Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीका सबै समस्या समाधान गर्न सरकार तयार

सहकारीका सबै समस्या समाधान गर्न सरकार तयार


काठमाडौं ।
अर्थमन्त्री विष्णु पौडेलले सहकारी क्षेत्रका सबै समस्याको समाधान गर्न सरकार तयार रहेको बताएका छन् । राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभामा मन्त्री पौडलले आवश्यक परे प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसहित सबै सहकारी अभियान्ताहरूको बृहत् छलफल गरेर भए पनि यस क्षेत्रमा देखापरेको समस्यालाई समाधान गर्न सरकार तयार रहेको बताए ।

सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाका रूपमा रहेकोले गुनासो गर्न छाडेर आफूले गर्नुपर्ने काममा लाग्न उनले सहकारीकर्मीलाई आग्रह समेत गरे । ‘सरकारले गर्नुपर्ने कामका बारेमा एउटै टबेलमा सबै बसेर समाधानको मार्ग पहिल्याउन सकिनेछ । अब गुनासो गर्ने होइन, अग्रगामी रूपमा अगाडि बढ्ने हो,’ उनले भने । महासंघको साधारणसभामा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाङ्फेले महासंघले सहकारीमा देखिएका चुनौतीलाई कसरी सामना गर्ने भन्ने विषयमा समाधानका उपायका विषयमा समेत सुझाव दिनुपर्ने बताइन् ।

यस क्षेत्रमा देखिएका विकृतिहरू हटाउन समेत ठोस कार्यक्रम अघि बढाउन आफू अभियानसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो । उनले सहकारीमैत्री नरहेका कानुनहरू संशोधन संसदीय निर्वाचनपछि नयाँ संसद्ले गर्ने जानकारी दिइन् । अन्य नीतिगत विषयमा मन्त्रालय सहयोग गर्न तयार रहेको उनको भनाइ थियो । कार्यत्रममा महासंघका निवर्तमान अध्यक्ष तथा पूर्वमन्त्री केशव बडालले लेखेको १६औं पुस्तक समाजवाद र महासंघले प्रकाशन गरेको सहकारीका सिद्धान्तहरूको मार्गदर्शन विमोचन गरिएको थियो ।

सभामा महासंघका अध्यक्ष मिनराज कँडेलले महासंघको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा सुपरिवेक्षण समितिका संयोजक धर्मदत्त देवकोटाले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसीए ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले महासंघको आर्थिक वर्ष २०७७/०७८ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै महासंघको सदस्य संघहरूको साझेदारीमा महासंघले विभिन्न कार्यक्रम गर्ने जानकारी दिइन् । साधारणसभामा उपाध्यक्ष रमेश पोखरेलले महासंघले तयार गरेको विभिन्न नीति तथा कार्यविधिहरूको विषयमा प्रस्ट पारेका थिए ।

साधारणसभालाई महासंघका सल्लाहकारहरू सांसद उषा झा, महासंघका पूर्वअध्यक्ष दिपक प्रकाश बाँस्कोटा, किसान आयोगका सदस्य रविन्द्र केसी, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेलले सम्बोधन गरेका थिए । साधारणसभाको बन्द सत्रमा एक दर्जनबढी राष्ट्रिय प्रतिनिधिहरूले समसामायिक विषयमा महासंघले स्पष्ट नीति सार्वजनिक गर्नुपर्ने, सरकारसँग लबिङ गर्नुपर्ने, जिल्लास्तरीय संघहरू दिगोपना र स्तरवृद्धिका कार्यक्रम ल्याउनुपर्नेलगायतका विषयमा महासंघको ध्यानाकर्षण गराएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया