Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगशान्ति मिसनसँग जोडिएको रेमिट्यान्स

शान्ति मिसनसँग जोडिएको रेमिट्यान्स


काठमाडौं ।
दोस्रो विश्वयुद्धपछि विश्व संगठन संयुक्त राष्ट्र संघको स्थापना भयो । सन् १९४५ मा संयुक्त राष्ट्र संघको स्थापनापश्चात् यसको उद्देश्यअनुरूप विश्वमा शान्ति स्थापनाका लागि संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूबाट द्वन्द्वग्रस्त देशमा शान्तिसेना पठाउने कार्यको सुरुवात गरिएको हो । विशेषतः गृहयुद्ध, द्विपक्षीय द्वन्द्व भैरहेका मुलुकमा द्वन्द्वलाई शान्तिमा परिणत गर्न शान्तिसेना पठाउने प्रचलन सुरु भएको हो । यसमा नेपालले वर्षेनी पाँच हजारदेखि छ हजारको हाराहारीमा शान्तिसेना पठाई शान्ति स्थापना कार्यमा सहयोग पु¥याउँदै आइरहेको छ । यस कार्यले नेपाललाई विश्वमा चिनाउनुको साथै शान्ति मिसनमा गएका शान्तिसेनाबाट आउने रेमिट्यान्सले देशको अर्थतन्त्रमा टेको लगाइरहेको छ । रकमको अंश सानै भए पनि निरन्तरता पाइरहेको छ ।

सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र संघको सदस्य बनेपश्चात् सन् १९५९ बाट नेपालले निरन्तररूपमा शान्तिसेनामा भाग लिँदै आएको छ । यसले नेपाली सुरक्षाकर्मीलाई विदेश भ्रमणको अवसर, नेपालीको कलाकौशल प्रदर्शन र उनीहरूको आयमा बढोत्तरी गर्न मदत पु-याइरहेको छ । त्यसैगरी उनीहरूले मिसनमा पाएको तलब भत्ताबाट आउने रेमिट्यान्सले देशको अर्थतन्त्रमा पनि सहयोग पुगिरहेको अवस्था छ । शान्ति मिसन नेपाली सुरक्षाकर्मीका लागि अवसरको गन्तव्य हुनेगरेको भए पनि शान्ति मिसनमा जान पाउने सीप, योग्यता, क्षमतालाई लत्याउँदै शक्तिवालको भनसुनबाट जान पाउने प्रचलन चल्न थालेकोले भनसुन सुन्ने निकाय र व्यक्ति नभएका सुरक्षाकर्मीका लागि यो मिसन कागलाई बेल पाकेर हर्ष न विस्मत भनेझैँ हुँदै गइरहेको एक उच्च पदस्थ सैनिक अधिकारीले बताएका छन् ।

यो आलोपालो प्रणालीबाट सबै कार्यरत सुरक्षाकर्मीले जागिर अवधिभरमा एक पटक जान सक्नेगरी व्यवस्था गर्न जरुरी छ । न्यूनतम तलब भत्तामा देशको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीमा आकर्षण गन्तव्य बनेको शान्ति मिसन राजनीतिक प्रभावमा परी नियम विपरीत चल्न थालेपछि पहुँच नभएका सुरक्षाकर्मी जागिर छोड्दै खाडी मुलुकतिर हानिन थालेका छन् । हिजोआज जागिरमा रहेका ठूलो संख्याले वर्षेनी जागिर छोड्दै विदेश जान थाले । सन् २०२० मा त कोभिड–१९ का कारण मिसनमा कमी हुने स्थिति बन्दै गएको पनि छ ।

राष्ट्र संघीय शान्ति मिसनबाट गत आर्थिक वर्ष २०७६/७७ मा करिब १७ अर्ब ४० करोड रेमिट्यान्स नेपाल भित्रिएको थियो । यो सेनाले शान्ति मिसनका लागि खटाएका सैनिक र मिसनमा दिएको उपकरणवापत प्राप्त रकम हो । शान्ति स्थापनार्थ शान्ति मिसनमा नेपाली सेनाका १२ मुलुकमा २१ वटा मिसन तैनाथ रहेका छन् । उक्त मिसनमा अधिकृत र जवान गरी पाँच हजार एक सय २९ जना सैनिक खटिएका छन् जसमध्ये चार हजार नौ सय ७९ जना सैनिक जवान, एक सय १३ जना अधिकृत र ३७ जना अब्जर्भर छन् । त्यसमा एक हजार पाँच सय महिला सैनिकको संख्या रहेको छ । मिसनमा जाने यिनीहरूलाई पर्सनल क्यारिएर र हतियारलगायतका सामग्री सेनाले उपलब्ध गराउने गर्दछ ।

अहिले सुडानमा सबैभन्दा धेरै शान्तिसेना तैनाथ गरिएको छ । यसरी तैनाथ गरिएका शान्तिसेनाले नेपाली कलाकौशल र सीप प्रयोग गरी द्वन्द्वग्रस्त देशमा शान्ति स्थापना गर्न सफल रहेको सञ्चार माध्यममा समाचार आइरहेका छन् । यो नेपाल र नेपालीका लागि गौरवको विषय हो । गौरवतालाई निरन्तरता दिन यस निकायलाई उत्तरदायी, चुस्त र दुरुस्त राख्न जरुरी छ ।

चालू आर्थिक वर्ष २०७७/७८ मा कोभिड–१९ का कारण करिब १३ अर्ब ९२ करोड रुपैयाँ मात्र रेमिट्यान्स भित्रिने नेपाली सेनाले जनाएको छ । यो गत वर्षभन्दा तीन अर्ब ४८ करोड रुपैयाँले कमी हो । शान्ति स्थापनार्थ मिसनमा सैनिक संख्या बढे पनि भित्रिने रकम घट्ने सेनाले बताएको छ । यसका लागि नेपाली सेनाले युगाण्डामा लजिष्टिक बेसक्याम्प खडा गरेको छ । यसले नेपालमा भित्रिने रकमलाई अझ बढावा दिने अनुमान गर्न सकिन्छ ।

गत आर्थिक वर्ष शान्ति मिसनमा खटिएका शान्तिसेना र उपलब्ध गराइएका सैन्य सामग्रीबाट १५ करोड अमेरिकी डलर नेपाल भित्रिएको थियो । यस वर्ष उपकरण मर्मत र कतिलाई विस्थापित नै गर्नुपर्ने भएका कारण यो रकममा कमी आउने अनुमान छ । यसवर्ष केभिडले यसलाई प्रभावित बनाए पनि आगामी दिनमा यस मिसनलाई प्रभावकारी बनाई तैनाथ संख्या बढाउने शान्ति मिसनले बताएको छ । केही वर्षअघि शान्ति मिसनका खरिद सामग्रीमा भएको घोटलाले मिसनलाई केही धमिलो बनायो यसबाट पाठ सिक्दै नेपाली शान्तिसेनाको मनोबल उच्च राख्न सरकार र मिसन दुवै उत्तरदायी रहनु पर्दछ । यो नै नेपाल र नेपालीका लागि गौरव, शान र मान हो ।

संयुक्त राष्ट्र संघीय शान्ति स्थापनार्थ शान्ति मिसन बरियतामा नेपालले चौथो स्थान हाँसिल गरेको छ जुन नेपाल र नेपालीका लागि पहिचान हो । अहिले शान्ति मिसनमा खटिने नेपाली सुरक्षाकर्मीको संख्या पाँँच हजार सात सय १४ पु-याइएको छ जसमा पाँच हजार एक सय २९ जना नेपाली सेना र पाँच सय ८५ जना नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी रहेका छन् ।

संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार शान्ति मिसनमा खटिएका मुलुकको पहिलो बरियताक्रममा पहिलो बंगलादेश छ हजार सात सय ३१ जना, दोस्रो इथोपिया छ हजार छ सय ६२ जना, तेस्रो रुवाण्डा छ हजार तीन सय २२ जना, पाँचौँ भारत पाँच हजार तीन सय ५३ जना, छैटौँमा पाकिस्तान चार हजार चार सय ४० जना, त्यसैगरी चीन नवौं स्थानमा दुई हजार पाँच सय ३१ जना सुरक्षाकर्मीलाई शान्तिसेनामा पठाउँछन् ।

शान्ति मिसनमा पठाउने हरेक मुलुकहरूले आफ्नो सुरक्षाकर्मीको संख्याको आधारमा रेमिट्यान्स भित्र्याइरहेका छन् । देश, सीमा र नागरिक सुरक्षाको सपथ खाएका सुरक्षाकर्मीको आकर्षक गन्तव्य शान्ति मिसन बन्दै गएको छ । आफ्नो जवानी देशको सुरक्षार्थ सुम्पेका सुरक्षाकर्मीको जागिरको चार्म यही मिसन नै हो । यसलाई नीतिगत व्यवस्थापन गरी समान उपस्थितिको अवसर प्रदान गर्ने वातावरण सृजना गर्दा संगठानिक र राष्ट्रिय दुवै हितले प्रश्रय पाउँछ । नेपाली सुरक्षाकर्मीको मनोबल बढाउँछ, उत्पादनले गति लिन्छ, संवैधानिक कानुनले न्याय पाउँछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया