Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण लागि पहल गरिदिन सरकारलाई आग्रह

निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण लागि पहल गरिदिन सरकारलाई आग्रह


विराटनगर ।
सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगीहरुले निर्यात प्रवद्र्धन, पारवहन र व्यापार सहजीकरण लागि पहल गरिदिन सरकारलाई आग्रह गरेका छन् । मोरङ व्यापार संघ, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजनाले संयुक्त रुपमा आयोजना गरेको अन्तर्क्रियामा कार्यक्रममा उनीहरुले निर्यात प्रवर्द्धन, पारवहन र व्यापार सहजीकरण गरिदिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेका हुन् ।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले अहिले मुलुकको अर्थतन्त्रलाई ‘भी’ आकारमा पुनरुत्थान गर्नुपर्ने आवश्यकता औँल्याए । निर्यात प्रवद्र्धनको विषयमा उनले नेपाल भूपरिवेष्ठित एवं समुद्रीमार्गका लागि परनिर्भर मुलुक भएकाले निर्यात तथा अन्तर्राष्ट्रिय व्यापारिक गतिविधिका लागि अवरोधका बाबजुद पनि मुलुकको निर्यात प्रवर्द्धन र नेपाली उत्पादनहरुलाई अन्तर्राष्ट्रिय बजारमा सहज पहुँच र प्रतिस्पर्धी बनाउन विभिन्न रणनीतिहरुको अवलम्बन गरिनुपर्नेमा जोड दिए ।

मुन्दडाले निर्यातजन्य उद्योगहरुलाई आयकरमा विशेष छुट र न्यूनतम ब्याजदरमा ऋण उपलब्ध गराउन समेत आग्रह गरे । डिउटी ड्र ब्याक सुविधा सम्बन्धित भन्सार कार्यालयहरुबाटै उपलब्ध गराउनुपर्ने, भ्यालु एडिसनको आधारमा निर्यात अनुदान कायम गरी अनुदानको दायरा बढाउनुपर्ने, अन्तर्राष्ट्रिस्तरको गुणस्तर मापदण्ड र मान्यताप्राप्त व्यापार सहजीकरण निकायको व्यवस्थापन गरिनुपर्ने, निर्यात प्रवर्द्धन एवं विकासका लागि अध्ययन एवं नियमन निकायलाई सक्रिय बनाउनुपर्ने, सुनसरीको अमडुवामा अवस्थित ६३२ बिघा जग्गालाई औद्योगिक क्षेत्रको रुपमा विकास गर्नुपर्ने र त्यस क्षेत्रलाई क्रस बोर्डर इकोनोमिक जोनमा परिणत गरी कार्य गति अविलम्ब अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सहभागी उद्योगी तथा व्यापारीहरुले पारवहन तथा व्यापार सहजीकरणका सन्दर्भमा आ–आफ्नो धारणा राख्दै आईसीपी विराटनगरमा गुणस्तर तथा विषादी परीक्षण प्रयोगशालाको स्थापना, चिस्यान केन्द्रको स्थापना, मालवस्तुहरुलाई स्क्यानर एवं एक्सरे मेसिनमार्फत जाँचपासको व्यवस्थाजस्ता पूर्वाधारहरु विकास गरी भन्सार गतिविधिहरुलाई वैज्ञानिक बनाउनुपर्ने सुझाव दिएका थिए ।

व्यवसायीहरुले औद्योगिक कच्चा पदार्थको आयातलाई ग्रिन वर्गीकरणमा राखी भन्सार जाँचपासमा दु्रतता दिनुपर्ने, रेल्वेको शीघ्र सञ्चालनमा जोड दिनुपर्ने, रिङरोडलाई पूर्ण सञ्चालनमा ल्याउनुपर्ने, भारतको बन्दरगाह जोड्न जलमार्गको निर्माणकार्यलाई अघि बढाउनुपर्ने, भारततर्फ जोगबनी आईसीपीसम्मको निर्माणाधीन चार लेनको सडक र पुलको शीघ्र निर्माण तथा भारतको दलखोलामा रेल्वे ट्र्याकका कारण हुने रोड जामको अन्त्य गर्न ओभर ब्रिज निर्माणका लागि पहल गर्नुपर्ने, व्यापार सहजीकरणको बैठक निरन्तर रुपले गरिनुपर्नेलगायतका माग राखेका थिए ।

मोरङ व्यापार संघका अध्यक्ष मुन्दडाले सभापतित्व गरेको कार्यक्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले नेतृत्वको टोलीले सहभागिता जनाएको थियो । उक्त टोलीमा मन्त्रालयका सहसचिव प्रकाश दाहाल, उप–सचिव श्रीधर गौतम, पार्वती शर्मा, अनिता पौडेल र मन्त्रालयको व्यापार सहजीकरण सल्लाहकार हिमाल थापाको सहभागिता रहेको मोरङ व्यापार संघले जनाएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया