विश्वका १० सर्वाधिक धनी व्यवसायी जसले कोरोना महामारीमा पनि गुमाउनुपरेन
काठमाडौं ।
सन् २०१९ को डिसेम्बरबाट चीनको बुहान सहरमा नयाँ रोग फैलियो । सुरुमा यो रोग कहाँ कसरी सरिरहेको छ र कसरी थाहा पाउने भन्ने अवस्था नै रहेन । भकाभक मानिसहरु मर्नथाले । चीन सरकारले हप्तौँपछि कोरोना भाइरसको संक्रमण फैलिरहेको पत्ता लगायो र लकडाउन गरेर यसको नियन्त्रण थाल्यो । सारा व्यवसाय, यातायात ठप्पप्रायः पारियो । महिनौँसम्म यो क्रम जारी रह्यो । त्यसपछि कोरोना एकपछि अर्को देशमा फैलियो । चीनभन्दा अरु देशहरुमा व्यापक मानिसहरु मर्नथालेपछि विश्वले नै लकडाउन गर्नुको विकल्प रहेन । चीनले अवलम्बन गरेका कुराहरु विश्वभर लागू भए ।
लकडाउनको विश्वव्यापीकरण सुरु भयो । पूरै विश्व ठप्प भयो । हवाइ यातायात चलेनन्, पसल र सुपरमार्केटसम्म बन्द भए या दिनमा १/२ पटक मात्रै चले । धेरै मानिसको रोजगारी गुम्यो, कम्पनीहरु घाटामा गए । तर यी सबैका बाबजुद प्राविधिकलगायत केही क्षेत्रका अर्बपतिका लागि भने कोरोना महामारी अवसरजस्तै बनेको उनीहरुले यो समयमा आर्जन गरेको अर्बौँ डलर सम्पत्तिले देखाएको छ ।
यो महामारीमा विश्वका धनी मानिसहरुले कुल २३ प्रतिशत अर्थात् १३ खर्ब अमेरिकी डलर सम्पत्ति जोडेका छन् । यो वर्ष अर्थात् सन् २०२० को ब्लुमबर्ग अर्बपति सूचीमा विश्वका सर्वाधिक १० धनीमा अमेजनका जेफ बेजोस, टेस्लाका एलन मस्क, माइक्रोसफ्टका बिल गेट्स, फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नो, फेसबुकका मार्क जुकरबर्ग, बर्कशायर हाथवेका वारेन बफेट, गुगलका ल्यारी पेज, ओरेकलका ल्यारी एलिसन, माइक्रोसफ्टका पूर्वसीईओ स्टिभ बाल्मर, अल्फाबेटका सर्जे ब्रिन रहेका छन् ।
अमेजनका मालिक जेफ बेजोसले कम्पनीमा ११ प्रतिशत सेयर स्वामित्व लिएका छन् । सन् २०१९ मा पत्नी म्याकेन्जी बेजोससँग डिभोर्स हुनुअघि उनले १६ प्रतिशत सेयर स्वामित्व लिएका थिए । तर डिभोर्सपछि चार प्रतिशत सेयर स्वामित्व म्याकेन्जीले लिइन् । यो वर्षमात्रै बेजोसको सम्पत्ति ७२ अर्ब ४० करोड डलर थपिएको थियो । उनीसँग १ खर्ब ८७ अर्ब अमेरिकी डलर सम्पत्ति छ । अमेजन १० खर्ब डलर मूल्यवान् कम्पनीको आँकडा पार गर्ने चारमध्ये एउटा हो । अन्य तीनवटामा माइक्रोसफ्ट, एप्पल र गुगल छन् ।
विश्वकै दोस्रो सर्वाधिक धनीमा भने टेस्ला इन्कका सहसंस्थापक एलन मस्क छन् । उनले बिल गेट्सलाई पछि पारेर दोस्रो धनी बनेका हुन् । ४९ वर्षे मस्कको कुल सम्पत्ति १ खर्ब ६७ अर्ब अमेरिकी डलर पुगेको छ । मस्कले यो वर्ष ३५ नम्बरबाट दोस्रो नम्बर ओगट्न १० महिनामै सफल भए । टेस्लाको सेयर मूल्य बढेपछि उनले यो सफलता पाएका हुन् । यही वर्ष टेस्ला ५ खर्ब डलर मूल्यवान् कम्पनी बनेको थियो । मस्कको कुल सम्पत्तिको तीन भाग टेस्लाकै सेयरसँग सम्बन्धित छ । यसबाहेक उनीसँग स्पेस एक्सको पनि सेयर छ ।
माइक्रोसफ्ट कर्पका सहसंस्थापक बिल गेट्स भने मस्कपछि अर्थात् विश्वकै तेस्रो धनी हुन् । उनले दोस्रो स्थान गुमाएको यो दोस्रोपटक हो । यसअघि विगतमा उनी पहिलो स्थानमै रहँदै आएका थिए तर सन् २०१७ मा जेफ बेजोसले पहिलो स्थान लिएका थिए । अहिले गेट्सको सम्पत्ति १ खर्ब ३१ अर्ब डलर रहेको छ ।
फ्रान्सेली विलासी सामानका व्यापारी बर्नार्ड आर्नो चौथो स्थानमा छन् । यो वर्ष महामारीको सुरुतिर उनको सम्पत्ति घटे पनि व्यापार लयमा फर्किसकेको छ । बितेका महिनाहरुमा उनको आम्दानी पुनः फर्किएको छ । उनीसँग १ खर्ब १० अर्ब डलर सम्पत्ति छ । फेसबुकका सहसंस्थापक जुकरबर्गलाई सय अर्ब पार गर्ने कान्छा धनी मानिन्छ । उनीसँग १ खर्ब ५ अर्ब सम्पत्ति छ । उनी विश्वको सर्वाधिक धनीमा पाँचौँ नम्बरमा परेका छन् ।
यसबाहेक छैठौँ धनी वारेन बफेट छन् । पछिल्लो समय उनले ४ अर्ब डलर गुमाए पनि ८५ अर्ब २० करोड डलर सम्पत्तिका मालिक छन् । महामारीका कारण उनले धेरै कम्पनीको सेयर बेच्नुपरेको थियो । उनले अमेरिकी एयरलाइनहरुमा लगानी गरेका छन् । सातौँ धनी सूचीमा रहेका गुगलका सहसंस्थापक ल्यारी पेजसँग ८१ अर्ब ४० करोड अमेरिकी डलर छ । उनी अल्फाबेटका पनि सहसंस्थापक हुन् । अल्फाबेटको सीईओबाट सन् २०१९ मा राजीनामा दिए पनि बोर्ड मेम्बरमा भने पेज यथावत् छन् ।
सफ्टवेयर कम्पनी ओरेकलका ल्यारी एलिसन ब्लुमबर्गको अर्बपति सूचीमा आठौँ नम्बरमा छन् । उनीसँग ७९ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ । त्यस्तै नवौँ नम्बरमा रहेका माइक्रोसफ्टकै पूर्वसीईओ स्टिभ बाल्मरसँग ७९ अर्ब १० करोड अमेरिकी डलर सम्पत्ति रहेको छ । त्यस्तै दशौँ स्थानमा रहेका सर्जे ब्रिनको सम्पत्ति भने ७८ अर्ब ८० करोड डलर रहेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
- जलवायु वित्त उपलब्ध गराउने भूमिकामा ईयूले नेतृत्व लिने
- अमेरिकामा हजारौं सरकारी कर्मचारीको जागिर खोसिने
- प्रदूषण बढेपछि नयाँदिल्लीका विद्यालय बन्द
- खाद्यवस्तुको मूल्यवृद्धि उच्च: राष्ट्र बैंक प्रतिवेदन
- डोटी सवारी दुर्घटना: क्षतिपूर्तिको माग गर्दै के आई सिंह राजमार्ग अवरुद्ध
- महासंघमा साना तथा मझौला उद्यम विकास केन्द्र स्थापना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया