Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधसार्वजनिक सुनुवाइको औचित्यमाथि प्रश्न

सार्वजनिक सुनुवाइको औचित्यमाथि प्रश्न


बुटवल ।
ओमसतिया गाउँपालिका रूपन्देहीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रमले प्रभावकारी भूमिका खेल्न नसकेको स्थानीयहरूले गुनासो गरेका छन् । सोमबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले कार्यक्रमको औचित्यमाथि प्रश्न उठाएका हुन् ।

गाउँपालिकाबाट प्रवाह भएको सेवा, सुविधाप्रति स्थानीयहरूको धारणा, समस्याहरू समाधानका लागि प्रभावकारी भूमिका, भुलसुधार गर्ने अवसर, परिस्कृत विकासमा विचारहरू एकीकृत गर्ने, स्थानीय सरकार र जनताबीचको नजिकको दूरी कायम गर्नेलगायतका कुराहरूमा एक्यबद्धता जनाउँदै अगाडि बढ्ने प्रेरणा संकलनको लागि सार्वजनिक सुनुवाइ कार्यक्रम राखिने भए पनि सेवा लिने तथा अमूल्य मतदान गरेर स्थानीय सरकार निर्माण गर्ने स्थानीयको नै उपस्थिति नभएपछि उक्त कार्यक्रमको औचित्यमाथि थप प्रश्न उठाइएको हो ।

सार्वसानिक सुनुवाइमा गाउँपालिकाको वडा नम्बर ३ का वडाअध्यक्षबाहेक अन्य पाँचवटै वडाका वडाध्यक्ष र वडा सदस्यहरूको पनि अनुपस्थितिले गाउँपालिकाको मेलमिलाप नीति, कार्यशैलीलगायतका धेरै कुराहरूप्रति गम्भीर प्रश्न उब्जाएको छ । उक्त कार्यक्रममा बोल्दै कृषक तथा स्थानीय बुद्धिजीवी भानु पौडेलले गाउँपालिकामा सार्वजनिक सुनुवाइजस्तो कार्यक्रममा सूचना प्रवाहमा गरिएको कन्जुस्याइँप्रति दुःख व्यक्त गरे । जबसम्म दीर्घकालीन विकासलाई प्राथमिकतामा राखेर योजनाहरू निर्माण गर्न सकिँदैन तबसम्म गाउँपालिकाको समृद्धि नहुने बताउँदै पौडेलले स्थानीय सरकारले जनतालाई सरकारको अनुभूति गराउनुपर्ने कुरामा जोड दिए ।

स्थानीय दिलबहादुर चौधरीले पनि सार्वजनिक सुनुवाइमा कार्यक्रमको उपस्थितिप्रति प्रश्न उठाए । सार्वजनिक सुनुवाइमा प्रत्येक घरको प्रत्येक सदस्यले हिस्सा लिने अधिकार भए पनि आठ/दश जना जम्मा गरेर गाउँपालिकाका कर्मचारीहरूले मात्र सजाइएको कार्यक्रमले समाज र देशमा कस्तो सन्देश जान्छ भन्ने कुरालाई हल्कारूपमा लिन नहुने बताए ।

भौतिक पूर्वाधार र सडक पिच गरेर मात्र विकास नहुने बताउँदै चौतर्फी क्षेत्रको विकासले मात्र समृद्ध ओमसतिया निर्माण गर्न सकिने बताए । कर्मचारी हिँडने मुख्य सडक पिच भएको तर स्थानीयहरूको बढी आवजावत हुने सडकहरू स्तारोन्नतिमा ध्यान नपुगेको गुनासो पोख्दै स्थानीय देव धवलले राष्ट्रिय कृषक दिवस घोषणा गर्न स्थानीय सरकारले सिफारिस र पहल नगरेकोमा दुःख व्यक्त गरे ।

व्यावहारिक कृषिभन्दा कागजी कृषिको बढी विकास भएको बताउँदै धवलले व्यावहारिक र व्यावसायिक आधुनिक निर्यातमुखी कृषि प्रणालीको नीति अवलम्बन गर्ने रणनीतिक योजनाहरू निर्माण गर्न सुझाव दिए । गाउँपालिकामा कोठे बजेट निर्माण गर्ने प्रचलन मौलाउँदै गएकोमा दुःख व्यक्त गर्दै बजेट सर्वसाधारणहरूलाई पनि समावेश गराई सुझाव सल्लाह लिएर समस्याहरूलाई सम्बोधन गर्नेगरी निर्माण गर्नुपर्ने बताए ।

उक्त सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्नहरू तथा जिज्ञासाहरूप्रति आफ्नो धारणा व्यक्त गर्दै प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले सूचना प्रवाहमा देखिएको समस्याप्रति गाउँपालिकाको तर्फबाट माफी माग्दै आगामी दिनहरूमा उक्त कुरा नदोहोरिने बताए । कमीकमजोरीप्रति खबरदारी गर्दै रचनात्मक सुझाव सल्लाहको लागि गाउँपालिकाको ढोका सदैव खुला रहने उनले बताए ।

गाउँपालिको आयोजना, बास रूपन्देहीले सहजीकरण र बास रूपन्देहीकी निर्देशक विजया खत्रीको सञ्चालनमा सम्पन्न भएको सार्वजनिक सुनुवाइमा उठेका प्रश्न तथा जिज्ञासाहरूमा गाउँपालिका अध्यक्ष हिरा केवट (राहुल), प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, सम्बन्धित विषयगत शाखाका प्रमुखहरूलगायतले जवाफ दिएका थिए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया