Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसम्पादकीयपठनपाठनको क्षेत्रमा अव्यवस्थाले चिन्ता

पठनपाठनको क्षेत्रमा अव्यवस्थाले चिन्ता


काठमाडौँ ।
एकातिर मानवीय वशभन्दा बाहिरको विषयले आतङ्कित भइरहेको समाजमा अर्कोतर्फ मानवले नै सिर्जना गरेको सङ्कट डरलाग्दो रूपमा देखिएको छ । त्यसमध्येको एउटा हो, विद्यार्थीको पठनपाठन र अभिभावको चिन्ता तथा तनाव । यतिबेला देशभरि नै विद्यालयहरू सञ्चालनमा आएका छन् । विद्यालय सञ्चालनमा आएपछि कुनै पनि विद्यार्थी घर बस्ने कुरो आउँदैन । तर कोरानाबाट जोगिने व्यवस्थाप्रति समुचित ध्यान नदिँदा हरेक घर र विद्यार्थी तथा अभिभावक रातदिन चिन्तामा छन् । यो स्वाभाविक पनि हो । यस्तो चिन्तामा रहनेको संख्या कति होला ? यतिबेला पठनपाठनमा रहेकाहरूको संख्या ३५÷४० लाखको छ । विद्यार्थी मात्रैको संख्या करिब ३० लाखको रहेको छ भने यी सबैको परिवार चिन्तामा रहेका छन् । कुनै पनि विद्यालयले राम्रो सुरक्षाको अनुभूति दिन सकेका भए यस्तो अवस्था आउने थिएन होला ।

माध्यमिक शिक्षाको क्षेत्रमा सबैभन्दा बढी चिन्ता थपिएको अवस्था पाइयो । एसईईको परीक्षा आउन अब केही महिना मात्रै बाँकी छ । यतिबेलासम्म त्यो कसले लिने र कहिले लिने भन्नेमा सरकार अझै प्रस्ट हुन सकेको छैन । अघिल्लो वर्ष परीक्षा दिने अघिल्लो दिनको राति मात्र परीक्षा रद्ध गर्ने निर्णय भएको थियो । त्यसबेला सबै विद्यार्थी परीक्षा दिन केन्द्रसम्म पुगिसेका थिए । पहिले–पहिलेका वर्षहरूमा मंसिरमा एसईईको तालिका सार्वजनिक हुन्थे । विद्यार्थीको र विद्यालयकै पनि तयारीका लागि दुई÷तीन महिना समय लाग्छ नै । यो वर्ष भने त्यसको चालचुल देखिँदैन । एसईई परीक्षा कसले लिने भन्ने विषयमै स्पष्ट भएको छैन ।

राष्ट्रिय परीक्षा बोर्डले लिने हो कि प्रदेशलाई जिम्मा दिने हो वा गएको वर्षजस्तै विद्यालयले मूल्यांकन गर्ने भन्ने टुंगिएको छैन । यसले पनि यो तहका विद्यार्थी र तिनका अभिभावकमा चिन्ता बढाएको छ । एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिँदाको अवस्था एउटा हुन्छ भने प्रदेशलाई दिँदा अर्को र विद्यालयले नै मूल्यांकन गर्ने व्यवस्था दोहोरिँदा तेस्रो स्थिति हुन्छ । यसमा सरकार यतिबेलासम्म चुकेको छ । यो सरकारी अव्यवस्थाको उपज हो । अघिल्लो वर्षकै परम्परा दोहो¥याउने हो भने स्थिति त्यहीअनुसार अघि बढ्छ । विद्यार्थीहरूको तयारी पनि त्यस्तै होला । सरकार भने यसमा के गर्ने भन्ने टुंगोमा पुग्न नसक्दा यति ठूलो संख्या चिन्तित भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एसईई लिँदा प्रश्नपत्र बनाउनुपर्छ । स्कुलले मूल्यांकन गर्दा स्कुल तहको मात्र कुरा आउँछ । हेर्दा समान्य लाग्ला तर यी व्यवस्थापकीय हिसाबले महत्वपूर्ण कुरा हुन्, बोर्ड र स्कुल दुवैलाई ।

समाचारमा आएअनुसार राष्ट्रिय परीक्षा बोर्डले एसईई कसले लिने भनेर एक महिनाअघि नै शिक्षा मन्त्रालयसँग जानकारी मागेको थियो । कक्षा १० को परीक्षा कसले गर्ने भन्ने नै प्रमुख प्रश्न रहेको अवस्था छ । सबैभन्दा पहिले तालिकाकै कुरा आउँछ । त्यो नबन्दासम्म अवस्था अन्योलमा नै रहने बुझ्न सकिन्छ । यसले विद्यार्थीको तयारी समेतलाई असर पार्नेहुन्छ । सम्बन्धित निकाय समयमै सचेत भई लाग्नुको विकल्प छैन ।


क्याटेगोरी : सम्पादकीय

तपाईको प्रतिक्रिया