Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल रोजगार मेला बिहीबारदेखि सुरु

नेपाल रोजगार मेला बिहीबारदेखि सुरु


काठमाडौं ।
रोजगारीको खोजीमा रहेका शिक्षित युवा र सक्षम जनशक्तिको खोजीमा रहेका रोजगारदाता कम्पनीबीच एउटै थलोमा अन्तर्क्रिया गर्ने लक्ष्यसहित नेपाल जब फेयर २०२१ बिहीबारदेखि राजधानीमा सुरु हुने भएको छ । एस्पायर जब्सको आयोजनामा मुलुकमै पहिलोपटक हुन लागेको नेपाल जब फेयर तीन दिनसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । यसमा रोजगारदाता र करिअर प्लानमा रहेका युवाबीच प्रत्यक्ष अन्तक्र्रिया हुनेछ । जब फेयरले व्यावसायिक र पारदर्शी मानव संशाधन अभ्यासको सूत्रपात गर्ने लक्ष्य लिइएको छ ।

जब फेयरमार्फत प्रविधिका माध्यमले युवा उद्यमशीलताको विकास गर्ने तथा मानव संसाधन क्षेत्रलाई थप गतिशील र विश्वसनीय बनाउने आयोजकको विश्वास छ । जब फेयरको उद्घाटन पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्नेछन् भने कि नोट स्पिकरका रुपमा अर्थशास्त्री हरि रोका र रोजगार विज्ञ प्राडा रमेशप्रसाद कोइराला र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ छन् । कार्यक्रममा सीएनएन हिरो अनुराधा कोइराला, पूर्वाधार विज्ञ डा. सूर्यराज आचार्य, रोजगारविद् डा. गणेश गुरुङ, बैंकर रविना देशराज श्रेष्ठलगायतले सम्बोधन गर्नेछन् । विभिन्न सेसनमा आफ्नो क्षेत्रमा ख्याति कमाइसकेका पूर्वगर्भनर डा. चिरञ्जीवी नेपाल, अशोक सिग्देल, क्या. विजय लामा, प्रकाशदेव पालिखे, तारा पौडेललगायतले विभिन्न क्षेत्रमा रोजगारीका सम्भावना र जनशक्ति विकासका विषयमा प्रकाश पार्ने आयोजकले बताएको छ ।

जब फेयरमा एक सयभन्दा बढी रोजगारदाता सहभागी हुनेछन् भने १ सय ५० भन्दा बढी अन्तर्वार्ता सेसन सञ्चालन गरिनेछ । जसबाट तीन हजारभन्दा बढीको रोजगारी सुनिश्चित हुने अपेक्षा गरिएको छ । यस्तै, १० हजारभन्दा बढीको भौतिक तथा भर्चुअल सहभागिता रहने जब फेयरमा एक लाख ५० हजारभन्दा बढीले प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता जनाउनेछन् । काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुने जब फेयरमा युवा उद्यमशीलतासम्बन्धी प्रतिस्पर्धा, वैदेशिक अध्ययनसम्बन्धी सेमिनार, एभिएसन र हस्पिटालिटी क्षेत्रसम्बन्धी करियर सेमिनारलगायतका गतिविधि सञ्चालन हुनेछन् ।

‘नेपालमा रोजगारदाता र बेरोजगार युवाबीच ठूलो ग्याप छ, त्यो ग्यापलाई पूरा गर्न हामीले पहिलोपटक नेपाल जब फेयर २०२१ आयोजना गर्नलागेका हौं,’ एस्पायर जब्सका भाइस प्रेसिडेन्ट प्रमोश अधिकारीले भने, ‘जब फेयरमार्फत वेरोजगार युवाले पनि रोजगारदाता कम्पनीसमक्ष खुलेर आफ्नो क्षमता प्रस्तुत गर्न सक्नुहुनेछ भने रोजगारदाता कम्पनीहरुले पनि आफूलाई अहिले आवश्यक र भविष्यमा चाहिने जनशक्तिको छनोट गर्नुहुनेछ ।’ अधिकारीका अनुसार जब फेयरले मानव संशाधनका क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा र रचनात्मक अभ्यासको सिर्जना गर्ने अपेक्षा लिइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया