काठमाडौं ।
वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुले अबदेखि अनलाइनबाटै श्रम स्वीकृति नवीकरण गर्न पाउने भएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबारदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई उक्त सेवा प्रदान गर्नलागेको हो ।
अंग्रेजी नयाँ वर्षको अवसर पारेर अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण सेवा प्रवाह गर्नलागेको विभागले जनाएको छ । योसँगै अब वैदेशिक रोजगारीको क्रममा विभिन्न मुलुकमा रहेका नेपाली श्रमिकहरु श्रम स्वीकृति नवीकरण गर्न नेपाल नै आउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
विभागले अनलाइन प्रणाली (एफईआईएमएस)बाट श्रम स्वीकृति लिनसकेका र हाल पुनः श्रम स्वीकृति लिन चाहने वैदेशिक रोजगारीमा कार्यरत नेपाली नागरिकहरुको म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम भुक्तानी गरी अनलाइन माध्यमबाट नै श्रम स्वीकृतिको आवदेन दिई श्रम स्वीकृति प्राप्त गर्न सकिने गरी अनलाइन प्रणालीबाट पुनः श्रम स्वीकृतिको कार्य शुक्रबारदेखि सुचारु गरेको बताएको छ ।
विभागको यो कार्यबाट विदेशस्थित श्रमिकहरुले एकपटक विभागको अनलाइन प्रणालीबाट बायोमेट्रिक वा औँठा छाप प्रिन्ट गरेपछि पुनः श्रम स्वीकृति सेवा लिन सहजै सक्नेछन् । अनलाइनमार्फत पुनः श्रम स्वीकृतिको लागि सेवा प्राप्त गर्न वैदेशिक रोजगार विभागको वेबसाइट (डोफे डट जीओभी डट एनपी)को अनलाइन श्रम स्वीकृतिमार्फत फारम भर्न सक्नेछन् । फारम भरिसकेपछि शाखा छान्ने बेलामा अनलाइनको शाखा छान्नुपर्ने हुन्छ ।
विभागका अनुसार श्रमिक अर्थात् आवेदकले श्रम स्वीकृतिका क्रममा कुनै कारणले आवेदन अस्वीकृत भएमा सोको कारणसहितको एसएमएस आवदेकको मोबाइल नम्बर र आवेदन गर्दाको नाममा सूचना जाने हुँदा आफ्नो मोबाइल नम्बर र इमेल सही भर्नुपर्नेछ भने श्रम स्वीकृतिको लागि आवेदन गर्दाको नाम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।
श्रम स्वीकृति प्राप्त भएपछि आवेदकको फारम भर्दाको अनलाइन श्रम स्वीकृतिको खाता र इमेल ठेगाना दुवैमा श्रम स्वीकृतिको निस्सा प्राप्त हुने हुँदा आवेदक आफैंले आवश्यकता अनुसार प्रिन्ट गर्न सक्नेछन् भने म्यादी जीवन बीमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत समेत भुक्तानी गर्न सकिनेछ । अनलाइन भुक्तानी गर्दा कुनै प्रकारको थप शुल्क लाग्दैन । यस्तै विभागका प्रवक्ता टीकामणि नेउपानेले अनलाइन सेवा प्राप्त गर्न कार्यालय उपस्थित भइरहनु नपर्ने हुँदा यसबाट सेवाग्राहीहरुलाई थप सहज हुने अपेक्षा गरेको बताए ।
एकपटको श्रमः स्वीकृतिको अवधि दुई वर्षको हुने हुँदा श्रमिकहरुले विदेशमा काममा निरन्तरता दिन श्रम स्वीकृति नवीकरण अनिवार्य छ । ‘नेपालीहरु दुई वर्षभन्दा बढी विदेशमा काम गर्न बस्ने हुँदा उनीहरुलाई श्रम स्वीकृति नवीकरण अनिवार्यजस्तो छ’, विभागका अधिकारीले भने, ‘त्यसैले गर्दा अनलाइन भएसँगै अब विदेशमा रहेका ९० प्रतिशतभन्दा बढी श्रमिकहरुको समस्या समाधान भएको छ ।’
यस्तै अर्कोतर्फ श्रम स्वीकृति नवीकरण नगरेको खण्डमा भने उनीहरुले प्राप्त गर्ने कल्याणकारी सुविधाबाट वञ्चित हुनुका साथै विदेशमा कम्पनी परिवर्तन गर्दा समस्या हुने वैदेशिक रोजगार बोर्डले जनाएको छ । ‘पुनः श्रम स्वीकृति नलिई विदेशमा बसेको खण्डमा कुनै अप्ठ्यारो परेको खण्डमा हामीले केही गर्नसक्ने अवस्था हुँदैन’, बोर्डका सूचना अधिकारी दीनबन्धु सुवेदीले भने, ‘त्यसैले गर्दा श्रम स्वीकृति भएमा हामीले प्रदान गर्दै आएको सुविधा प्रदान गर्न कुनै असहज हुनेछैन ।’
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार नियमावली २०७६ लई पाँचौँ पटक संशोधन गर्दै नेपाली श्रमिकलाई नेपाली दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्नसक्ने व्यवस्था गरे पनि यसअघि त्यसको कार्यान्वयन हुनसकेको थिएन । यसरी अनलाइनमार्फत श्रम स्वीकृति नवीकरण हुने भएपछि श्रमिकहरुको पुनः श्रम स्वीकृति लिन मुलुक आउनुपर्ने बाध्यकारी व्यवस्थाबाट छुट मिलेको छ । योसँगै श्रमिकहरुलाई काठमाडौंलगायत मुलुकका विभिन्न भाग अर्थात् पोखरा, धनगढी, विराटनगर, धनुषा, र सुर्खेतलगायतका श्रम कार्यालयमा धाउनुपर्ने छैन ।
गत आर्थिक वर्षमा मात्र साढे दुई लाखभन्दा बढी श्रमिकले पुनः श्रम स्वीकृति लिएको पाइन्छ । पुनः श्रम स्वीकृति लिनेमा मलेसिया र खाडीका मुलुकका श्रमिकहरु बढी छन् । साउदी अरेबिया, कतार, संयुक्त अरब इमिरेट्स, कुवेतलगायतका खाडी मुलुकमा ठूलो संख्यामा नेपाली कामदारहरु कामका लागि जाने गरेको पाइन्छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिन रक्षा मन्त्रीको जोड
- विद्युत् विकासका लागि जर्मनीले एक अर्ब ४६ करोड अनुदान दिने
- बाढीपहिरोबाट ऊर्जा र सिँचाइ क्षेत्रमा १३ अर्ब बढीको क्षति
- शान्ति प्रक्रियालाई शीघ्र टुङ्ग्याउनुपर्नेमा आयोगको जोड
- अष्ट्रेलियाका राजदूत र प्रधानमन्त्री ओलीबिच शिष्टाचार भेट
- विश्व खाद्य संगठनका प्रतिनिधि र ऊर्जामन्त्री खड्काबिच भेटवार्ता
- भारतीय सेयरबजारमा सात दिनदेखि गिरावट
- २७ सय दुई बिन्दुमा खुम्चियो शेयर
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- चिया पसल पनि कम्पनी ?
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया