Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारउद्योगसम्बन्धी सबै काम अनलाइनबाटै

उद्योगसम्बन्धी सबै काम अनलाइनबाटै


काठमाडौं ।
सरकारले उद्योगीहरुको उपस्थितिविना नै उद्योगको प्रशासनिक काम गर्न सकिने गरी प्रक्रिया अघि बढाएको छ । सरकारले प्रविधिको प्रयोग गरी उद्योगको प्रशासनिक कामहरु गर्नसक्ने वातावरण मिलाउन उद्योग विभागलाई निर्देशन समेत दिएको छ । योसँगै विभागले उद्योग दर्ता, नवीकरण, म्याद थप, भिसा प्रक्रियालगायतका कामहरु अनलाइनबाट गर्न मिल्ने गरी काम अघि बढाएको हो ।

विभागका निर्देशक ज्ञानेन्द्र पराजुलीले उद्योग दर्ता नवीकरणलगायतका उद्योगसम्बन्धी सम्पूर्ण काम अनलाइनबाट गर्ने गरी विभाग अघि बढेको बताए । ‘अनलाइन निर्माण गर्नको लागि हामी बोलपत्र आह्वान गर्ने तयारीमा छौँ’, उनले भने, ‘अबको केही दिनभित्र बोलपत्र आह्वान गर्छौँ । योसँगै उद्योगी तथा लगानीकर्ताहरु भौतिक रुपमा विभागमा उपस्थिति हुनुपर्नेछैन ।’

यस आर्थिक वर्षमा निर्माणसम्पन्न गर्ने तयारी गरेको विभागले अनलाइन प्रविधिमा जानको लागि एक करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ । ‘सकेसम्म हामी यस आवमा अनलाइन प्रविधिको निर्माणसम्पन्न गर्नेछौँ’, निर्देशक पराजुलीले भने, ‘आगामी आवको मध्यमबाट सेवा सुरु गरिने लक्ष्य राखेका छौँ ।’

अनलाइन प्रविधि सुरु भएसँगै स्वदेशी तथा विदेशी दुवै लगानीकर्ताहरुलाई सहज हुनेछ भने अनलाइन प्रविधिमा गएसँगै उद्योगीहरुले विश्वकै जुनुुसुकै स्थानबाट पनि उद्योग दर्ता, म्याद थप, नवीकरण लगायतका सम्पूर्ण काम गर्नसक्ने उनको भनाइ छ । प्रविधिमैत्री हुनु निकै सुखद पक्ष हो । ‘हामीजस्तो गैरआवासीय नेपालीलाई आफ्नो मुलुकमा लगानी गर्न सहज हुन्छ । त्यसैले अनलाइन प्रविधि हुनु भनेको निकै राम्रो पक्ष हो’, उनले भने ।

अनलाइन प्रविधि विभागको कामकारबाही मात्र सीमित नभई एकलविन्दु सेवा केन्द्र (ओएसएससी) को सेवा पनि समावेश हुनेछ । हाल केन्द्रमार्फत भूमि, भिसा, दर्ता, राजस्व तथा प्यानलगायतका सेवाहरु उपलब्ध रहेको पाइन्छ ।

विभाग अनलाइन प्रविधिमा जानु भनेको विदेशी उद्योगीहरुलाई खुसीको कुरा हुने उद्योगी मिर्जा रशिद बेगको भनाइ छ । ‘हामी विदेशमा रहे पनि मुलुकमा केही गर्न सोच बोकेको व्यक्तिहरुलाई ज्यादै अनुकूल विषय हो’, उनले भने, ‘जसले गर्दा हामी विदेशबाट उद्योग स्थापनाकै लागि नेपालमा आइरहनुपरेन जसले गर्दा उद्योग क्षेत्रमा स्वदेशी विदेशी दुवै लगागी वृद्धि हुनसक्छ ।’ चालू आवमा बिहीबारसम्मा ९४ वटा उद्योगका लागि ६९ अर्ब ८३ करोड लगानी प्रतिबद्धता आएको छ भने प्रविधिमैत्री भएपछि लगानीमा वृद्धि हुने अपेक्षा राखिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया