Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपोखरा विमानस्थल निर्माणकार्यलाई राजनीतिक घटनाक्रमले असर गरेन

पोखरा विमानस्थल निर्माणकार्यलाई राजनीतिक घटनाक्रमले असर गरेन

सन् २०२२ मा व्यावसायिक उडान गर्न सक्नेछौं : आयोजना प्रमुख मुनाकर्मी


काठमाडौं ।
पछिल्लो राजनीतिक घटनाक्रम अर्थात् संसद् विघटनले विमानस्थल निर्माणकार्यलाई भने असर परेको छैन । २०२१ मा सञ्चालनमा ल्याउने तयारी गरिएको राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको तथा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकार्य भने जारी रहेको छ ।

आयोजना प्रमुख विनेश मुनाकर्मीले बन्दाबन्दी तथा पछिल्लो राजनीतिक घटनाक्रमले विमानस्थल निर्माणकार्यलाई असर नगरेको बताए । ‘बन्दाबन्दीमा सीमित प्राविधिक तथा श्रमिकहरु रहेर आयोजना अघि बढाएका थियौँ’, प्रमुख मुनाकर्मीले आर्थिक दैनिकसँग भने, ‘संसद् विघटन अर्थात् संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रिक्त हुँदा पनि आयोजना प्रभावित बनेको छैन । हामीले विमानस्थल निर्माणको कामलाई नियमित सञ्चालन गरेका छौँ ।’

उनले सरकार र निर्माण कम्पनी अर्थात् चिनियाँ कम्पनी सीएएमसी इन्जिनियरिङ कम्पनीबीच भएको सम्झौताअनुरुप निर्माणकार्य निरन्तर अघि बढेको बताए । १० जुलाई २०२१ सम्ममा निर्माणसम्पन्न गर्ने गरी सरकार र सीएएमसीबीच सम्झौता भएको थियो । सोहीअनुरुप काम अघि बढेको छ’, प्रमुख मुनाकर्मीले भने, ‘विमानस्थलको भौतिक प्रगति ६८ प्रतिशत रहेको छ । सम्झौताअनुरुप नै विमानस्थल निर्माण गरी सरकारलाई हस्तान्तरण गर्ने तयारीमा रहेका छैनौँ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले गत साता संसद् विघटन गरेसँगै पर्यटनमन्त्री योगेश भट्टराई, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, वनमन्त्री शक्तिबहादुर बस्नेत, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, खानेपानीमन्त्री बिना मगर र श्रममन्त्री रामेश्वर राय यादवले सामूहिक राजीनामा दिएका थिए । यद्यपि उनले विदेशी कामदार अर्थात् चिनियाँ कामदार नआउँदा भने आयोजना अघि बढाउन समस्या भएको बताए । कोभिड १९ का कारण नेपालबाट चीन गएका कामदार नेपाल फर्किनसकेका छैनन् ।

यस्तै व्यावसायिक उडान गर्न भने करिब एक वर्ष लाग्ने बताइएको छ । ‘विमानस्थल जुलाईमा सरकारलाई हस्तान्तरण गरे पनि विमानस्थल निर्माणसम्पन्नपछि अन्य पूर्वाधारहरु राख्नको लागि करिब ४ देखि ६ महिनाको समय लाग्छ’, प्रमुख मुनाकर्मीले भने, ‘भन्सार, टिकट काउन्टर, सुरक्षा व्यवस्थापन, कर्मचारीलगायतकालाई आवश्यक पर्ने पूर्वाधारहरु निर्माण गर्नको लागि करिब ६ महिना अर्थात् करिब एक वर्ष (२०२२) लाग्ने देखिन्छ ।’ परीक्षण उडान गर्नु समेत समय लाग्ने भएकाले करिब अबको एक वर्षपछि विमानस्थलमा व्यावसायिक उडान हुने बताए ।

पछिल्लो समय टर्मिनल भवनको बाहिरी भाग, सहायक सडक, ट्याक्सी पार्किङ, ह्यांगर एप्रोन, आइसोलेटेड पार्कलगायतको निर्माणसम्पन्न भएको छ भने चिनियाँ र नेपाली गरेर दैनिक करिब साढे तीन सय जना कामदारले आयोजनामा नियमित काम गरिरहेका छन् ।

चीनबाट ल्याइएको एयर फिल्ड लाइट, रंग, एलिभेटर तथा सजावटका सामग्री तथा डोजर, एक्स्काभेटर, ट्रान्सफर्मर, इलेक्ट्रिकलगायतका सामग्री नआउँदा यसअघि आयोजना प्रभावित बन्नपुगेको थियो भने हाल भने समस्या नरहेको बताइएको छ । यस्तै उनले विमानस्थल निर्माणको क्रममा हाल एयर फिल्ड लाइट, रंग, एलिभेटर तथा सजावटका सामग्री जडान तथा १४ वटा भवन निर्माण सकेर फिनिसिङको कामहरु भइरहेको बताए । यसअघि रनवेय, ट्याक्सी पार्किङ, पाइपलाइन तथा विद्युतीय पाइपलाइन र सहायक सडक निर्माणका कामहरु सम्पन्न भएका थिए ।

यसैबीच प्रधानमन्त्री ओलीले शुक्रबार पर्यटन, खानेपानी, श्रम, सामान्य प्रशसान, खेलकुद गरी आठ तथा एक राज्यमन्त्री गरी मन्त्रिपरिषद्को विस्तार गरेका थिए । जसमा पर्यटन मन्त्रालयको जिम्मेवारी यसअघिका स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका भानुभक्त ढकाललाई प्रदान गरिएको थियो जसले गर्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको क्षेत्रका कामहरु अघि बढाउन समस्या नहुने बताइएको छ । मन्त्रालयका एक अधिकारीले मन्त्री नियुक्त भइसकेको हुँदा मन्त्रालयअन्तर्गत गरिने प्रशासनिक, आर्थिक तथा भौतिकलगायतका काममा बाधा नहुने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया