Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाल आउने विदेशी श्रमिकको अन्तर्वार्ता पुनः सुरु

नेपाल आउने विदेशी श्रमिकको अन्तर्वार्ता पुनः सुरु


काठमाडौं ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गैरनेपालीहरुको लागि भौतिक रुपमा उपस्थिति जनाउँदै अन्तर्वार्ता पुनः सुरु गर्ने भएको छ । आगामी माघ १ गतेदेखि गैरनेपाली नागरिक अर्थात् विदेशी श्रमिकलाई भौतिकरुपमा उपस्थित भई अन्तर्वार्ता लिन सुरु गरिने श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले जानकारी दिएको हो ।

कोरोना महामारीको कारण देखाउँदै विदेशी श्रमिकलाई विभागले भौतिकरुपमा उपस्थित भई अन्तर्वार्ता लिएको थिएन । कोरोनाको कारण सरकारले लकडाउन, निषेधाज्ञालगायतका स्वास्थ्य प्रोटोकल जारी गर्दा विदेशी श्रमिकहरु विभागमा उपस्थित हुनसक्ने अवस्था नहुँदा अन्तर्वार्ता हुन नसकेको विभागका प्रवक्ता मणिनाथ गोपले बताए । ‘अन्तर्वार्ताको लागि विदेशी श्रमिकहरु भौतिक रुपमा उपस्थिति थिएन भने यो घटना पहिलोपटक हो’, उनले भने, ‘तर सो समयमा भने हामीले उनीहरुको प्रतिनिधिलाई उपस्थिति गराई विदेशी श्रमिक बारेमा जानकारी तथा श्रम स्वीकृति प्रदान गरेका थियौँ । सो समयमा पनि आवश्यक प्रक्रिया पूरा गरी मात्र श्रम स्वीकृति दिने गरेका थियौँ ।’

महामारीमा विदेशी श्रमिकलाई श्रम स्वीकृति दिँदा भने विभागले संख्यालाई आधार मानी प्रतिनिधि बोलाउने तथा अधिकारीहरु अयोजना तथा प्रतिष्ठानहरुमा जाने गरेका थिए । महामारीको समयमा २० जनाभन्दा कम विदेशी श्रमिक भएका आयोजना तथा प्रतिष्ठानहरुको हकमा भने श्रम स्वीकृतिको लागि प्रतिनिधि उपस्थिति हुन्थ्यो भने सो संख्याभन्दा माथि (२० भन्दा माथि) भएको खण्डमा भने विभागकै अधिकारी गई अनुगमन गरी श्रम स्वीकृति दिने गरेको थियो । पछिल्लो समय कोरोना महामारी रहे पनि दैनिक जीवन सहज भएसँगै विभागले श्रम स्वीकृति लगायतका कामकारबाहीहरु सामान्य अवस्थामा जसरी सुचारु गरेको हो ।

‘सरकारले अति आवश्यक कुराहरु यातायात, व्यवसाय, प्रतिष्ठानलगायतका सम्पूर्ण क्षेत्रहरु खुला गरेसँगै हामीले पनि आफ्नो कामकारबाही सामान्य अवस्थामा गर्ने गरी अघि बढेका हौँ’, प्रवक्ता गोपले भने, ‘त्यसैले कोरोना महामारीको कारण असामान्य अवस्थामा श्रम स्वीकृतिको लागि अन्तर्वार्तामा भौतिकरुपमा उपस्थित हुन समस्या रहँदै आएकोमा वर्तमान अवस्था सामान्यतर्फ उन्मुख रहेको हुँदा माघ १ देखि पूर्ववत् रुपमा अन्तर्वार्ता लिनलागेका हौँ । चैत ११ पछिको यो पहिलो अन्तर्वार्ता हो ।’

कोरोना महामारीका कारण विभिन्न आयोजना तथा प्रतिष्ठानमा कार्यरत विदेशी श्रमिकहरु नेपाल आउनसकेका छैनन् । महामारीकै कारण सरकारले विदेशी श्रमिकलाई आउनबाट रोक लगाएको थियो भने हवाइ उडान समेत अवरुद्ध हुँदा उनीहरु आउन नसकेको समयमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘विदेशी श्रमिक ल्याउनेसम्बन्धी कार्यविधि, २०७७’ जारी गर्दै आवागमन सहज बनाएको थियो । श्रम ऐन, २०७४ अनुरुप दक्ष कामदार मात्र नेपाल आउन पाउने व्यवस्था छ । सोही कारण नेपालमा रहेका विदेशी कामदारहरु दक्ष रहेको मानिन्छ । पछिल्लो समय भने अदक्ष कामदारहरु समेत भित्रिने गरेका छन् ।

विदेशी नागरिकलाई श्रमिकको रुपमा काममा लगाउन वा श्रम स्वीकृति दिँदा सामान्यतया त्यस्तो विदेशी नागरिकको सम्बन्धमा गृह मन्त्रालयबाट जारी भएको कार्यसहमतिको अवधिभन्दा बढी नहुने गरी एक पटकमा एक वर्ष अवधिमा नबढ्ने गरी श्रम इजाजत वा श्रम स्वीकृति दिइनेछ । श्रम स्वीकृति दिँदा विशिष्ट दक्ष प्राविधिक विदेशी श्रमिकको हकमा भने पटक–पटक गरी बढीमा पाँच वर्षसम्म र अन्य विदेशी श्रमिकलाई पटक–पटक गरी बढीमा तीन वर्षसम्मका लागि श्रम इजाजत दिने गरिन्छ ।

विदेशी नागरिक विशिष्ट दक्ष प्राविधिक हो/होइन भन्ने सम्बन्धमा श्रम इजाजत सिफारिस सम्बन्धित मन्त्रालय/निकायले स्पष्ट गरी सिफारिस गरेको पत्र पेश गर्नुपर्ने हुन्छ तर विशेष परिस्थितिमा देशको शैक्षिक, सामाजिक, विज्ञान प्रविधि र गैरनाफामूलक संघ, संस्थाजस्ता क्षेत्रमा विशेष योगदान गरेका, राष्ट्रहित र जनकल्याणमा उल्लेखनीय योगदान गरेका विदेशी श्रमिकलाई मन्त्रालयको स्वीकृति लिई बढीमा दुई वर्षसम्म विभागले श्रम स्वीकृतिको अवधि थप गर्न सक्छ । श्रम स्वीकृति लिँदा विदेशी श्रमिक आवश्यक परेमा सरोकारावाला निकायले राष्ट्रियस्तरको दैनिक पत्रिकामा विज्ञापन गर्नुपर्छ, व्यक्तिगत विवरण, करचुक्ता गरेको प्रमाण, गृह मन्त्रालयको कार्य सहमति लगायतका विवरणहरु सम्बन्धित निकायसमक्ष बुझाउनुपर्छ ।

मन्त्रालयबाट श्रम स्वीकृतिका लागि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा सिफारिस गरी पठाउने गर्नुपर्दछ र गृह मन्त्रालयबाट पनि सोही तथ्यलाई मध्यनजर गरी कार्यसहमति प्रदान गर्ने व्यवस्था हुनुपर्छ । विदेशी श्रमिकहरु नेपालमा काम गर्न आउँदा भने भिजिट भिसामा नेपाल प्रवेश गर्ने गरेका छन् भने सम्बन्धित प्रतिष्ठानहरुबाट श्रम स्वीकृति लिने गरेका छन् ।

पछिल्लो समय नेपालमा ९० भन्दा बढी मुलुकका चार हजार ९९ जान विदेशी कामदार रहेका छन् । यसरी नेपालमा श्रम स्वीकृति लिई काम गर्नेमा भारत, चीन, बंगलादेश, रसिया, जापान, टर्की, जर्मनी, अमेरिका, क्यानडा, इटाली, दक्षिण अफ्रिकालगायत मुलुकका नागरिकहरु रहेका छन् । उनीहरु विभिन्न प्रतिष्ठान र आयोजनाहरुमा सम्बन्धित पक्षको बोलावटपछि आउने गरेका छन् ।

मुलुकको श्रम बजारमा हरेक वर्ष ५ लाखको हाराहारीमा नेपाली युवाहरु प्रवेश गर्ने गरेका छन् भने उचित औद्योगीकरणको अभाव, श्रमको अवमूल्यन, न्यून पारिश्रमिक तथा असल श्रम सम्बन्धको अभावमा दैनिक करिब एक हजार पाँच सय जना युवा वैदेशिक रोजगारीका लागि मुलुकबाट बाहिरिने गरेका छन् ।

यस क्षेत्रका सरोकार तथा विज्ञहरु एकातिर प्रतिभा पलायनको डरलाग्दो अवस्था छ भने अर्कोतर्फ नेपालीहरु अत्यन्त न्यून ज्यालामा आफ्नो श्रम बिक्री गर्न खाडी मुलुकहरुमा पलायन भइरहेका छन् । यसले नेपाली श्रम बजारमा दक्ष विदेशीको माग बढ्दो रहेको बताउँछन् । तत्कालीन श्रम ऐन, २०४८ को पहिलो संशोधनले नेपालमा विदेशीलाई काममा लगाउन सक्ने व्यवस्था गरेसँगै विदेशी कामदारहरु नेपालमा आएका हुन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया