Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लग‘पठाओ’ पेसाको कथा र व्यथा

‘पठाओ’ पेसाको कथा र व्यथा


काठमाडौँ ।
म दिनेश राना । प्लस टु सकेर घरमा फुर्सदिलो थिएँ । केही काम थिएन । उसो त लकडाउन, म जस्ता अरु थुप्रै केटाहरू पनि हुँदाखादाको जागिर गुमाएर थचिएका थिए । जागिर पाउनेभन्दा गुमाउनेको भिड थियो । लकडाउनको सकस । घर गोर्खा बिरिनचोक । घर जाऊँ भने पनि बाबुआमाको कचकच । त्यति पढिस् भो अब जागिर खोज बेइलमी बस्न हुन्न भन्छन् । जागिर खोजेर पाइने भए म रातदिन कारखाना कारखाना अफिस अफिस चाहार्थेँ हुँला ।

कहिलेकाहीँ त कुनै रेस्टुरेन्टमा गएर भाडा माझ्ने काम पाए पनि गर्थेँ भनेजस्तो लाग्छ । एक ठाउँमा पाएको पनि थिएँ । तर बिचराको जागिर खोसेर म किन काम गर्नुजस्तो लाग्यो । कान्तिपुरको वर्गीकृत विज्ञापन हे-यो । एप्लाई ग-यो । बिसौँ ठाउँमा फार्म भर्दा दुई महिना जतिको त तलब सकिसक्यो यदि जागिर पाको भएनि । अब ब्याचलर पढ्नलाई आफैँले जागिर खोज्नु बाध्यता थियो । दुई बैनीहरूलाई पढाउनु थियो ।

उनीहरूलाई बाले तरकारी खेती गरेर जेनतेन पु-याएका थिए । बुबा आफैँ त किड्निको बिरामी । गाह्रो काम गर्न हुन्नथ्यो । तैपनि अहोरात्र खटिनुभएको छ हाम्रो लागि । आमालाई पनि के भन्नु बरा । सारा बर्खा झरी बादलमा रुझेर अर्काको मेलापात भारो पर्म गरिरहनुभएको छ । बालाई पनि सघाउनु प-यो नि । आमालाई फोन गर्दा जहिल्यै कहिले बारीमा छु कहिले मेलामा छु कहिले भैंसी दुँदै छु कहिले पँधेरोमा छु भन्दा आँखा रसाएर आउँछ ।

म ठूलो भैसकें । तैपनि कर्तव्य निभाउन सकिरहेको छैन । यो उमेरमा त बाले बिहे गरेर घरजग्गा जोडिसक्नुभएको थियो । म जाबो नाथे एउटा मोटरसाइकल चढ्ने रहर पनि रहरमै रह्यो । एक जना साथी थियो प्रेमध्वज । पारी भचेक गाउँको । हामी सँगै कलेज पढेको । ऊ पनि बेरोजगार थियो, बरा के भन्नु । १५ दिन भो गाउँमा छु भन्थ्यो । उतै छ । मलाई नि घर जाऊँजाऊँ लागेको त छ । आ फेरि उही त हो । जागिर नपाए बिहे गर पनि भन्न थालेका छन् बाले । आँबु खैरिनीकी एउटा व्यापारीको छोरीसँग । कुरो ग-या छन् रे । केटीले मलाई देख्याछिन् रे । खै कसरी देखिन् ? अचम्म लाइराछ । हुनसक्छ बसमा गोर्खा आउँदाजाँदा देखिन् । अहिले आफूले आफैँलाई पाल्न सक्ने स्थिति छैन । स्वास्नी कसरी फाल्नु । आर्काकी छोरी ल्याएर दुःख दिनु झन् अपराध हो नि । बैँस त कुकुरलाई आउँछ । बेरोजगारीले के गर्नु ?

एकदिन अचानक फोन आयो । प्रेमध्वजको,
ओइ तँ कहाँ हो ?
म काठमान्डु
गोर्खा आइनस् ?
आइनँ । जागिर पाइन्छ कि भनेर बस्या ! घर आयो कि बिहे गर भनेर कचकच सुरु हुन्छ ।
गर्देन्त झन् मोज
ह्या ! केको मोज, जागिर पाएसी बिहे गर्नी ।
पाउँछस् गधा जागिर ! तेरो ससुरो जियम छन् र ?
कहिले आउने ओइ यता ?
सुन्न
भन्त
एउटा काम गर्नी तँ र म मिलेर ?
गर्नी के काम भन्त ?
जे काम भएनि त्यतै आएर भन्छु
भन्न गधा
बाउले व्यापार गर्न भनेर पचास हजार दिने भाछन् के !
पचास हजारले व्यापार हुन्छ त गधा ल्वाठ सुँगुर ?
हुन्छ के बुँगुुर तलाई के थाहा ?
अनि के हो भन्नत !
पचास हजार डिपोजिट राखेर एउटा/एउटा बाइक किन्ने
अनि ?
बाँकी पैसाको साउब्याज कमाएर तिर्ने क्या बुँगुरे
बाइक किनेर आम्दानी हुन्छ त सुँगुरे !
हुन्छ क्या बुँगुर ! ‘पठाओ’ भन्ने संस्थामा दर्ता गर्नी ल उसो भए छिटो आइज काठमान्डु
ल राख । पर्सि आउँछु । उतै आएसी गफ गरुँला ।

हिजो बेलुकी प्रेमध्वज आयो । नभन्दै उसले पचास हजार ल्याको रेछ । भोलिपल्ट हामी बाइक सोरुममा गर्यौं । उसले उतैबाट कुरा मिलाइसकेको रेछ । सोरुमबाट नयाँ बाइक निकाल्यौ दुवैले । मसँग सुको थिएन । तैपनि प्रेमध्वजको सहयोगले काम भयो । उसले उता कलंकीको कोठा छोडेर मेरोमै आयो । मेरोमा बाइक राख्ने ठाउँ पनि थियो ।

घरबेटीलाई भाडा नतिरेको तीन महिना भइसकेको थियो । अर्को मान्छे पनि थपिएसी घरबेटीले सोधपुछ ग-यो । र अचम्मित पनि भयो । दुईटा नयाँ बाइक भ-याङमुनि पार्क गरेको देखेर । मैले आफ्नो कुरा सबै भनेँ । ऊ पनि खुसी भयो । दुईवटा बाइक ‘पठाओ’मा दर्ता गरियो । दर्ता गरेको भोलिपल्टबाट काम पाइयो । कमाइ हुन थाल्यो । म खुसी हुन थालेँ । प्रेमध्वजले एउटा ठूलो गुन लायो मेरो जिन्दगीमा । घरमा आमालाई जागिर पाएँ भनेँ । आमाले सोधपुछ गर्नुभएन कहाँ कस्तो जागिर पाइस् भनेर । र मैले पनि सबै कुरो भनिन् । धन्न ‘ल अब जागिरे भइस् बिहे गर्न आइजचैँ भन्नुभएन ।

अब अलिक फुर्ति आउन थाल्यो । भोकले मरिन्न कि अबचैँ भन्ने लाग्न थाल्यो । काम भनेको चिज कस्तो पुजनीय हुँदोरहेछ भन्ने कुरा महसुस हुन थाल्यो । पहिलो दिनमै तीन हजार कमाएछु । छ सय रुपैयाँचैँ पठाओ कम्पनीलाई कमिसन तिरेँ । मेरो भागमा चौबीस सय प-यो । महिना बित्यो । बाइकको किस्ता तिरियो । घरमा खर्च पठाएँ । बाबुआमा अनि बैनीहरू खुसी भए । आफूलाई नयाँ लुगा हालें । कमाइ भएपछि अलिक हिरो पनि हुन मन लाग्दोरेछ । उसै त मलाई सबैले हिरोजस्तै भन्छन् । राम्रो जिउडालको सलक्क परेको छु । यो उमेरमा पनि यतिको हिस्सी नपरे कहिले हुनु त भन्थेँ आफैँलाई । प्रेमध्वज पनि हिरो हुन थाल्यो । ऊ अझै मभन्दा धेरै कमाउन सक्छ ।

पठाओमा काम गर्न थालेपछि उपत्यकाको गल्लीगल्ली थाहा हुन थाल्यो । पछि मोबाइलमा गुगलम्याप हेरेर यात्रुलाई लोकेसनसम्म पु-याउन थालियो । रमाइलो लाग्न थाल्यो आफ्नो पेसा । हिजोको बेरोजगार दिनहरू सम्झिँदा नि कस्तो कहाली लागेर आउँछ । जतासुकै भनसुन लाग्ने । आफ्ना मान्छे ठूलो पोस्टमा नहुनेले नेपालमा कहिले जागिर पाउँदैन । त्यसैले पो विवश रेछन् नेपाली युवाहरू खाडी मुलुकमा जान । काम गरेको अनुभव कसरी दिनु जब कि बेरोजगारीले काम गर्ने मौका नै पाउँदैन भने । कुन्नि के–के के–के । अचम्म छ हाम्रो जागिरे व्यवस्थापन ।

आज साथीले गुन लायो । उसको यो गुन कहिले तिरुँला खै ! एक्कासि बजेको गाडीको कर्कसो हरनले तर्सिएँ । साइड लागेँ ।
अनेक अनेक यात्रु भेटिन्छन् । कोही दयावान भेटिन्छन् । कोही कन्जुस भेटिन्छन् । कोही असल भेटिन्छन् कोही खराब पनि भेटिन्छन् । भेट्ने र छुट्ने यो यात्रा चलिरह्यो निरन्तर करिब दुई महिना । म यो पेसामा रमाउन थालें । कतिबेला कहाँ र कुन लोकेसनमा यात्रु भेटिन्छन् कुरेर बस्नुपर्ने हुन्छ ।

पठाओ पेसा सहज सजिलो र रोमाञ्चक पेसा हो । खासै त्यस्तो दुःख पनि हुँदैन । अल्छी लागेको बेलामा काम नगरुँ भन्दा नि हुन्छ । मोबाइलको डाटा अफ गरेसी सक्किगो । जसरी नि काम गर्नुपर्छ भन्ने पनि छैन । उपत्यकाभित्र मात्रै हो बाहिर जाने अनुमति हुन्न । यात्रुलाई पनि ठगिन्छु कि भन्ने चिन्ता हुँदैन । जति घन्टा काम गर्छु भन्दा पनि पाइन्छ । म अहिलेसम्म त्यस्तो ठगिएको त छैन तर एक साँझचैँ ठगिएँ । ठमेलदेखि भक्तपुर सल्लाघारी पु¥याउनुथ्यो एउटा अधबैंसे पुरुषलाई । हेर्दा पूरै जँड्या देखिन्थ्यो । क्याप लाको थ्यो । मुख पनि पूरा नदेखाउने । बोली लर्बरिएको थियो । बाइकमा राखिहालें झार्दिऊँ भने पनि रातभर चिसोमा मर्ला भन्ने त्रास । दुई हात कम्मरमा समात्न लगाएँ । च्याप्प समात्यो । तीनकुने पुगेपछि पाइन्टमै मुत्यो । मेरो पाइन्ट पनि भिज्यो । कस्तो गन्हाउने पिसाब ।

कतिवटा बियर पिएको दाइ भनेको ‘९ बोतल पिएँ भाइ ।’ मान्छे विद्वान हुन् । अंग्रेजी फरर पिएको बेलामा मात्रै हो कि !
बाटोभरि वाकवाक गरेर हैरान । धन्न रातीको समय थ्यो र पो नत्र बेज्जत । किन यस्तरी मात्तिने गरेर पिएको दाइ भनेको गाह्रो छ भाइ मलाई स्वास्नीको कारणले गर्दा म जँड्या भएँ रे ।

मैले भने रक्सी तपाईं पिउने अनि घरकी श्रीमतीलाई दोष ? सबै जाँड खानेहरूले श्रीमतीलाई नै दोष दिन्छन् होला है ? मेरो उत्तर सुनेर ती दाइ त बाइकबाट हामफाल्न पो खोजे र बकबकाउन थाले, ‘मलाई यही बाटोमा छोडेर जाऊ भाइ । म हनुमन्तेको पुलबाट फाल हालेर मर्छु । के भनु तिम्लाई आफ्नो कुरा निजी कुरा । अहिले म नभएको मौका छोपेर मेरी श्रीमती पनि उसको लभरसँग लठारिँदै होलि । त्यही भएर म पनि ठमेल गाको ।

ह्या यस्तासँग के वादविवाद गर्नु । घरको आगन पु¥याइदिए । त्यति राती १० बजे नभन्दै श्रीमती पनि घरमा रहिनछिन् । काम गर्ने दुई जना नोकरले गेट खोले । भित्र दुईटा कार पार्क गरिएको थियो । यति भव्य घर मैले त देखेकै पो रहेन्छु जिन्दगीमा । वरिपरि बगैँचा छन् । ठूलो छ कम्पाउन्ड । चारैतिर उज्यालो छ । ‘मै साहेब खोइ त ?’ गेट खोलेर अगाडि ठिंग उभिएका नोकरलाई सोधे । मैसाब दिउँसो चारै बजे निस्किनु भाको । दुवै नोकरको एकै आवाज थियो । बच्चाहरू दुवै अमेरिकामा रेछन् । यता बाबुआमाको हालत यस्तो । बसेर बियर पिऊ भाइ भन्दै थिए । मैले मानिनँ । पाँच हजार दिए । मैले भनेँ म बढी भाडा लिदिनँ । यस्तो चिसोमा आको छौ मलाई सही सुरक्षित ल्यायौ लिग बाबु भने ।

म निस्किएँ । कलंकी आइपुग्दा रातिको १२ बज्यो । फोन आयो बाइक रोकेँ । मेसेज आयो । त्रिभुवन विश्व विद्यालयको क्वाटरबाट एक जनालाई छोड्न जानुपर्ने भो । राति भएपछि लोकेसन दिन असजिलो मान्छन् ग्राहकले खोइ किन पो हो । बाइक फर्काए कलंकीबाट । क्वाटर पुगे । बाइकको बत्ती देखेपछि परैबाट दुई जना ढोकाबाट निस्किए । एउटी खाइलाग्दी महिला बाइकमा चढिनँ । मेरो कुममा समातिन तिनले कुनै धकै नमानिकन । हेर्दा निकै पढेलेखेकी जस्ती देखिन्थिन् । शरीरमा महँगो प्रफिमको बासना । तर मुखबाट भने ह्वीस्कीको गन्ध । पुरुषले लर्बरिएको स्वरमा हात हल्लाए । ती नकचरा प्रोफेसरले ती स्त्रीको गालामा लाजै नमानी फेरि झम्टेर चुम्बन गरे । मलाई असजिलो लाग्यो । रिसै उठ्यो । बाइक हुइक्याएँ । सोचें यो अवैध सम्बन्ध हो ।

वैध सम्बन्धमा स्त्री पुरुष यति मरिहत्ते हाल्दैनन् । तिनी केही बोलिननँ । चुपचापले बसिनँ । बाइकको गतिको हावाले उन्ले पिएको ह्वीस्कीको गन्ध ह्वात्तै मेरो मुखमा उडेर आइरहेको थियो । तल परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेपछि मैले सोधेँ
दिदी बाइक कता मोडूँ ?
दिदी होइन प्रोफेसर डाक्टर सुनिता थापा भन्नुस्
हस हामी कता जान्छौँ डाक्टर साहेब ?
दायाँ मोड्नुस्
हस्

बाइक अब चक्रपथमा ६० को गतिमा दौडिन थाल्यो । प्रोफेसर डाक्टर सुनिता थापालाई निकै चिसो भएछ । उनी मेरो जिउमा च्याप्पै समातेर टासिन आइनँ । मलाई असहज लाग्यो । केही बोल्न पनि धक लाग्यो । केही बोलूँ भने प्रोफेसर साहेबले थर्काउने पो हुन् कि जस्तो लाग्यो । केही बोलिनँ । बाइक यातायात कार्यालय आसपास पुग्न लाग्दा बल्ल तिनी बोल्न थालिन् भाइ तिमी मलाई कहिलेकाहीँ त्यहाँबाट पिकअप गर्न सक्छौ ? म राम्रो पैसा दिन्छु नि ।
हस् म आउँछु । खबर पाऊँ

नम्बर दिनुस्न भाइको । मैले नम्बर दिएँ । उनी खुसी भइन् । निकै धनाड्य देखिन्छिन् तिनी । फेरि पनि किन यति चिसोमा ‘पठाओ’को यात्रा होला है भनेर सोचे । आज तिनी निकै मुडमा देखिन्छिन् । अघिको प्यासेन्जरले पाइन्टमा पिसाब फेर्दा मेरो पनि पाइन्ट भिजेको थियो । उसैत रातिको चिसो त्यहाँमाथि रातिको हावा । डाक्टर थापा अहिले भने निकै काम्न थालिन् । बाइकको स्पिड अलिक कम गरे । नसाको कारण बोली अस्पष्ट र लर्बरिनु स्वाभाविक थियो तिनको । मैले केही सोधपुछ नगर्दा पनि तिनले आफ्नो निजी कुरा भनिन्ः
उहाँ अघिको मेरो राजा बोइफ्रेन्ड, उहाँ पनि प्रोफेसर डाक्टर
आज किन अबेरसम्म बस्नुभएको डाक्टर साहेब ?
आज शुक्रबार हामीले रमाइलो गरेको
अब पर्सि पनि यही ट्याममा आउनु है भाइ !
हस !

३० भन्दा माथिको स्पिडमा बाइक कुदाउन दिइनन् तिन्ले । आफ्नो पनि हातको औँला धेरै चिसो भयो । पन्जा लाएको थिइन् । अन्ततः बाइक त्यही घरमा गएर रोकियो जहाँ अघि मैले ती अदबैंसे पुरुषलाई छोडेको थिएँ । बाइक गेटमा पुगेपछि म अचम्मित भएँ । उनले मोबाइलमा फोन गरिन् । ढोकाबाट तिनै मनुष्यले चिहाएँ जसलाई अघि एक घन्टा मैले छोडेर गएको थिएँ ।

यो पटक भने त्यो भव्य घरभित्र छिरिन् । प्रोफेसर डाक्टर सुनिता थापाले मेरो लाग्दो भाडा ११ सय दिइन् । म फर्किएँ । रात चकमन्न थियो । खोइ किन पो अघिभन्दा अहिले त्यो घरको सौन्दर्य निभेजस्तो लाग्यो । मोबाइलमा प्रेमध्वजको फोन आइरहेको थियो । उठाइन् । दूरी लामो थियो । सितापाइला चोक पुग्न झन्डै पैतालीस मिनेट लाग्छ । खै म के–के सोच्न थालेछु । बिहे गरेर पनि के गर्नु स्वास्नीलाई अरुले खेलाउदोरेछन् । पुरुष त पुरुष भए लाजघिन तर नारी त धर्ती थिइन् नि किन फेरि तिनै नारी पनि पतित हुन्छिन् ? पुरुषमा कुन त्यस्तो जादुगिरी छ जसका कारण नारी सर्वांग हुन्छिन होला है ! कुन मोह मादले स्त्री लाज खोल्छिन् ? त्यो प्रोफेसर तिन्को राजा रे ! छि जँड्या प्रोफेसर ! त्यस्को पतलुंगको इँदार पनि खुलै थियो । राती कसले देख्छ र भनेर होला । लाज सक्किएका मनुवाहरू । कति हास्नु ! नकचरो ! मेरै अगाडि केटीलाई म्वाइ खाको । कमसेकम आर्काकी स्वास्नीलाई त नखेलाउनु नि हो ?

प्रोफेसर डाक्टर सुनिता थापा यत्रा विद्वान महोदयहरूको त यस्तो आचरणले हँुदोरहेछ अनि कसरी अग्रगती लिन्छ नेपाली समाजले । पढेलेखेकै मानिसहरूको यस्तो आनि बानी हुँदोरहेछ अनि अरु सामान्य मान्छे र अशिक्षित मान्छेको हालत के होला ! मलाई त कहाली लाग्यो । कति अभागी रेछन् ती प्रोफेसर सुनिता थापाको श्रीमान् । जसको विद्वान् श्रीमती अर्कै विद्वानसँग अवैध सम्बन्ध राख्दिरहिछन् । यस्तै यस्तै विद्वानहरूले बिगारेको नेपाली समाज अनि पो अनपढ मनुष्यहरूले राजनीति गरेर यिनै विद्वानमाथि घोडा चढ्दारहेछन् । सोच्दा सोच्दै कोठा पुगेको पत्तै भएन । प्रेमध्वज आइसकेको रेछ । ढोका ढक ढकाए । बिचरो जाडोमा भात पकाउँदै रेछ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया