Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयसरकारको यो कदम अनि कोरोनाको अवस्था

सरकारको यो कदम अनि कोरोनाको अवस्था


काठमाडौं ।
गएको मंसिरको अन्तिम साता प्रधानमन्त्रीले कोरोना महामारी नियन्त्रण गर्न सरकार निरन्तर सफलतातर्फै अघि बढिरहेको दाबी गरे । यो दाबी आफ्नो निवास बालुवाटारमा बोलाइएको सर्वपक्षीय भेलामा गरिएको हो । कोरोनासम्बन्धी पछिल्ला विवरण हेर्दा सामान्यरूपमा त्यस्तो लाग्छ पनि । एकताका दिनको पाँच हजारभन्दा बढीको संख्या पुगेको संक्रमितको दर पछिल्लो समय पाँच सयको हाराहारीमा आएको छ । पछिल्ला तीन/चार दिनमा छदेखि आठ सयसम्मको दरमा मात्र देखिएका छन् । कहाँको पाँच हजार र कहाँको पाँच सय । त्यसै पनि महामारी रोकिएको भन्ने यो विवरण आफैँमा एउटा उदाहरण हो । तर अझै पनि महामारी नियन्त्रण भइसकेको जसरी सरकार पछि हट्न मिल्ने अवस्था आइसकेको छैन ।

एकातिर पीसीआर परीक्षण घटाउँदै लगिएको छ जसले स्वाभाविकरूपमा संक्रमितको संख्या पनि घट्छ नै । तर यता कोरोनाबाट मृत्यु हुनेको संख्या भने प्रत्येक पछिल्ला दिन बढिरहेको छ । यदि संक्रमणको संख्या घटेको हो भने मृत्युदर किन बढिरहेको छ भन्ने एउटा प्रश्न उठ्छ । स्वास्थ्य मन्त्रालयकै तथ्यांकअनुसार पनि पछिल्लो हप्तासम्म एक हजार सात सय ७७ जनाको ज्यान गइसेको छ । त्यो विवरणको दर नोभेम्बरमा पाँच सय ७१, डिसेम्बरको उत्तरार्ध दुई सय ७१, अक्टोबरमा चार सय ३९, सेप्टेम्बरमा दुई सय ७०, अगस्टमा एक सय ७२, जुलाइमा २७ र जुनमा २९ जनाले ज्यान गुमाएका छन् ।

सरकारले भनेजस्तो महामारी रोकिएको हो भने मृत्यदरचाहिँ किन बढिरहेको छ ? यो प्रश्न निरुत्तरित नै छ । वास्तविकता के हो भने सरकारले संक्रमण कम देखाउन पीसीआर परीक्षणको संख्या घटाउँदै यस्तो ठाउँमा आइपुगिएको अवस्था छ । ८० वटा ल्याबबाट दिनको चार हजार जनाको मात्र परीक्षण भइरहेको छ । त्यसमाथि औपचारिकरूपमा परीक्षण गराउनेको संख्या झनै ठूलो छ ।

मन्त्रालयको विवरणअनुसार पछिल्ला दिन दैनिक औसत पाँच हजार हाराहारीको पीसीआर परीक्षण हुँदै आएको देखिन्छ । दुई दिनअघि मात्र ४५ सरकारी र ३५ निजी गरी कुल ८० वटा प्रयोगशालामा चार हजार सात सय ८० पीसीआर परीक्षण भएका थिए । यसमा सात सय १० जनामा संक्रमण देखियो । यो रेसियोमा जाँदा पनि २० हजारको परीक्षण भएको थियो भने दिनमा ३० हजारको संख्यामा संक्रमण देखिने अवस्था छ ।

 विज्ञहरू नै भन्छन्– हाल देशभरि कोभिडको सस्पेक्टेड केसमा संक्रमण देखिने वास्तविक दर २५/२६ प्रतिशत नै छ । सस्पेक्टेड केसको दाँजोमा विदेश जाने स्वस्थ व्यक्तिहरू अत्यधिक मात्रामा दिनहुँ पीसीआर परीक्षण गराउने भएकाले नै संक्रमण दर कम मात्र देखिएको हो । स्वास्थ्य मन्त्रालयकै एक अधिकारीले सरकारको नियतमाथि शंका गरेका छन् ।

अधिकारीका अनुसार हाल संक्रमण दरमा देखिएको कमीका कारण कोभिडको लक्षित समूहबाहेकका व्यक्तिद्वारा अत्यधिक मात्रामा पीसीआर परीक्षण गरिएकाले लक्षित समूहको परीक्षणमा अत्यन्त कमी आएको छ । जसका कारण परिणाम अर्कै आउँछ । बताइएजस्तै हो भने यो धेरे नै खतराको कुरा हो । यो ठाउँमा सरकार सच्चिनु पर्छ ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया