Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारऊर्जामा विदेशी लगानीकर्ताको आकर्षण

ऊर्जामा विदेशी लगानीकर्ताको आकर्षण


काठमाडौं ।
नेपालको उद्योग क्षेत्रमा गरिने लगानी प्रतिबद्धतामा २० प्रतिशत अर्थात् १८ अर्बले कमी आएको छ । तर ऊर्जा क्षेत्रमा भने विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ । चालू आर्थिक वर्षको छ महिनाको अवधिमा गत आवको सोही अवधिभन्दा स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमार्फत मुलुकको उद्योग क्षेत्रमा गरिने लगानी प्रतिबद्धतामा १८ अर्ब ६८ करोड ६१ लाखले कमी आएको उद्योग विभागले जानकारी दिएको छ ।

विभागका अनुसार चालू आवको छ महिनाको अवधिमा मुलुकको उद्योग क्षेत्रमा स्वदेशी तथा विदेशी उद्योगी अर्थात् लगानीकर्तामार्फत ७२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ । यस्तै गत आवको सोही अवधिमा भने उनीहरूले ९१ अर्ब ३० करोड ८७ लाख उद्योगमा लगानी प्रतिबद्धता जनाएका छन् । चालू आवको छ महिनाको अवधिमा गत आवको सोही अवधिको तुलना गर्दा ऊर्जामा लगानी प्रतिबद्धता बढ्दा अन्य उद्योग अर्थात् कृषि तथा वन पैदावार, सूचना, सञ्चार तथा प्रविधि, उत्पादन, सेवा र पर्यटनमूलक उद्योगहरूमा लगानी प्रतिबद्धता घटेको हो ।

समीक्षा अवधिमा लगानीकर्ताहरूले ऊर्जामा ५३ अर्ब ६३ करोड, उत्पादनमूलकमा छ अर्ब ५१ करोड ८२ लाख, कृषि तथा वन पैदावारमा तीन अर्ब ४० करोड २९ लाख, पर्यटनमा तीन अर्ब ३६ करोड ५७ लाख, सेवामूलकमा तीन अर्ब ३५ करोड ७८ लाख, पूर्वाधारमा एक अर्ब ५७ करोड ४४ लाख, खनिजमा १२ करोड ३४ लाख र ६५ करोड रुपैयाँ सूचना, सञ्चार तथा प्रविधिमा लगानी गर्ने प्रतिबद्धता जनाएका छन् ।

लगानीकर्ताहरूले चालू आवको छ महिनामा सबैभन्दा बढी लगानी प्रतिबद्धता ऊर्जामा र सबैभन्दा कम खनिजजन्य उद्योगमा गरेका छन् । उनीहरूले सो लगानी प्रतिबद्धता एक सय तीनवटा उद्योग स्थापना गरी छ हजार दुई सय ८८ जनालाई रोजगारी दिने प्रतिबद्धता जनाएका हुन् ।

गत आवको सोही समयमा उनीहरूले ५२ अर्ब ९९ लाख ऊर्जामा, १२ अर्ब ९८ करोड उत्पादनमूलकमा, ७४ करोड १४ लाख कृषि तथा वन पैदावारमा, १६ अर्ब ६३ करोड ६२ लाख पर्यटनमा, छ अर्ब ४९ करोड ५ लाख सेवामा र दुई अर्ब ४५ करोड सूचना, प्रसारण तथा सञ्चार प्रविधि उद्योगमा लगानी गर्ने प्रतिबद्धता जनाएका थिए ।

चालू आवमा क्रमशः १३/१३ वटा ऊर्जा र कृषि तथा वन पैदावारजन्य उद्योगमा, ५ वटा सूचना, सञ्चार तथा प्रसारण प्रविधिमा आधारित, २८ वटा उत्पादनमूलक, २३ वटा सेवामूलक, १९ वटा पर्यटनमूलक र एक/एक वटा पूर्वाधार र खनिज जन्य उद्योग खुल्ने गरी उक्त लगानी प्रतिबद्धता आएको हो । उद्योग स्थापनासँगै उनीहरूले छ हजार दुई सय ८८ जनालाई रोजगारी दिने बताएका छन् । यस्तै गत आव उनीहरूले व्यक्त गरेको उक्त लगानी प्रतिबद्धता एक सय ९० वटा उद्योग स्थापना तथा १२ हजार ५ सय ८० जनालाई रोजगारी दिनेसहित हो ।

गत आवको तुलनामा चालू आवमा लगानीका साथै, उद्योगको संख्या र रोजगारीको प्रतिबद्धता समेत घटेको छ । नेपालको उद्योग क्षेत्रमा लगानी गर्नको लागि विदेशी लगानीकर्ताहरू भने विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ अनुरुप आउने गर्छन् । उल्लेखनीय रुपमा ऊर्जा र पर्यटन क्षेत्रमा विदेशी लगानीकर्ताहरूले विशेष चासो दिने भए पनि कोरोना महामारीका कारण पछिल्लो अवधिमा भने सो क्षेत्रमा कम विदेशी लगानी आएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया