Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारआईएमएफद्वारा कर कानुन कार्यान्वयन केही समय ढिला गर्ने पाकिस्तानी प्रस्ताव स्वीकार

आईएमएफद्वारा कर कानुन कार्यान्वयन केही समय ढिला गर्ने पाकिस्तानी प्रस्ताव स्वीकार


इस्लामावाद ।
कोरोनाको दोस्रो लहर सुरु भएका बेला अन्तर्राष्ट्रिय मुद्राकोषले सरकारको करसम्बन्धी नयाँ कानुनी व्यवस्था कार्यान्वयनमा ढिलाइ गर्ने प्रस्तावलाई स्वीकृति दिएको छ । पाकिस्तानले छ महिनाभित्र नयाँँ व्यवस्था कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो । बिक्री कर ऐन र आयकर ऐनमा नयाँ व्यवस्था गरी कार्यान्वयनमा ल्याउनुपर्ने प्रतिबद्धता भए पनि कोरोनाका कारण कार्यान्वयनमा ल्याउन ढिलाइ गर्ने प्रस्ताव कोषले मानेको फेडेरल बोर्ड अफ रेभिन्यु (एफबीआर)ले जनाएको हो ।

दुई पक्षबीच प्राविधिक तहस्तरीय छलफलमा यस्तो सहमति जुटेको बताइएको छ । फेरि यसबारे जनवरी पहिलो साता भर्चुअल छलफल हुनेछ । सरकारले ल्याएको पछिल्लो बजेटमा एफबीआर राजस्व संकलन २५ प्रतिशत हुने र ४७ खर्ब पाकिस्तानी रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । तर पहिलो पाँच महिनामा चार प्रतिशत मात्रै राजस्व संकलन भएको छ ।

आईएमएफले ६ अर्ब डलरबराबरको एक्सटेन्डेड फन्ड फेसिलिटी (ईएफएफ)बारेको छलफलमा एफबीआरलाई बिक्री कर र आय करसमेतमा कर पुनरवलोकन गर्नुपर्ने बताएकोा थियो । त्यसमध्ये पनि एउटा मुख्य सुधार बिक्री करमा छुट सुविधालाई संशोधन गर्नुपर्ने भन्ने थियो । पाकिस्तानले बिक्री करमा छुट सुविधा दिँदै आएको छ ।

आईएमएफको फन्डले यसलाई हटाउनुपर्ने बताउँदै आएको छ । यसबारे एफबीआर र स्टेट बैंक अफ पाकिस्तानले अध्ययन गरिरहेका छन् । त्यस्तै आईएमएफले व्यक्तिगत आयकर दरमा पनि परिवर्तन गर्नुपर्ने माग गर्दै आएको छ । खासगरी तलब स्केल २० बाट आठवटामा झारेर करको दर बढाउन प्रस्ताव गरिएको छ ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया