Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारग्लोबल आईएमई बैंक र हेफर इन्टरनेसनलबीच सम्झौता

ग्लोबल आईएमई बैंक र हेफर इन्टरनेसनलबीच सम्झौता


काठमाडौं ।
ग्लोबल आईएमई बैंक लिमिटेड र हेफर इन्टरनेसनल नेपालबीच सम्झौता भएको छ । बैंकले कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउने उद्देश्य पूरा गर्नका लागि हेफर इन्टरनेसनलसँग सम्झौता गरेको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतोले हस्ताक्षर गरेका हुुन् ।

सम्झौताअनुसार बैंकले गुल्मी जिल्लाका विभिन्न ठाउँहरूमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा फलफूलहरूको उत्पादन गर्ने कृषकहरूलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ भने हेफर इन्टरनेसनलले सहकारीको सिफारिसमा साना किसानहरूलाई आवश्यक तालिमको व्यवस्था गर्नेछ । यो समझदारीले गुल्मी जिल्लाका महिला, सीमान्तकृत तथा पुँजी अभावका कारण पछाडि परेका स्थानीय कृषि उद्यमीहरूको जीवनस्तर उकास्न उल्लेख्य योगदान पु-याउनेछ । यससँगै बैंकले बैंकिङ साक्षरता तथा सूचना प्रविधिको प्रयोग गर्न स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नेछ ।

मुलुकभर तथा मुलुकबाहिर शाखा सञ्जाल रहेको ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु-याउने उद्देश्यले बैंकले ७ वटै प्रदेश तथा ७३ जिल्लामा बैंकको २६४ शाखासहित आठ सय सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको छ । त्यसैगरी बैंकले १७ भन्दा धेरै मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु-याउँदै आइरहेको छ ।

साथै, हेफर इन्टरनेसनलले हालसम्म ४१ जिल्लामा दुई लाख ५४ हजारभन्दा बढी गरिब, पिछडिएका परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जीविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ । ग्लोबल आईएमई बैंकले आफ्नो पहुँच तथा सेवा केन्द्रको उपभोग गर्दै हेफर नेपालले पहिचान गरेका सामाजिक महिला उद्यमी सहकारी तथा सोसँग सम्बद्ध महिला उद्यमीहरूलाई बैंकसँग जोड्दै सेवा प्रदान गर्नेछ । यस समझदारीसँगै दुवै संस्थाले कृषि उद्यममा संलग्न ग्रामिण भेगका किसानलाई वित्तीय पहुँच सुधार गर्नका लागि संयुक्त प्रयास गर्ने छन् र त्यस्ता किसानहरूको व्यवसाय विस्तार गर्न सक्षम बनाउनेछन् ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया