Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअझै खुलेन नौ प्रतिशत उद्योग-व्यवसाय

अझै खुलेन नौ प्रतिशत उद्योग-व्यवसाय

उद्यमीलाई बैंकबाट ऋण पाउनै कठिन


काठमाडौं ।
कोभिड–१९ को कारण गत चैतदेखि बन्द रहेका नौ प्रतिशत बढी उद्योग/व्यवसाय अझै पनि खुल्न नसकेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावसम्बन्धी प्रथम पुनरावृत्ति सर्वेक्षणको प्रतिवेदन मंगलबार सार्वजनिक गर्दै मंसिर महिनासम्म नौ दशमलव शून्य सात प्रतिशत उद्योग/व्यवसाय सञ्चालन हुन नसकेको तथ्यांक बाहिर ल्याएको हो । गत असारमा सञ्चालन हुन नसकेको उद्योग/व्यवसाय ६१ दशमलव शून्य तीन प्रतिशत रहेको थियो ।

राष्ट्र बैंकका अनुसार कृषि, वन तथा मत्स्यपालन तर्फका तीन दशमलव शून्य तीन प्रतिशत, खानी तथा उत्खननतर्फका ३३ दशमलव ३३ प्रतिशत, उत्पादनमूलक उद्योगका आठ दशमलव ६५ प्रतिशत, विद्युत्, ग्यास तथा पानीका ३३ दशमलव ३३ प्रतिशत, निर्माण क्षेत्रका पाँच दशमलव ५६ प्रतिशत उद्योग/व्यवसाय मंसिर २४ गतेसम्म पनि सञ्चालन हुनसकेको छैन ।

यस्तै, होटल तथा रेष्टुरेन्टतर्फका २३ दशमलव ७६ प्रतिशत, थोक तथा खुद्रा व्यापारतर्फका तीन दशमलव ३९ प्रतिशत, यातायात तथा भण्डारणतर्फका १२ दशमलव ५० प्रतिशत, सञ्चारतर्फका ९ दशमलव शून्य नौ प्रतिशत, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापका २५ प्रतिशत, शिक्षाका २९ दशमलव ५५ प्रतिशत, स्वास्थ्य तथा सामाजिक कार्यका आठ दशमलव ३३ प्रतिशत तथा अन्य क्षेत्रका ११ दशमलव २७ प्रतिशत व्यवसाय मंसिरसम्म सञ्चालनमा आउनसकेको छ ।

अधिकांश ठूला उद्योगहरुको सञ्चालन अवस्थामा उल्लेख्य सुधार आए पनि साना तथा मझौला उद्योगको अवस्था दयनीय रहेको छ । राष्ट्र बैंकका अनुसार गत कात्तिक र मंसिरमा टेलिफोन अन्तर्वार्तामार्फत उक्त सर्वेक्षण गरिएको थियो । गत असारमा गरिएको सर्वेक्षणमा छ सय ७४ जना उत्तरदाता सहभागी भएकामा यसपटक भने छ सय चार जना सहभागी थिए । असारको तुलनामा दश प्रतिशत मात्र घटी सहभागी भएका हुन् ।

राष्ट्र बैंकका अनुसार उद्योग÷व्यवसायहरुको उत्पादन तथा कारोबारमा मंसिरसम्म आइपुग्दा उल्लेख्य सुधार आएको छ । यद्यपि व्यवसाय गर्न उद्योगी तथा व्यवसायीहरुले बैंकहरुबाट ऋण नपाएको गुनासो गरेका छन् । यस्तो गुनासो केही दिनअगाडि नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थतन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर अवगत नै गराएको थियो । बैंकहरुले थप ऋण दिनुको सट्टा पुरानो ऋणको सावाँ तथा ब्याज नबुझाएमा कालोसूचीमा राखेर कारबाही अगाडि बढाउने धम्की दिएपछि महासंघले अर्थतन्त्र पौडेललाई गुहारेको हो । गत असारमा औसतमा करिब २९ प्रतिशत मात्र उत्पादन तथा कारोबार रहेको व्यवसायमा मंसिरमा आइपुग्दा औसतमा ५० प्रतिशत पुगेको छ । असारको तुलनामा सबै उत्पादन/कारोबार बढेको राष्ट्र बैंकको दाबी छ ।

यस्तै, गत असारको तुलनमा उद्योग/व्यवसायहरुले प्रदान गर्ने रोजगारीमा सुधार भएको देखिएको छ । यद्यपि कोभिडअगाडिको अवस्थामा भने पुगेको छैन । व्यवसाय सञ्चालनमा आएपछि गत असारको तुलनमा उद्योग/व्यवसायहरुको औसत तलब ज्याला खर्चमा वृद्धि भएको छ ।

कोभिड महामारीअगाडिको तुलनामा गत असारमा ६३ दशमलव चार प्रतिशत रहेको यस्तो खर्च मंसिरमा आइपुग्दा ७० दशमलव चार प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । यद्यपि असारको तुलनामा खानी तथा उत्खनन, सञ्चार र शिक्षा क्षेत्रका उद्योगी/व्यवसायहरुको औसत तलब ज्याला खर्च घटेको पाइएको छ । यद्यपि असारको तुलनामा मंसिरमा सबै प्रकारका उद्योग/व्यवसायमा तलब ज्याला वृद्धि भएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया