Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारस्मार्ट कार उत्पादन गर्न बैदु र गिलीबीच साझेदारी

स्मार्ट कार उत्पादन गर्न बैदु र गिलीबीच साझेदारी


वेइजिड. ।
दुई चिनियाँ कम्पनीले साझेदारीमा स्मार्ट कार उत्पादन गर्ने भएका छन् । चीनको सर्च इन्जिन कम्पनी बैदुले कार उत्पादन गर्दै आएको गिलीसँग मिलेर स्मार्ट विद्युतीय सवारीसाधन (ईभी) बनाउने घोषणा गरेको हो ।

यसमा बैदुले ‘इन्टेलिजेन्ट ड्राइभिङ कपेबिलिटी’ उपलब्ध गराउने र गिलीले डिजाइन र उत्पादन दक्षता प्रयोग गर्नेछ । गिली चीनकै ठूलो कार कम्पनी हो । भोल्भो गिलीकै उत्पादन हो भने मर्सिडिज बेन्जको स्वामित्वकर्ता डायम्लरमा पनि गिलीको सेयर छ । दुई कम्पनीले एलन मस्कको टेस्लालगायत अरु धेरै चिनियाँ कार कम्पनीसँग प्रतिस्पर्धा गर्नेछन् ।

बैदुका प्रमुख कार्यकारी तथा सहसंस्थापक रोबिन लिले स्मार्ट यातायात र स्वचालित ड्राइभिङको कम्पनीको विज्ञता र गिलीको ठूलो कम्पनीको हिसाबले उसको विज्ञता मिलाएर भविष्यको यात्रुवाहक सवारीसाधन उत्पादन गर्ने बताए । बैदुले सन् २०१७ मै स्वचालित ड्राइभिङ युनिट एपोलो स्थापना गरिसकेको छ । यो युनिटले आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि आपूर्ति गर्छ भने चिनियाँ र अन्य अन्तर्राष्ट्रिय कम्पनीसँग मिलेर काम गर्छ ।

चीन विद्युतीय सवारीसाधनको विश्वकै ठूलो बजार हो । अन्तर्राष्ट्रिय ऊर्जा संस्थाका अनुसार सन् २०१९ मा विश्वमा ७२ लाख कार विद्युतीय रहेका थिए । यसको ४७ प्रतिशत त चीनकै सडकमा गुड्ने गरेको उसको भनााइ छ । सन् २०२५ सम्ममा कुल नयाँ कारमध्ये नवीकरणीय ऊर्जामा आधारित कार २० प्रतिशत रहने डाटा प्रदायक एसएण्डपी प्लाट्सको अनुमान छ ।

तर बैदु र गिलीले ठूलै बजार प्रतिस्पर्धा गर्नुपर्नेछ । विश्वव्यापी रुपमा कम्पनीहरु स्मार्ट प्रविधिको सवारीसाधन उत्पादनमा लागेका छन् । हुन्डाई र एप्पलले पनि पछिल्लो समय स्मार्ट कार उत्पादन गर्ने साझेदारी गरेका छन् । यीबाहेक अन्य कार कम्पनीहरु पनि नयाँ प्रविधिमा कार उत्पादनमा लागेका हुन् । सोही कारण बैदु र गिलीले कडा प्रतिस्पर्धा गर्नुपर्ने देखिएको हो ।


क्याटेगोरी : विश्व बजार

तपाईको प्रतिक्रिया