Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतोरीको तेलमा उद्योगीको कार्टिलिङ नियामक निकाय मौन

तोरीको तेलमा उद्योगीको कार्टिलिङ नियामक निकाय मौन


विराटनगर ।
सुनसरी मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योगका उद्योगीहरू आफ्नै कार्टिलिङबाट बजारमा तोरी तेलको मूल्य मनपरी ढंगले वृद्धि गराएका छन् । उद्योगीहरूले चालू आर्थिक वर्षको पुस महिनामा मात्र तोरीको तेलको भाउप्रति कार्टुन दुई हजार ४० रूपैयाँबाट दुई हजार एक सय १० रूपैयाँ पु-याएका छन् । तोरीको तेलमा पटक–पटक कार्टिलिङ गरी मूल्यवृद्धि गरिँदै आएको छ ।

तेलको मूल्य पनि कम्पनीअनुसार लिटरमा ७० देखि एक सय रुपैयाँभन्दा बढीले मूल्यवृद्धि भएको खुद्रा व्यापारीहरूले जानकारी दिएका छन् । उद्योगीले आफ्ना होलसेलरबाट बढेको मूल्यमा तेल आएको भनेर खुद्रा व्यापारीलाई जानकारी गराएको र खुद्रा व्यापारीले पनि बढेको मूल्य कायम गरी तोरीको तेल बिक्रीवितरण गर्न थालेको जानकारी दिएका छन् ।

तोरीको तेलमा एक्कासी मूल्य बढ्नुपर्ने कारणबारे स्वयम् व्यवसायी नै अनभिज्ञ रहेका छन् । उद्योगीको मनपरी मूल्य कायमले गर्दा उपभोक्तालाई एक महिनाको बीचमै तोरी तेलको भाउ लिटरमै करिब एक सय ५० रुपैयाँसम्मले बढ्न पुगेको छ । साथै उद्योगीले महिनौंअघि नै उद्योगमा प्याकिङ अवस्थामा राखेका तेलको भाउ पनि बढेकै मूल्यमा बजारमा पठाएका छन् । तेलको अधिकतम् खुद्रा बिक्री मूल्य बढेको नदेखिने गरी उद्योगीले तेलको भाउ बढाएको खुद्रा व्यापारीहरूको भनाइ छ ।

पछिल्लो समय बजारमा बिक्री हुने तोरीको तेलको मूल्यमा खुद्रालाई दिनेभन्दा पनि बढीमा अधिकतम् खुद्रा मूल्य उद्योगले तोकिदिएपछि तोरीको तेलमा हुने कार्टिलिङ रहस्य खुलेको हो । तोरीको तेलमा कार्टिलिङ गर्ने उद्योगको रूपमा विराटनगरको चन्द्रसिव राइस एण्ड आयल मिल्स रहेको छ । उक्त मिलबाट उत्पादन हुँदै आएको घैला ब्राण्डको तोरी तेलमा उद्योगका सञ्चालक हरिवंश राठीले मनपरी मूल्य कायम गर्ने गरेका छन् ।

चन्द्रसिव राइस एण्ड आयल मिल्सबाट उत्पादित घैला ब्राण्डको तोरी तेलले सुनसरी मोरङ र झापा जिल्लालाई लक्षित गरी मनमरी मूल्य कायम गरेपछि अन्य उद्योगीहरूले पनि बाध्य भएर तोरीको तेलमा मूल्य वृद्धि गर्नुपरेको बताइएको छ । उद्योगीका अनुसार अन्तर्राष्ट्रिय बजारमा एक हप्ताअगाडि मात्र तोरीको दानामा केही मूल्य वृद्धि भएको छ । उक्त मूल्य वृद्धिको असर तत्काल नेपालमा नदेखिने भए पनि उद्योगीहरूले मनलाग्दी गर्ने गरेको स्वयम् उद्योगीले नै बताउने गरेका छन् ।

हाल तोरी आयात गर्नका लागि कन्टेनर नै भेट्न समस्या भएका कारण दुई चार महिना बढेको तोरीको दानन नेपाल ल्याउन सम्भव नै नभएको एक उद्योगीले बताए । तर उद्योगी राठीले अन्तर्राष्ट्रिय बजारमा तोरीको दानामा एक सय डलरबराबर मूल्यवृद्धि भएको बहाना बनाएर अहिले नै तोरीको तेलमा मूल्य वृद्धि गरी कार्टिलिङमा सक्रिय भएका छन् । राठीको उक्त कार्यको उद्योगीहरूले नै विरोध समेत गर्न थालेका छन् । राठीको उद्योगले उत्पादन गरेको तेलको मूल्य पछिल्लो समय बजारमा उपभोक्तालाई खुद्रामा बिक्री गर्ने तेलको मूल्य भन्दा एक सय २० रुपैयाँसम्म बढी मूल्य बढाएको छ ।

पछिल्लो समय बजारमा तेलको भाउ अचाक्ली बढे पनि नियामक निकाय भने मौन रहेको छ । सरकारी अनुगमन शून्य अवस्थामा भएकाले तोरीको तेलमा उद्योगी राठीको कार्टिलिङ हावी भएको जानकारहरूले बताएका छन् । विराटनगरलगायत प्रदेश १ का बजारमा एक महिना यतादेखि तोरी तेलको भाउ आकासिदा पनि सरकारको अनुगमनकारी निकाय मौन बसेको हुँदा उद्योगी राठीले यो अवधिमा चार पटकसम्म तोरीको तेलमा मूल्यवृद्धि गरेको उनीहरूको भनाइ छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया