Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालसुख्खा पहिरोले भुवाखोला जलविद्युत् आयोजनामा क्षति, स्थानीय अन्धकारमा

सुख्खा पहिरोले भुवाखोला जलविद्युत् आयोजनामा क्षति, स्थानीय अन्धकारमा


सोलुखुम्बु ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नम्बर १ को भुवाखोला लघु जलविद्युत् आयोजनाको पेनस्टक पाइप पहिरोले बगाएको छ । गत शुक्रबार बिहान ७ बजे गएको सुख्खा पहिरोले ८२ किलोवाट क्षमताको विद्युत्को छवटा पाइपमा ठूलो क्षति पु-याएको आयोजनाका म्यानेजर शान्तबाबु बराइलीले जानकारी दिए । म्यानेजर बराइलीले भने– ‘बिहान करिब ७ बजेको थियो, विद्युत्गृहभन्दा करिब ४० मिटर माथिबाट एक्कासी पहिरो खस्यो, सोही पहिरोले हाम्रा विद्युत्को छवटा पेनस्टक पाइप बगाउनुका साथै तितरबितर बनायो, जसबाट आयोजनालाई करिब ५० लाख रूपैयाँबराबरको क्षति भएको छ ।’

विद्युत् सेवा बन्द भएसँगै महाकुलुङ गाउँपालिका १ र २ का ११ सय २७ घर परिवार अन्धारमा रात कटाउन विवश भएका छन् । क्षतिग्रस्त विद्युत् पुन सुचारु गर्न करिब २ महिना लाग्ने आयोजनाले जनाएको छ । जसले गर्दा स्थानीयलाई मोबाइललगायत इलेक्ट्रोनिक सामान सञ्चालन गर्न समस्या भएको स्थानीय प्रमिसन कुलुङले बताए ।

विद्युत् आपूर्ति बन्द हुँदा महाकुलुङ क्षेत्रमा रेडियो, टेलिभिजनलगायतका सञ्चार सेवा समेत प्रभावित बनेको स्थानीयले बताएका छन् । विद्युत्कै माध्यमबाट आफूहरूले रेडियो सुन्ने र टेलिभिजन हेर्ने गरे पनि विद्युत् नहुँदा समस्या भएको स्थानीय प्रमिसन कुलुङले जानकारी दिए । भुवाखोला लघु जलविद्युत् आयोजना विस २०६८ सालमा तत्कालीन जिल्ला विकास समिति र वैकल्पिक ऊर्जा पवर्द्धन केन्द्रले निर्माण गरेको थियो । राष्ट्रिय प्रसारण लाइन नपुगेकाले सोलुखुम्बुका अधिकांश स्थानमा लघु जलविद्युत्बाट विद्युत् सेवा पु-याइएको छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया