Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिसुन्द्रावतिमा हुर्किदै चियाका बोट

सुन्द्रावतिमा हुर्किदै चियाका बोट


दोलखा ।
दोलखाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ सुन्द्रावतिमा २७ हजार वटा चियाका विरुवा एकनासले हुर्किरहेका छन् । अघिल्लो वर्ष वडा कार्यालयले दुई लाख लगानी गरेर कार्यालय नजिकको खाली जग्गामा विरुवा रोपेको थियो । २०७५ सालमा १८ हजार र ०७६ सालमा ९ हजार चियाका विरुवा लगाएको वडा अध्यक्ष रामप्रसाद मैनालीले जानकारी दिए ।

अहिले ईलामबाट प्राविधिक बोलाएर विरुवाको कटिङ गरिएको मैनालीले बताए । हाल २७ हजार चियाका विरुवाको पात तथा डाठको कटिङ गरिएको छ । उत्पादन दिनुअघि चियाको विरुवालाई ६ इन्च, ८ इन्च र १२ इन्चमा कटिङ गरिन्छ । वडाध्यक्ष मैनालीले गाउँपालिकामै पहिलो पटक धेरै संख्यामा चियाका विरुवा खरिद गरेर चिया खेती सुरु गरेको बताए । अबको सात आठ महिना पछिबाट सुन्द्रावतिको चिया बगनबाट चिया उत्पादन हुने उनको भनाई छ । वडाले यसवर्ष आफैंले चियाका विरुवा उत्पादन गरेर अन्य ठाउमा समेत चिया खेती विस्तार गरेको छ ।

कृषिमा लगानी गर्दै किसानलाई अनुदानमा विभिन्न मल, बिउविजन तथा कृषिऔजार वितरण गर्दै आएको कालिञ्चोक गाउँपालिकाले पालिकाको वडा नम्बर १ र ५ मा व्यवसायीका किवि खेती सुरु गरेको छ । वडा नम्बर एक कालिञ्चोकको क्याङपोल बेगुम्पा तथा गाउँपालिकाको वडा नम्बर ५ को लापिलाङ लगायतका क्षेत्रमा यसअघि थोरै थोरै क्षेत्रफलमा स्थानीय नामसालिङ सामुदायिक विकास केन्द्रको सहयोगमा कृषकले किबी खेती सुरु गरेका थिए । यस वर्षपनि अनुदानमा किबिका विरुवा पाएपछि व्यावसायिक रूपमा सो खेती गर्न स्थानीयहरू उत्साहित देखिएका गाउँपालिका अध्यक्ष विनकुमार थामीले बताए ।

पछिल्लो समय कृषकको रोजाइमा परेको किबी फललाई थप विकास गर्न कालिञ्चोक गाउँपालिकाको अगुवाइमा वडा नम्बर एकलाई पकेट क्षेत्र समेत घोषणा गरिसकेको छ । प्रधानमन्त्री कृषि आधुनिक परियोजनाअन्तर्गत पकेट क्षेत्र घोषणाका लागि कम्तीमा दुई सय रोपनी जग्गा र एक हजार बिरुवा लगाउनुपर्ने प्रावधानअनुरूप गाउँपालिका र केही गैरसरकारी संस्थाहरूसमेतको लगानीमा एक नम्बर वडाको भित्रिखर्कलाई पकेट क्षेत्र घोषणा गरिएको अध्यक्ष थामीले जानकारी दिए । भित्रिखर्कमा दुई सय रोपनी जग्गा छनोट भइसकेको र एक हजार बिरुवा रोप्न किसान तयार भएको गाउँपालिकाले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि

तपाईको प्रतिक्रिया