Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठनेपालमाथिल्लो तामाकोशीको काम ‘एक्सपान्सन जोइन्ट’मा पुगेर रोकियो

माथिल्लो तामाकोशीको काम ‘एक्सपान्सन जोइन्ट’मा पुगेर रोकियो


दोलखा ।
दोलखाको उत्तरी क्षेत्र बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन अवस्थामा रहेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको काम एक्सपान्सन जोइन्टमा पुगेर रोकिएको छ । आयोजनाकै जटिल मानिएको तीन सय १० मिटरको माथिल्लो र तीन सय ७३ मिटरको तल्लो भर्टिकल सुरुङबीचको एक मिटर तेर्सो भागमा जडान हुने एक्सपान्सन जोइन्ट पाइप बन्न नसक्दा आयोजनाको काम रोकिएको हो । दुवै भर्टिकल स्याफ्टमा पेनस्टक पाइप राख्ने काम केही महिनाअघि सम्पन्न भए पनि एक्सप्यान्सन जोइन्टको पाइप बन्न नसक्दा आयोजनापछि धकेलिएको छ ।

आयोजनाको लट–२ का भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे इन्जिनियरिङले डिजाइनअनुसारको एक्सपान्सन जोइन्ट पाइप बनाएर पठाउन नसक्दा काम रोकिएको माथिल्लो तामाकोसी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । उनले भने, ‘पेनस्टक पाइप जडान सकिएसँगै जडान गर्नुपर्ने एक्सपान्सन जोइन्टको पाइप हालसम्म बनाएर ल्याउन सकेको छैन । ठेकेदार कम्पनीले हालको डिजाइनअनुसारको एक्सपान्सन जोइन्ट पाइप बनाउन नसकेपछि परामर्शदाता कम्पनीसँग समन्वय गरी डिजाइन संशोधन गर्न थालेको छ ।’

कोभिड–१९ सुरु भएर चैतदेखि विदेशमै रहेका जेभी नोरकन्सल्ट यास–लहमेयर इन्टरनेसनल जीएमबीएचका प्रतिनिधिसँग डिजाइन संशोधनका सम्पूर्ण काम अनलाइनबाट भइरहेको उल्लेख गर्दै उनले अब नयाँ डिजाइनको एक्सप्यान्सन जोइन्ट पाइप बनाएर काम सुरु गरिने बताए । सोही ठाउँमा प्रयोग हुने डिस्म्यान्टेबल बक्स बनाएर ल्याउने क्रममा रहेको छ ।

हाल लट–२ अन्तर्गतकै आयोजनाको भैँसे अडिट प्लग कार्य, माथिल्लो पेनस्टक अडिट प्लग कार्य, सर्ज सुरुङ अडिट प्लग कार्य, माथिल्लो पेन्स्टक स्याफ्टको बेन्ड राख्ने कार्य र तल्लो तेर्सो पेनस्टको काम बाँकी रहेको र उक्त कार्यक्षेत्रमा काम भइरहेको छ । ठेकेदार कम्पनी टेक्स म्याकोले पेनस्टक पाइप, गेटलगायतका हाइड्रो मेकानिकल उपकरणको उत्पादन, ढुवानी र जडान कार्य अत्यन्तै ढिला गर्दै आएकाले समग्र आयोजनाको निर्माण कार्य ढिलाइ हुनपुगेको छ ।

आयोजनाको बाँध, इन्टेक, मुख्य सुरुङ, सर्ज स्याफ्ट, पेनस्टक स्याफ्ट, भूमिगत विद्युत् गृहको सिभिल र हाइड्रो मेकानिकल कार्यको निर्माणसँगै भूमिगत विद्युत् गृहमा टर्वाइन, जेनेरेटर, ट्रान्सर्फमरलगायतका सबै उपकरणको जडान कार्य सम्पन्न भइसकेको छ । गोंगरदेखि रामेछापको देवीटारसम्मको ४७ किलोमिटर लामो प्रसारण लाइन निर्माणकार्य सम्पन्न भएको र देवीटारमा निर्माणाधीन २२०/१३२ केभी क्षमताको सबस्टेसनमा उपकरण जडान कार्य अन्तिम चरणमा पुगेको छ ।

डिजाइन मोडिफिकेसन गरेपछि एक्सप्यान्सन जोइन्ट पाइप जडानसहित हाल भइरहेको सम्पूर्ण काम माघभरमा सम्पन्न गरिसक्ने आयोजनाका प्रवक्ता न्यौपानेले बताए । फागुनदेखि सुरुङमा पानी पठाउने उल्लेख गर्दै उनले चैत मसान्तसम्म आयोजनाको छमध्ये एक युनिट सञ्चालन गरी ७६ मेगावाट विद्युत् उत्पादन थाल्ने बताए । ठेकेदार कम्पनीको ढिलाइ, भूकम्प, नाकाबन्दी, कोभिड, अमेरिकी डलरको मूल्य वृद्धि, बजार मूल्य र समय लम्बिँदा हुने ब्याज, प्रशासनिक खर्चलगायतका कारण ब्याजसहित ४९ अर्ब रुपियाँको अनुमानित लागत रहेको आयोजनाको लागत बढेर ब्याजसहित ७२ अर्ब रुपियाँ पुग्ने अनुमान छ ।


क्याटेगोरी : नेपाल

तपाईको प्रतिक्रिया