Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारएमसीसी लागू नगरे दैनिक अरबौँ रूपैयाँबराबरको विद्युत् खेर जाने

एमसीसी लागू नगरे दैनिक अरबौँ रूपैयाँबराबरको विद्युत् खेर जाने


काठमाडौं ।
ऊर्जा तथा जलस्रोत मन्त्री टोपबहादुर रायमाझीले एमसीसीमा अलमल हुँदा दैनिक अरबौँ रूपैयाँबराबरको विद्युत् खेर जाने अवस्था आएको बताएका छन् । अमेरिकी सहयोगसम्बन्धी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले नेपालको ट्रान्समिसन लाइनमा लगानी गर्ने भएकोले उक्त योजनालाई तत्काल सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो । एमसीसीमा केही मिलाउनुपर्ने बुँदा भए त्यसलाई संसोधन गर्न उनले आग्रह समेत गरे । राजधानीमा आयोजित एक कार्यक्रममा उनले ट्रान्समिसन लाइन नबन्दा भदौबाट पाँच सय मेगावाट विद्युत् खेर जाने बताए ।

एमसीसीले ट्रान्समिसनमा लगानी गर्ने भन्दै गर्दा त्यसलाई विवादमा पारेर अनिर्णयको बन्दी बनाउन नहुने उनले बताए । ‘हामी एक दिन त के एक छिन् पनि पर्खेर बस्ने अवस्थामा छैनौँ, एमसीसीले ट्रान्समिसन लाइनमा लगानी गर्ने भनेको छ, नबन्दा भदौबाट पाँच सय मेगावाट विद्युत् खेर जाने अवस्था आइसक्यो ।’ उनले भने, ‘हुबहु लागू गर्नुपर्छ भन्ने होइन, एमसीसीको कुन–कुन बुँदामा परिवर्तन गर्ने भन्ने विषयमा बसेर टुंगो लगाऔँ ।’ साथै उनले परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको भारत भ्रमणमा ऊर्जासम्बन्धी एजेण्डामा पनि छलफल हुने बताए ।

चार सय केबीको ट्रान्समिसन लाइनको विषयमा छलफल हुने बताउँदै उनले उक्त लाइनबाट नेपालको विद्युत् भारत र भारतको विद्युत् नेपाल ल्याउनुपरेमा सहज हुने बताए । मन्त्री ज्ञवालीको भ्रमणका क्रममा १९५० को सन्धिका विषयमा छलफल गर्ने एजेण्डा तय भएको उनको दाबी छ । यस्तै विद्युत् व्यापार सम्बन्धमा तथा माथिल्लो कर्णालीका विषयमा पनि दुई पक्षीय छलफल हुने जानकारी दिए ।

नेपालमा अहिले विद्युत्को अभाव नभएको भन्दै उनले उत्पादन बढेकाले खपत कसरी गर्ने भन्ने समस्या रहेको बताए । साथै उनले लोडसेडिङ हुन्छ भन्ने चिन्ता नलिन पनि आग्रह गरे । भार वितरण केन्द्रमा भएको समस्याले बेला बेलामा विद्युत् आपूर्तिमा समस्या आएको तर, गत वर्षभन्दा कम पटक बिजुली जाने गरेको उनको दाबी छ । साथै उनले आफैंले लोडसेडिङको अन्त्य गरेको दाबी गर्दै लोडसेडिङ फेरि कहिल्यै नहुने बताए ।

नेपाल लोडसेडिङमुक्त हुनुमा अघिल्लोपटक आफू मन्त्री हुँदा बनाएको मास्टरप्लानले भुमिका खेलेको उनको तर्क छ । मास्टरप्लान बनाउँदा त्यसबेला कुलमान घिसिङलाई पनि समितिमा आफैँले राखेको उनले दाबी गरे । आफूले नै विद्युत् प्राधिकरणको प्रमुखका रूपमा घिसिङलाई ल्याउने पहल सुरु गरेको भन्दै उनले भने, ‘त्यसबेला मुकेश काफ्लेलाई हटाएर घिसिङलाई ल्याउने योजना मेरो हो । मैले नै वातावरण सिर्जना गरेको हो । तर सरकार परिवर्तन भयो । जसले गर्दा मेरो पालामा हुन पाएन । तर मेरै योजना हो ।’ अहिलेको आफ्नो चुनौती धेरै भएको बिजुली कसरी खपत गर्ने भन्ने रहेको उनको भनाइ छ ।

फरक प्रसङ्गमा उनले प्रधानमन्त्री केपी ओलीलाई पुष्पकमल दाहाल र माधवकुमार नेपालले धोका दिएका आरोप लगाए । उनले ओलीलाई विगतमा पार्टी एकता हुँदा पहिलो अध्यक्ष बनाएको, प्रधानमन्त्री बनाएको र संसदीय दलको नेतासमेत बनाएको स्मरण गर्दै रायमाझीले अहिले ओलीलाई धोका दिएको बताए । ‘पहिलो सर्वसम्मत गर्ने, अहिले को–कोलाई के–के इच्छा लाग्छ, मागेर पाउने कुरा हो ?’ उनले प्रश्न गरे । प्रचण्ड माधव समूहले पार्टी छोडेर गएको उनको भनाइ थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया