुमा आइपुग्ने समयमा नेपाल सरकारबाट विदेशी चिनीको आयातमा प्रतिबन्ध लगाउने निर्णयले उक्त चिनी धेरै महिनासम्म भन्सार बिन्दुमा रोकिएको कारण कर्पोरेसनको चिनीको कारोबारमा कमी एवं भन्सारमा रोकिएको कारण डेमरेज चार्जबापत तिर्नुपरेको रकमको कारण आर्थिक भार पर्न गएको छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको संक्रमणले देशको विद्यमान आर्थिक अस्थिरता, बढ्दो प्रतिस्पर्धी बजार समेत यथावत नै रहेको यस्तो कठिन परिस्थितिमा पनि कर्पोरेसनले विश्वसनीय र गुणस्तरीय सेवा पु-याउँदै आफ्नो कारोबारमा सकारात्मक सुधारसहित अगाडि बढेको कर्पोरेसनका अध्यक्ष लक्ष्मीदास मानन्धरले बताए । लकडाउनमा समेत कर्पोरेसनले अत्यावश्यक वस्तुको आपूर्ति सहजरूपमा होस् भन्ने हेतुले आफ्ना बिक्री कक्षहरू र डेलिभरी भ्यानमार्फत टोल–टोलमा एसटीसीको नारासहित उपभोक्ताको घरदैलोसम्म सेवा पुयाउँदै आएको कर्पोरेसनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् ।

व्यावसायिक मर्यादा कायम राख्दै र सामाजिक उत्तरदायित्वको मर्मलाई सम्मान गर्दै कर्पोरेसनले देशका आम नागरिक एवं उपभोक्ताहरूलाई उच्च गुणस्तरको वस्तुहरू उचित मूल्यमा वर्षभरि उपलब्ध गराउनेतर्फ प्रतिबद्ध रही कार्य गरिरहेको पनि श्रेष्ठले बताइन् । साथै उनले दशैं, तिहार, छठजस्तो चाडपर्वमा सुपथ मूल्यका पसल सञ्चालन गरी आम उपभोक्तलाई सेवा प्रदान गरेको समेत स्पष्ट पारिन् ।

साथै कर्पोरेसनले आगामी दिनको लागि सरकारको नीतिअनुसार आयोडिनको कमीका कारण आम नागरिकमा उत्पन्न हुने शारीरिक तथा मानसिक विकृति हटाउन सञ्चालित कण्ठरोग नियन्त्रण कार्यक्रमको उपादेयतालाई दृष्टिगत गर्दै आम नागरिकहरूको स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने उद्देश्यले कार्यक्रमलाई निरन्तरता दिने नीति अवलम्बन गरेको छ । यस कार्यक्रमबाट आगामी दिनमा दुर्गम क्षेत्रका आम उपभोक्ताहरूको जनस्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने कर्पोरेसनले जनाएको छ । एनडीएचएस २०१६ को प्रतिवेदनअनुसार नेपालमा ५ वर्षभन्दा मुनिका ९४ दशमलव ५ प्रतिशत बालबालिकाले उचित मात्रामा आयोडिनयुक्त नुन प्रयोग गरेको पाइएकोले नेपालले यूएसआई लक्ष्य पूरा गरेको छ ।

सरकारले अनुदानमा बिक्रीवितरण गर्ने रासायनिक मलको लागि छुट्याएको अनुदान रकमको ३० प्रतिशत कर्पोरेसनलाई प्राप्त हुने रकमबाट युरिया, डीएपी, पोटास मलबाहेक अन्य क्षेत्रमा किसानहरूलाई समेत सहजरूपमा थप प्रकारको गैरअनुदानित रासायनिक मलहरू सिङ्गल सुपर फस्फेट, अमोनियम सल्फेट समेत आयात गरी बिक्रीवितरण गर्दै आइरहेको कर्पोरेसनले जनाएको छ । साथै एकीकृत नमूना बस्ती विकास गर्ने हेतुले व्यवस्थित बस्तीको विकास गर्न कर्पोरेसनले आफ्नो सहायक कम्पनी उपहार हाउजिङ कम्पनी लिमिटेडमार्फत चन्द्रागिरी नगरपालिकास्थित आफ्नै जग्गामा आठवटा भूकम्प प्रतिरोधी भवन निर्माण गरी बिक्रीवितरण सुरु गरेको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया