Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउखु किसान फेरि रित्तो हात घर फिर्ता

उखु किसान फेरि रित्तो हात घर फिर्ता

बक्यौता रकम २१ दिनमा उपलब्ध गराउने सहमति, बक्यौता छानबिन गर्ने समय भने १ सय २० दिन


काठमाडौं ।
काठमाडौंमा आन्दोलनरत उखु किसानहरु तत्काल चिनी उद्योगबाट आफ्नो बक्यौता रकम लिनेसम्बन्धी अस्पष्ट सम्झौता गरी घर फर्किएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच सोमबार चार बुँदे सहमति भएको छ । सहमतिपछि किसानहरुको जारी आन्दोलन स्थगित भएको छ ।

उद्योग मन्त्रालयसँग किसानहरुले सहमति गरे पनि उनीहरुको बक्यौता रकम चिनी उद्योगबाट तत्काल उठ्ने सम्भावना न्यून देखिएको छ । किसान र मन्त्रालयको सहमतिको १ नम्बर बुँदामा चिनी उद्योगीले उखु किसानलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम सम्बन्धित उद्योगहरुबाट सहमति भएको मितिले अर्थात् पुस १३ गतेको २१ दिनभित्र उपलबध गराउने व्यवस्था उद्योग मन्त्रालयले गर्ने भनिएको छ । तर, त्यसलाई खण्डन गर्दै सहमतिपत्रको बुँदा नम्बर २.२ (क) मा बक्यौता भुक्तानी हुनुपर्ने रकमउपर उद्योगी र उखु किसानको दाबी फरक–फरक भएको हुँदा यस सम्बन्धमा यथार्थ एकीन गरी भुक्तानीका सम्बन्धमा सुझाव पेश गर्न प्राविधिक समितिलाई कार्यादेश दिइएको उल्लेख गरिएको छ । प्राविधिक समितिको कार्यकाल भने एक सय १० दिनको हुने उल्लेख गरिएको छ ।

‘उखु किसान र चिनी उद्योगसँग सम्बन्धित अन्य समस्याका बारेमा अध्ययन गरी एक सय २० दिनभित्र सुझाव पेश गर्न संयुक्त प्राविधिक समिति गठन गर्ने’, सहमतिको बुँदा नम्बर २ मा उल्लेख गरिएको छ । जब प्राविधिक समितिले नै एक सय २० दिन लगाउँछ भने सहमति भएको २१ दिनमा किसानहरुले चिनी उद्योगीसँग कसरी बक्यौता रकम पाउँछन् यसको उत्तर न मन्त्रालयले दिनसकेको छ न त किसानहरुले नै ।

सरकारले उखु किसानको बक्यौता भुक्तानी नगर्ने चिनी उद्योगीलाई सम्पत्ति रोक्का राख्ने, नगद कारोबार रोक्का राख्ने र थुनुवा पुर्जी जारी गर्नेलगायतका कारबाही प्रक्रिया सुरु गरेको जानकारी दिएको छ । तर, बक्यौता रकम नतिर्ने चिनी उद्योगीहरुले आफ्नो अन्य व्यवसाय निर्बाध रुपमा सञ्चालन गरिरहेका छन् । गत वर्ष पनि उखु किसानहरु यस्तै अपारदर्शी र अस्पष्ट सम्झौता गरेर घर फर्किएका थिए । यस पटक पनि यस्तै भएपछि किसानहरुले तत्काल आफ्नो उखुको मूल्य पाउन समस्या देखिएको छ ।

मन्त्रालयले उखु किसान र चिनी उद्योगको समस्या समाधान गर्नेबारे गठन गर्ने संयुक्त प्राविधिक समितिमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, गृह मन्त्रालय, कृषि तथा पशुपन्छी मन्त्रालय, अर्थ मन्त्रालयका एक/एक जना प्रतिनिधि, उखु किसानका प्रतिनिधिहरु तीन जना, चिनी उत्पादक संघका एक जना र उखु किसान संघर्ष समितिका दुई जना रहनेछन् । उखु किसानका प्रतिनिधिहरु भने पूर्व, मध्य र पश्चिम क्षेत्रका एक/एक जना गरी तीन जना हुनेछन् ।

विगतका वर्षमा नै सरकारले उखु किसानको उखुको समर्थन मूल्य निर्धारण गरे पनि अहिलेसम्म चिनी उद्योगीले सो मूल्यमा उखु खरिद गरेका छैनन् । नेपालमा चिनी उद्योगी र चिनी व्यापारी एउटै व्यक्ति हुने भएको कारण उनीहरुले चोरीको बाटोबाट ल्याएको चिनी नेपालमा उत्पादन भएको भन्दै बिक्री वितरण गर्दै आएका छन् । नेपालमा उत्पादित चिनी भनेर प्याकिङ्ग गर्दै बिक्री गर्दा उनीहरुले राज्यबाट सहुलियत पनि लिने र किसानको उखु पनि खरिद गरेका छैनन् । चिनी र चोरीको बाटोबाट ल्याएपछि उनीहरुलाई उखुको जरुरत नपरेको हो ।

यस्तै, उखु किसानहरुले सरकारले दिने भनेको अनुदान पनि पाएका छैनन् । प्राविधिक समितिले यो विषयमा पनि छानबिन गर्ने भएको छ । प्राविधिक समितिले उखु तथा चिनीको उत्पादन, बजारीकरण, रकम भुक्तानी र अनुदान वितरण एवं सुख्खा (जुन्ना) कट्टीलगायतका विषयमा उखु किसान तथा चिनी उद्योगीले भोगिरहेका समस्याका विषयहरुमा अध्ययन गरी अल्पकालीन तथा दीर्घकालीन सुझाव पेश गर्ने अधिकार पाएको छ ।

यस्तै, समितिले उखु किसानले चिनी मिलमा उखु बुझाई सकेपछि चिनी मिलले भुक्तानी गर्ने समयावधि किटान गर्ने सम्बन्धमा अध्ययन गरी सुझाव पेश गर्नेछ । यो विषयमा पनि किसान र चिनी मिल सञ्चालकबीच विवाद छ । सम्झौतापत्रको बुँदा नम्बर ४ मा उखु किसानले काठमाडौंमा हाल गरिरहेको धर्ना तत्काल स्थगन गर्ने उल्लेख गरिएको छ ।

सहमतिपत्रमा उद्योग मन्त्रालयका सहसचिव नारायण रेग्मी तथा उखु किसानको तर्फबाट उखु किसान संघर्ष समितिका अध्यक्ष रामस्वार्थ रायले हस्ताक्षर गरेका छन् । सम्झौता गर्दा गृह मन्त्रालयका प्रतिनिधि, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रतिनिधिको साथै संविधानसभा सदस्य हरि उप्रेती र उखु किसानहरु गोपाल यादव, हरिश्याम राय, सञ्जिव सिंह, चन्द्रमोहन चौधरी, रामविलास महतो, गगनदेव राय यादवले हस्ताक्षर गरेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया